विराटनगर । कोशी प्रदेशमा गत आर्थिक वर्षमा मात्रै प्राकृतिक प्रकोप बाढी पहिरो, चट्याङ, आगलागी, जंगली जनावरको आक्रमणबाट अरबौंको क्षति भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार उक्त अवधिमा ५७ जना मानिसको मृत्यु भएको छ भने ३ हजार ७११ घर परिवार प्रभावित भएका छन् ।

प्रहरीले दिएको तथ्याङ्क अनुसर अघिल्लो आर्थिक वर्षको तुलनामा प्रभावित मानिसको घरसंख्या कम भएपनि गत आर्थिक वर्षमा अनुमानित ६ अर्ब ६६ करोड ६० लाख ६१ हजार ४७४ रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा क्षति २ अर्ब ६२ करोड १८ लाख ६२ हजार २६६ रुपैयाँ बराबरको भएको अनुमान गरिएको थियो । सो वर्ष ३४ जना मानिसको मृत्यु भएको थियो भने ३४ हजार ४७२ घर परिवार प्रभावित बनेका थिए ।

तथ्याङ्क अनुसार बाढी र पहिरोको कारण सबैभन्दा धेरै ५ अर्ब ३४ करोड ७१ लाख २५ हजार ४ सय रुपैयाँ क्षति भएको अनुमान गरिएको छ । बाढी पहिरोमा पनि गत आर्थिक वर्षमा २३ जना मानिसको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढी पहिरोका कारण ३ हजार ३८ घर परिवार प्रभावित भनेका छन् भने ३६० स्थानमा बाढी र पहिरो गएको छ । यस्तै चट्याङका कारण ९ जना मानिसको ज्यान गएको छ । ७३ स्थानमा गएको चट्याङले गर्दा १९ घर परिवार प्रभावित हुनुको साथै ९८ लाख ७४ हजार बराबरको सम्पत्तीमा क्षति गरेको अनुमान छ ।
यस्तै आगलागीका कारण पनि कोशी प्रदेशमा १ अर्ब १३ करोड ८१ लाख ८८ हजार ७७४ रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा परी एक वर्षमा १५ जना मानिसको मृत्यु भएको छ । सोही अवधिमा ५१६ घर पविरार प्रभावित भएका छन् भने १ हजार १५४ स्थानमा आगलागीका घटना भएका छन् ।

यस्तै जंगली जनावरको कारण पनि ९१ लाख ३ हजार ३ सय रुपैयाँ बराबरको क्षति हुँदा १० जना मानिसको मुत्यु भएको छ । यसरी मर्नेहरुमा धेरै हात्तीको आक्रमणमा परेका हुन् । प्रहरीले दिएको जानकारी अनुसार गत वर्ष हावाहुरीका कारण पनि अत्याधिक क्षति भएको छ । हावाहुरीले १६ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरका धनमाल नष्ट गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।
गत असारको पहिलो हप्ता पाँचथरको फिदिमको ४ नम्बर वढडामा पहिरो जाँदा हेवा खोलाका पुल बगाएको छ । यस्तै निर्माणाधिन अमरपुर वृहत लिफ्टिङ खाने पानीको इन्टेकलगायतका संरचनामा क्षति पुर्याएको थियो । यस्तै संखुवासभाको चैनपुर नगरपालिकाको दोभानेमा पहिरो जाँदा पाँचखपन र चैनपुर जोड्ने हेवा खोलाको पुल बगाएको थियो ।

बाढीका कारण संखुवासभाको मकालु गाउँपालिकाको नयाँ वस्तीमा हाइड्रो र सडकमा क्षति गर्यो । संखुवासभाकै पाँचखपन नगरपालिकाको ५, ७ र ८ नम्बर वठामा पर्ने हेवाखोलाको पुल बगाएर बाढीले बस्तीलाई समेत क्षति गरेको थियो । तेह्रथुमको आठराइ गाउँपालिकामा घर बगाउँदा केही मानिसको मृत्यु भयो । प्रहरीले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ३८ वटा पुलमा क्षति पुगेको छ भने ३ ठाउँमा सडक अवरुद्ध भयो ।

सबैभन्दा ठूलो क्षति हाइड्रो पावरमा भएको छ । पाँचथरका ९, ताप्लेजुङका ८ र संखुवासभाका साना ठूला गरी २७ वटा हाइड्रोमा यस अवधिमा क्षति पुगेको छ । यस्तै ३२ वटा सवारी साधन बाढी पहिरोमा परी क्षतिप्रस्त भएका छन् । ८० घर घर भवन पूर्णरुपमा क्षतिग्रस्त हुँदा ५८ वटामा आंशिक क्षति पुगेको छ । यस्तै ३१२ चौपायाको मृत्यु, ७४३ वटा पशुपंक्षी मरेका छन् भने १९४ वटा घर डुबानमा परेको तथ्यांकमा उल्लेख छ । यस्तै सयौं रोपनी जग्गा बाढी र पहिरोले बगाएको छ । बाढी र पहिरोकै कारण ५०२ घर परिवारका २ हजार ३६८ जना मानिस विस्थापित भएका छन् । बाढी पहिरोमा परी हालसम्म १० जना घाइते भएका छन् भने वेपत्ता भएका २८ जनाको अवस्था अझै अज्ञात छ । जसमा सबैभन्दा धेरै १९ जना वेपत्ता छन् । भने धनकुटाका २, पाँचथरमा ३ र ताप्लेजुङमा पनि ३ जना वेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको भएपनि गत असार २ गतेदेखि वेपत्ता उनीहरु भेटिने सम्भावना कमजोर बन्दै गएको छ ।

‘प्राकृतिक दुर्घटनाको जोखिमलाई रोक्न सक्दैनौं यो दुर्घटना हो तर, मानवीय क्षति भने कम गर्न सक्छौं,’ मौसमविद् रामबाबु मिश्र बताउँछन्, ‘कतिपय सार्न सक्ने भौतिक संरचनाको पनि सुरक्षा गर्न सक्छौं । यसका लागि पनि पूर्व सूचना नै व्यवस्थित गर्नुपर्छ । चार पाँच दिन अगाडि भारतमा ठूलो आँधी आयो । त्यहाँ पनि धेरै धनसम्पत्ती नष्ट भयो । तर, मानिसको मृत्यु भएन । किन भन्दा त्यो पूर्वानुमान र सचेतना नै हो ।’ मिश्रको अनुभवमा पूर्वी नेपालमा भन्दा सूचना प्रणाली व्यवस्थित गर्ने कुरामा पश्चिमतिर अलिक व्यवस्थित देखिएको छ । ‘पूर्वमा पनि स्थानीयस्तरसम्म मौसम पूर्वानुमान तथा सम्भावित विपद्को व्यवस्थापनको लागि टिम निर्माण गर्नुपर्छ । सूचना प्रणालीको विकास पनि गर्नुपर्छ,’ मिश्र भन्छन् ।

यस वर्ष संखुवासभामा ठूलो बाढी आयो । त्यसमा एक दिन अगाडि बाढी शाखाले विज्ञप्ति निकालेको थियो । यी नदीहरुमा जलस्तर वृद्धि हुने भनेर । त्यसपछि तत्काल सतर्कता अपनाउनु पथ्र्यो । दोस्रो कुरा हाइड्रोहरुमा पनि क्षति पुगेको छ । खोलाको किनारमा हाइड्रो पावर हुन्छ । त्यस विषयमा पनि हाइड्रो पावर बनाउनेहरुले जुन नदिको किनारमा पानी बढ्छ भने त्यसलाई अध्ययन गरेर मात्रै निर्माण गर्नुपर्छ ।
यस्तै वातावरण विज्ञ रामचन्द्र अधिकारीका अनुसार नेपालमा बाढी र पहिरो नै मूल समस्या हो । त्यसको नियन्त्रणका लागि दिगो खालका विकास निर्माणका काम गर्नुपर्ने उनको जोड छ । ‘पहाडमा डोजरले घरघर घुमाउँदै बाटो बनाउँदा पहिरो जाने र खोला थुनिँदा समस्या आएको छ । बाटो निर्माण गर्दा आवश्यक अध्ययन गरेर मात्रै गर्ने बरू सुरुङ मार्फत सडक निर्माण गर्ने उपाया अवलम्वन गर्नुपर्छ,’ अधिकारीले भने, ‘अन्य विकसित मुलुकहरुमा सुरुङ मार्ग नै बढी जोड गर्नुको कारण वातावरण संरक्षण र भौतिक संरचनामा हुने क्षति कम गर्नु नै हो ।’

यस्तै जलवायु परिवर्तनका कारण कति पानी आउँछ भन्ने अनुमान गर्न नसकिने अवस्था रहेको उनले बताए । यस्तै हिमताल फूटेर बाढी आउने पनि हुने गरेको र त्यस्ता कतिपय हिमतालहरु पृथ्वीको तापक्रम बढेर भइरहेको उनले बताए । वातावरण सन्तुलन कायम राख्न र जलवायु परिवर्तनलाई कम गर्न प्रदूषण नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए ।

यस्तै मानव र जंगली जनावरको द्वन्द्व नियन्त्रणका लागि दिगो खालका योजनाहरु ल्याउनु पर्नेमा उनले जोड दिए । ‘हात्ती हिंड्ने बाटोमा मानववस्ती राख्न हुँदैन,’ उनले भने । बाँदर नियन्त्रण गर्न स्थानीय तहले मात्रै प्रयास गरेर नहुने उनले बताए । ‘पहाडमा मात्रै नभएर मधेशमा पनि बाँदरको समस्या थपिइरहेको कारण यसलाई समाधान गर्न राष्ट्रिय नीति ल्याउन आवश्यक छ,’ उनले भने । वन्यजन्तुले गराउने क्षति कम गर्नका लागि पनि सचेतनासहितका कार्यक्रम प्रभावकारी ढंगले अपनाउनु पर्ने उनले बताए । यस्तै चट्याङबाट हुने क्षति न्यूनीकरण गर्न सचेतना नै आवश्यक भएको उनी बताउँछन् । घरमा अर्थिङको व्यवस्थापन गर्ने र खेतबारीमा काम गर्दा चट्याङको सिजनमा सुरक्षाका उपाय अवलम्वन गर्नुपर्नेमा उनको जोड छ । यस्तै आगलागीबाट हुने क्षति नियन्त्रणका लागि पनि सचेतना नै महत्वपूर्ण कुरा रहेको उनको जोड छ । आगलागी हुने सिजनमा घर वरिपरिका झाडीहरु नराख्ने, ग्याँस सिलिण्डर प्रयोगको विषयमा सचेतना जगाउने खालका विषयहरु नै संचालन गर्नुपर्ने उनको भनाइ छ ।