काठमाडौँ । न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन् ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदको कारण साउन २० गतेदेखि सेवा निवृत्त भएपछि श्रेष्ठले आइतबारबाट नेतृत्व सम्हालेका हुन् ।
आइतबार पदबहालीका क्रममा कामु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन दिए । सेवाग्राहीले महसुस हुने गरी छिटो मुद्दा फछ्र्यौट गर्न आगामी दिनमा चाल्ने कदमका बारेमा न्यायाधीशहरुसँग छलफल गरेर तत्कालीन र दीर्घकालीन गर्न कामहरु तय गर्ने उनले बताए ।
कामु प्रधानन्यायाधीश श्रेष्ठले न्यायापालिकाको सुधारका लागि सिङ्गो समूह नै लाग्नुपर्ने र त्यसका लागि सबै न्यायाधीशहरु र प्रशासनले सहयोग गर्न आग्रह गरेका छन् । संवैधानिक परिषद्को बैठकले ३१ औँ प्रधानन्यायाधीशमा नियुक्तिका लागि श्रेष्ठलाई नै सिफारिस गरिसकेको छ ।
संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरे पनि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । त्यो अबधिसमम उनले कामु प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व गर्नेछन् । श्रेष्ठको कार्यकाल आगामी वर्ष २०८१ असोजसम्म हुनेछ ।

