विराटनगर । पाँच जना छात्रालाई बाल यौन दुर्व्यवहार गरेको आरोप लागेको मोरङको जहदा गाउँपालिकास्थित जनप्रिय आधारभूत विद्यालयका २७ वर्षे शिक्षक विकाशकुमार साह धरौटीमा रिहा भएका छन् । मोरङ अदालतका न्यायाधीश राजेश्वर आर्यालको इजालशले १ लाख रुपैयाँ धरौटीमा छोड्न मङ्गलवार आदेश दिएका हुन् ।

मोरङ अदालतमा दायर भएको बाल यौन दुरुपयोग मुद्दामा शिक्षक साहविरुद्ध पाँच जना छात्राको जाहेरीमा छुटा–छुट्टै अभियोग दर्ता भएको थियो । थुनछेकपछि न्यायाधीश अर्यालको इजालशले पाँच वटा मुद्दामा जनही २० हजार रुपैयाँको दरले धरौटीमा छोड्न आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । अदालतले तोकेको धरौटी रकम बुझाएर शिक्षक साह रिहा भएका छन् ।

साहले पछिल्लो पटक जेठ ३२ गते छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरी मोरङ प्रहरीमा परेको थियो । प्रहरीमा जाहेरी परेपछि शिक्षक साह असार ११ गते पक्राउ परेका थिए ।

पाँच जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका साह करारमा नियुक्त भएका शिक्षक हुन् । उनले कक्षा ४ देखि ८ सम्म विज्ञान विषय पढाउँदै आएका छन् । उनीमाथि गत वर्ष पनि विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो । त्यस बेला स्कुलमा घटना मिलाइएको थियो ।

दोस्रो पटक पाँच जना छात्रामाथि दुर्व्यवहार गरेको घटना बाहिरिएपछि उनी विरुद्ध पीडित छात्राका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । ‘होमवर्क मिलेन भन्दै सर्टभित्र हात लैजाने तिघ्रा सुमसुम्याउने, चिमोट्ने जस्ता यौनजन्य दुर्व्यवहार पटक पटक गर्दै आएका थिए,’ अभियोग पत्रमा उल्लेख छ ।

नियमित विद्यालय जाने छात्राहरू अचानक स्कुल नजाने भन्दै रुने मात्र गर्न थालेपछि बाल यौन दुर्व्यवहारको घटना बाहिर आएको हो । नियमित जाने गरेका छात्राहरू दुर्व्यवहार घटनापछि असारको पहिलो सातादेखि स्कुल जान छोडेकी थिइन् । छोरी स्कुल जान छोडेपछि अभिभावकले स्कुल नजानुको कारणबारे बुझ्न थाले । दुर्व्यवहारमा परेकी एक छात्राले आमासँग खुलेर स्कुल नजानुको कारण विज्ञान विषय पढाउने शिक्षकको कर्तुत सुनाइन् । त्यसपछि आमा छाँगाबाट खसेजस्तो भइन् । ती छात्राले आमालाई रुद्धै भनिन्, ‘अब म स्कुल जान्न । विज्ञान पढाउने सरले नराम्रो हर्कत गर्नुहुन्छ । सरले सुरुमा होमवर्क चेक गर्नुहुन्छ । त्यसपछि तिम्रो होमवर्क मिलेन भन्दै कक्षा कोठामा घोप्टो पार्नुहुन्छ । त्यसपछि सर्टभित्र हात लैजाने र तिघ्रा सुमसुम्याउने जस्ता काम गर्नहुन्छ । त्यसैले म अब त्यो स्कुल जान्न, ’ ती पीडित छात्राले दिएको बयानमा उल्लेख छ ।