विराटनगर । मापदण्ड विपरित खोला उत्खनन गर्ने ठेकेदार कम्पनीलाई मोरङको कटहरी गाउँपालिकाले जरिवना गरेको छ ।
गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले मापदण्ड विपरीत खोला उत्खनन गर्ने विराटनगर ६ स्थित श्री आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिलाई १ लाख रुपैयाँ जरिवना गरिएको हो ।
कटहरी गाउँपालिका–६ चतारी घाट र सतार बस्तीका सयौं घरपरिवारलाई असर पुग्ने गरी लोहन्द्रा खोलामा गरिएको अवैध उत्खनन पुर्नुपर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए । ‘मापदण्ड विपरीत उपकरणहरु खोलामा पसाएर गरिएको उत्खननले थुप्रै खाडलहरु बनेकोले त्यो खाडल पुर्नुपर्ने र १ लाख रुपैयाँ जरिवाना बुझाएपछि मात्रै बरामद ट्याक्टर र उत्खननमा प्रयोग भएको उपकरण दिने हो,’ उनले भने ।
फागुन २३ गते आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिले मापदण्ड विपरित उपकरणहरु प्रयोग गरी खोला उत्खनन गर्दै गरेको अवस्थामा गाउँपालिकाले ट्याक्टरसहित उत्खननमा प्रयोग भएको उपकरण बरामद गरेको थियो । दैनिक अवैध उत्खननले कटहरीको चतारी घाट र सतार बस्तीका दुई सय सय बढी घरिपरिवार उच्च जोखिममा छन् । कटहरी गाउँपालिकाका अध्यक्ष देबराज चौधरीको नेतृत्वमा प्राविधिकसहित स्थलगत निरीक्षणको क्रममा ठेकेदार कम्पनीले १० देखि १५ फिट गहिरो उत्खनन गरेको पाइएको थियो ।
आइईइ प्रतिवेदन र सहमति विपरित ठेकेदार कम्पनीले उत्खनन गरेको पाइएको गाउँपालिकाले जनाएको छ । यस्तै उपकरणहरू उत्खननमा प्रयोग गर्न नपाइने लिखित सम्झौता भएपनि विभिन्न उपकरण प्रयोग भएको पाइएको थियो ।
धनपालथान र कटहरी गाउँपालिकामा पर्ने लोहन्द्रा खोला बलुवा र भरौट झिक्ने ठेक्का २०८० मंसिर ८ गते ठेक्का लागेको हो । श्री आरसी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिले १ करोड ३२ लाख १६ हजार ५९२ रुपैयाँमा ठेक्का लिएको छ । ठेक्का सम्झौता अवधि २०८१ जेठ मसान्तसम्म रहेको छ ।
सम्झौता पत्रमा सप्लायर्सको तर्फबाट प्रतिनिधी रामकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । श्रेष्ठ हस्ताक्षर गरेपनि खोला ठेक्का भने कटहरीका स्थानीय नेपाली काँग्रेस कटहरी २ का सभापति युवा नेता सन्जय मण्डलले लिएका हुन् ।