विराटनगर । अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयर र उम्मेदवार बनेका उमेश यादव र नमिता न्यौपाने यस पटक पनि चुनावी मैदानमा छन् । अघिल्लो पटक यादवले मशाल र न्यौपानेले गोलाकारभित्रको हसिया हथौडा चुनावचिन्ह लिएर चुनावी मैदानमा उत्रिँदा यादव तेस्रो र न्यौपाने दोस्रो भएका थिए ।
२०७४ को निर्वाचनमा फरक चुनाव चिन्ह रहेको र मतदातालाई बुझाउन नसक्दा धेरै मत बदर भएकोले पराजित भएको दुबै उम्मेदवारको दावी थियो । महानगरको मेयर र उपमेयरमा १० हजार बढि मत बदर भएकोले त्यो मत आफूहरुको भएको उनीहरु बताउँथे ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भने दुबै जना एउटै निर्वाचन चिन्ह लिएर मैदानमा उत्रदैछन् । एउटै चुनाव चिन्ह लिएर उनीहरु एउटै पार्टीका उम्मेदवार बनेका भने हैनन् । बरु आफ्नो पार्टीबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवार भएका यादव र न्यौपानेलाई निर्वाचन आयोगले लालटिन चुनावचिन्ह दिएको छ ।
जनता समाजवादी पार्टीको संघीय परिषद सदस्य रहेका यादवले मेयरको दावी गर्दै आएकोमा काँग्रेससँग जसपाले उपमेयर लिएर गठबन्धन गर्ने सहमति गरेलगत्तै पार्टी छाडेका थिए । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटी सचिव रहेकी न्यौपानेले भने महानगरमा काँग्रेसले आफूहरुको अस्थित्व स्वीकार नगरेको र वडा तहमा गठबन्धन गर्न तयार नभएकोले कार्यकर्ताकै सुझाबमा स्वतन्त्र उम्मेदवारी दिएको बताएकी छन् । पार्टी केन्द्रले गठबन्धनको निर्णय गरेकोले पार्टीमै रहेर उम्मेदवार बन्नसक्ने अवस्था नभएपछि सचिबबाट राजिनमा दिएर चुनावी मैदानमा होमिएको उनको भनाइ छ ।
गठबन्धनमा आवद्ध दलका नेताहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा अस्वीकार गरेका यादव र न्यौपानेले एउटै चुनाव चिन्ह पाएपछि दुबै उत्साहित बनेका छन् । अघिल्लो पटक गठबन्धन हुँदा चुनावचिन्ह फरक भएकोले पराजित हुनुपरेको बताउने उनीहरुको स्वतन्त्र उम्मेदवार बन्दा एउटै चुनावचिन्ह हुनु मिठो संयोग बनेको छ ।
अघिल्लो निर्वाचनमा महानगरको मेयरमा काँग्रेसका भीम पराजुली २३ हजार ३१ मतसहित निर्वाचित हुँदा १४ हजार ९५८ मत प्राप्त गरेका यादव तेस्रो भएका थिए । यस्तै कांग्रेसबाटै इन्दिरा कार्की २० हजार १४६ मतसहित उपमेयरमा विजयी हुँदा दोस्रो बनेकी न्यौपानेले ११ हजार ५ सय २४ मत प्राप्त गरेकी थिइन् ।
स्थानीय तह निर्वाचनको मिति घोषणा अघिदेखि नै मेयरमा उम्मेदवारी दिने तयारीस्वरुप घरदैलो गरिरहेका यादवले गठबन्धनमा सहमति हुनसाथ पार्टी छाडेका थिए । महानगरमा सत्तारुढ गठबन्धनबाट मेयरमा काँग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादव उम्मेदवार छन् । प्रमुख र उप्रमुखमा गठबन्धन भएपनि महानगरको वडामा सबैको छुट्टाछुट्टै उम्मेदवारी छ । महानगरमा नेकपा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की उम्मेदवार छन् ।
स्वतन्त्रबाट मेयरका उम्मेदवार बनेका यादवले एउटै चुनाव चिह्न भएका कारण सहकार्य गर्न सजिलो हुने बताए । ‘स्वतन्त्र उम्मेदवारले सबैसँग सहकार्य गर्छन्’, उनले भने,‘ चुनाव चिह्न एउटै छ, चुनावमा सहकार्य हुनसक्छ ।’
उपमेयरकी उम्मेदवार नमिता न्यौपाने पनि यादवसँग सहकार्यको सम्भावना रहेको बताउँछिन् । ‘अघिल्लो पटक उम्मेदवार हुँदा चुनाव चिन्हकै कारण हामीले हारेका थियौं’ उनले भनिन् ‘संयोगले स्वतन्त्र भएर उम्मेदवार बन्दा चुनावचिह्न मिलेको भएपनि सहकार्य गर्नेबारे छलफल भएको छैन ।’
विराटनगरको दक्षिण क्षेत्रमा यादवको प्रभाव राम्रो छ । न्यौपानेको विराटनगरको बजार क्षेत्रमा राम्रो प्रभाव छ । उनी नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै २०६३ सालमा माओवादीमा प्रवेश गरेर सक्रिय छन् । लायन्स क्लब, महिला उद्यमी संघसहितका सामाजिक संस्थामा पनि उनको सक्रियता छ ।
विराटनगर महानगरपालिका ८, १२, १४,१५,१६, १७ र १८ नम्बर वडामा प्रभाव रहेका यादव र महानगरको बजार र उत्तरी क्षेत्रमा प्रभाब राख्ने न्यौपानेको सहकार्य भएमा विराटनगरको चुनावी अंकगणित नै फेरबदल हुनसक्ने आँकलन हुन थालेको छ ।
दुबै उम्मेदवारले आफू विगतमो आबद्ध रहेको पार्टीको अधिकांश मत तान्ने अनुमान गरिएको छ । किनभने महानगरमा जसपाबाट मेयरमा र माओवादीबाट उपमेयरमा अर्को उम्मेदवार छैन । अर्कोतिर गठबन्धनमा आबद्ध भएका दलको असन्तुष्ट मत र एमालेकै असन्तुष्ट मत पनि उनीहरुले तान्ने देखिएको छ ।
विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सक्रिय गौतमले घण्टाघर चिन्ह पाएका छन् भने उपमेयरमा उठेका बसुन्धरा देवी झाले जेब्रा र गंगादेवी सुवेदीले चापाकल चिन्ह पाएका छन् ।