सम्पादकीय
बरु सय अपराधी छुटुन् तर एक जना पनि निर्दोषले दुःख नपाउन भनेर हाम्रो विधिशास्त्रीय मान्यता छ । यद्यपि यो मान्यता त्यसबेला खण्डित हुने गर्छ जब निमुखाहरु कानुनको फन्दामा परेर उम्किन नसक्ने अवस्थामा पुग्छन् । सुनसरीको इटहरीका लालबहादुर विक एक त्यस्तै पात्र बने, जसले गर्दै नगरेको गल्तीमा दोषभागी बन्नुपर्यो । जेल बस्नुपर्यो । करोडौंको बिगो रकम तिुर्नपर्ने फैसला सुनसरी जिल्ला अदालतबाट सुन्नुपर्यो । सम्पत्तिको नाममा केही धुर जमिन र त्यही जमिनमा बनाएको सानो घरभित्र दुःखजिलो गरेर जिन्दगी चलाइरहेको विक परिवारमाथि आइपरेको यो बज्रपातले लामो समय सतायो । मंगलबार उच्च अदालतको फैसलाले लालबहादुरलाई निर्दोष सावित गर्दै जेलमुक्त गर्न आदेश दिएसँगै बुधबार उनी जेलबाट छुटेका छन् । जसै उनी जेलबाट छुटे, केही प्रश्नहरु भने उठ्ने भएका छन् ।
पहिलो, लालबहादुर मजदुरी गरेर परिवारको हातमुख जोर्ने उपाय खोज्ने श्रमिक हुन् । एक जना श्रमिकको जीवनमा हरेक घन्टाको महत्व उच्च हुन्छ । तर, ज्वेलर्सका मालिकले दुनियाँलाई ठगेको प्रकरणमा उनको लामो समय, वर्षौं खेर गएको छ । यो अवस्था अरु कसैले ल्याएको होइन, हाम्रो न्यायप्रणालीले नै लादेको हो । परिवारले भोगेको मानसिक पीडाको हिसाब कसरी गर्ने कुनै टुंगो छैन । यसबीचमा उनीहरुले सहेको आर्थिक, पारिवारिक र सामाजिक क्षतिको आकार ज्यादै फराकिलो छ । जेलबाट छुट्नु मात्रै लालबहादुर माथिको न्याय हो ? किमार्थ होइन, हाम्रो न्यायप्रणालीले लादेको अन्यायको भुक्तभोगी उनी अझै पनि अन्यायमै छन् । यसको क्षतिपूर्ति कसरी हुन्छ ? राज्यले गम्भीर बन्नुपर्छ ।
लालबहादुरले गरेको ‘अपराध’ यत्ति थियो, आफूलाई काम दिने साहुको आदेश अनुसार उनले केही कागजमा हस्ताक्षर गरेका थिए ।सुन पसलमा कालिगढको काम गर्ने उनलाई करोडौंको बिगो तिर्नुपर्ने अवस्थाबाट अब मुक्ति त मिलेको छ । तर, उनलाई यस्तो सजाय गर्ने न्यायाधीशहरु प्रश्नको घेरामा आउनु पर्छ कि पर्दैन ? यस्ता कति लालबहादुर होलान् जसले गर्दै नगरेको गल्तीमा दोषी ठहर भएर जेलको बास गरिरहनु परेको छ ?
त्यसो त ढिलै भए पनि उच्च अदालत विराटनगरले मंगलबार लालबहादुर विश्वकर्मासहितका तीन जनालाई सफाइ दिएको छ । लालबहादुर ३ करोड बिगो जरिवाना तिर्न नसक्दा सुनसरी जिल्ला अदालतको आदेशमा जेलमा थिए । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो । कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि उच्चले सफाइ दिएको छ । यो सफाईले जेलबाट छुटेका लालबहादुर र उनको परिवारले भोगेको सास्ती र पाएको दुःख बारे हाम्रो न्यायप्रणाली र राज्यले गम्भीर बन्न जरुरी छ । अन्यथा लालबहादुरहरु यसैगरी अन्यायमा परिरहने छन् अनि हाम्रो न्यायप्रणालीभित्रका अवयवहरुले भने दोहोर्याइरहने छन् ‘ बरु सय अपराधी छुटुन् तर एक जना पनि निर्दोषले दुःख नपाउन् !’