विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित सपथग्रहण समारोहमा आफ्ना लागि सिट व्यवस्थापन नगरेको भन्दै उनले शपथ समारोह बहिष्कार गरेका हुन् ।

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको साइडमा हुने गरेकोमा अहिले त्यसो नभएको कार्कीले बताए । नयाँ मुख्यमन्त्रीको शपथपछि बधाई दिएर सिट छोड्ने प्रचलन भएपनि आफ्नो लागि सिट व्यवस्थापन नगरेकोले शपथग्रहण समारोहमा बस्नु उपयुक्त नलागेको भन्दै कार्की बाहिरिएका थिए ।

कार्कीले आफू यसबीचमा कामचलाउ मुख्यमन्त्री रहेको दावी गर्दै नयाँ मुख्यमन्त्रीको छेउमा सिट खोजेका थिए । ‘हिजोसम्म म नै मुख्यमन्त्री थिएँ, आजबाट निवर्तमान मुख्यमन्त्री भएको हुँ’ कार्कीले भने,,‘ तर उहाँ (प्रदेश प्रमुख)ले सिट राख्नुभएन, त्यसकारण मैले यहाँ बस्नु उपयुक्त ठानिनँ ।’

समारोहमा पूर्वमुख्यमन्त्रीको लागि छुट्टै कुर्सीको प्रबन्ध थियो । तर, कार्कीले आफू निवर्तमान मुख्यमन्त्री रहेको भन्दै त्यो कुर्सीमा बस्न नमानी फर्किएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले कामचलाउबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएको भन्दै कुनै निर्णय नगरेकोले निवर्तमान मुख्यमन्त्रीको सिट राखेको थिएन । प्रदेश प्रमुखले संविधानको सर्वोच्चता, प्रदेशमा विगतमा गरिएको अभ्यास र सर्वोच्चको फैसलालाई समेत लत्याएको कार्कीले बताएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्री थापाको अघिल्लो पटकको नियुक्ति बदर गरेपछि आफू नै मुख्यमन्त्री रहेपनि प्रदेश प्रमुखले अस्वीकार गरेको उनको गुनासो छ ।

शपथग्रहण समारोहबाट बाहिरिएपछि कार्कीले सामाजिक सञ्जाल फेसबुकमा प्रदेश प्रमुखप्रति आक्रोश व्यक्त गरेका छन् । कोशी प्रदेशमा अधिनायकवादको अभ्यास भएको र निर्लज्जताको पराकाष्ठा भएको उनले लेखका छन् । प्रदेश प्रमुखले स्वेच्छाचारिता देखाएको उनको गुनासो छ ।

यसअघि असार २२ गते थापाले मुख्यमन्त्रीको शपथ लिँदा भने कार्की उपस्थित भएका थिएनन् । त्यसबेला एमालेले आफ्ना सांसदलाई पनि शपथमा जान रोक लगाएको थियो ।