झापा क्षेत्र नम्बर ५ यसपटकको निर्वाचनमा सर्वाधिक चासोको क्षेत्र हो । यो क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता गठबन्धनका तर्फबाट काँग्रेसबाट डाक्टर खगेन्द्र पाण्डव अधिकारी चुनावी मैदानमा छन् । अधिकारीको कारणले भन्दा झापा ५ एमाले अध्यक्ष ओलीका कारण चर्चामा आएको हो । देशकै हालसम्मको ठूलो पार्टीका अध्यक्ष केपी ओली सत्ता गठबन्धनका कटु आलोचक हुन् । उनै ओलीसँग प्रतिस्पर्धामा उत्रिएका परिचित प्रतिद्वन्द्वी अधिकारी यसपटक ओली पराजित हुने हिसाव सुनाउँछन् । प्रस्तुत छ उनै अधिकारीसँग हाम्रोमतका अर्जुन आचार्यले गरेको कुराकानी–
२०७४ सालको निर्वाचनमा तपाईले २८ हजारको हाराहारीमा मत ल्याउनुभयो । एमाले अध्यक्ष ओलीको ५६ हजार बढी मत आयो । झण्डै डबल मतले विजयी ओलीसँग यो पटक फेरि लड्न किन आउनुभएको ?
– म राजनीति गर्छु, समाजसेवा गर्छु भनेर अगाडि बढिसकेपछि मौका छोपेर अगाडि बढ्ने र फेरि पछाडि सर्ने मेरो आदत छैन । राजनीतिक रुपमा समाजसेवा गर्छु भनेपछि कहिले हार हुन्छ कहिले जित हुन्छ । हार हुन्छ भनेरै मैले ०७४ सालमा चुनाव लडेको थिइनँ । तर, महागठबन्धन भएपछि चाहिँ हारिन्छ होला भन्ने लागेको थियो । अहिले पहिलेको जस्तो अवस्था छैन । कमल थापा राप्रपाको चुनाव चिन्हबाट लडेको भए बिग्रन्थ्यो । कमल थापालाई एमालेले तिरमा सपोर्ट गरिदिएको भए त्यहाँ जिताउन भएपनि झापामा एमालेलाई सघाउ भन्ने खालको कुरा हुनसक्थ्यो । तर, एमालेकै चुनाव चिन्हमा भएपछि पार्टी नै गएको अवस्था हुँदा राप्रपाका कार्यकर्ता यहाँ स्वतन्त्र छन् । राप्रपाका अधिकांश कार्यकर्ताले एमालेलाई भोट हाल्न रुचाएको अवस्था छैन । एमाले अध्यक्ष ओलीकोभन्दा मसँग पैसाको कमी छ । अरू केहीमा कमी छैन ।
०७४ सालको निर्वाचनमा कति खर्च भयो ?खर्च २५ लाख रुपैयाँ भयो । त्यसमा आफ्नो केही रकम साथीभाइबाट सरसहयोग पनि भयो । अन्य सानातिना खर्च भएका छन् ।
०७४ सालको परिस्थितिभन्दा अहिले भिन्न भयो । तर, पनि एमाले अध्यक्ष ओलीसँग चुनाव लड्नका लागि त यो पटक पनि कोही तयार थिएन होइन ? ०७४ सालमै २५ लाख खर्च गर्नुभएको तपाई फेरि त्योभन्दा बढी खर्च गर्न किन लड्न लाग्नुभएको ?
तपाई ढुक्क हुनुहोस् । चुनावको परिणाम यसपटक गठबन्धनको पक्षमा आउँछ । हाम्रो समाजमा के छ भने एउटा प्रभाव परेपछि सदाका लागि त्यही हुन्छ भन्ने देखिन्छ । तर, त्यो इतिहासमा गलत सावित भएको छ । इरानका बादशाहले पनि त्यही सोच्थे । नेपालमा राणाले या पञ्चायतले पनि त्यही सोच्थे । त्यसकारण केपी ओलीको भुत तपाईहरुमा पनि सवार भएको होला । अहिले त्यस्तो अवस्था छैन ।
तपाईले जित्ने हिसाव किताब चाहिं कस्तो छ ?
तथ्यांकमा हामीले निर्वाचन जितिसकेका छौं । २०७४ सालमा म एक्लो मानिसले २८ हजार भोट ल्याएको हो । त्यसबेला ओलीको नक्कली राष्ट्रवादी छवि थियो, दलहरु पनि सबै मिलेका थिए । प्रशासन, कर्मचारी पनि सबै प्रयोग गर्दा पनि मैले पाएको मत २८ हजार हो । अर्को भनेको यो क्षेत्रमा माओवादीको भोट १२ हजार हाराहारीमा हो । केपी ओलीको साढे तीन वर्षको गतिविधि हेर्नुहोस् ,त्यसले खस्कँदो साख, कमेडी च्याम्पियन जस्तो बोलेको, हावादारी गफ, आफ्नै पार्टीभित्रका मानिसलाई गरेको लाखापाखा, त्यहाँ धन्दा र व्ययवसाय के छ हेर्नुहोस् । त्यसकारण त्यहाँ ठूलो तप्का असन्तुष्ट छ । अर्को एमाले विभाजन भएको नेकपा एसमा पनि ३÷४ हजार मत छ । अर्को भनेको हामीले स्थानीय तह निर्वाचनमा गरेको महागठबन्धन हो । त्यसअवस्थामा भएका आन्तरिक सहमतिको कारण पनि राप्रपाले हामीलाई सघाउँछ । हामीले राम थापालाई चुनावमा जिताएका हौं । उहाँहरुबाट ६÷७ हजार भोट आउँछ । हामी सानदार रुपमा चुनाव जित्छौं ।
राप्रपाको गठबन्धन एमालेसँग छ अनि राम थापाले कसरी सहयोग गर्ने तपाइँलाई ?
मलाई विश्वास छ । हामीले उहाँहरुलाई विश्वास गरेर भोट हालेर राम थापा (दमकका प्रमुख) लगायतलाई त्यो पदमा पुर्याएका छौं । अहिले पनि त्यसबेला मत गणना गर्दा हलो, रुख, हँसिया हथौडा भनेर बोलेको ह्याङ ओभरमै राप्रपाका साथीहरु हुनुहुन्छ । राप्रपाले हामीलाई निःशर्त सहयोग गर्छ । उदाहरणको लागि हामीले बर्खे धान राप्रपाको खलोमा थ्रेसर लगायौं । तर, त्यहाँ एउटा शर्त थियो । हिउँदको धान चाहि काँग्रेस र माओवादीको खलोमा थ्रेसर लगाउने । त्यसो भएको कारण राप्रपाका साथीहरुले त्यो प्रतिबद्धता पूरा गर्नुहुन्छ भन्ने मलाई विश्वास छ ।
तपाईका एजेण्डा चाहिं के छन् ? ओलीले त अर्बैअर्ब पैसा ल्याउनु भएको छ काम गरेको छ भन्ने कुरा छ ?
मैले यस अगाडि पनि भनेको थिएँ । कसैले दही र चिउरा भए त केरा मागेर खान्थें भनेजस्तै छ । चुच्चे रेलको कुरा गर्नुभयो उहाँले, पानी जहाज हिन्द महासागरमा फहराउने भन्नुभयो । घरघरमा ग्याँस पाइपलाइनको कुरा ल्याउनु भयो । अलिक गरिव भएको ठाउँमा गएर धनी हुन मन लागे काम गर्नुहोस् खानकै लागि सुतिसुति खान पुग्छ , म पुरा गर्छु भन्नुभयो । यस्तो हावादारी आश्वासनको विषयमा जनतामा ठूलो आक्रोश छ । विकासको कुरा गर्ने हो भने यो चार तल्ला, छ तल्लाका भवन पनि मैले बनाएको भन्नुहुन्छ भने अर्को कुरा हो ।
ओलीले टावर बनाउनुभयो । सभाहल, रंगशाला, बसपार्क, औद्योगिकग्राम जस्था काम त भएकै हो नि हैन ?
यो विकास बजेट उहाँ भए पनि अर्को भए पनि आउने हो । जनताबाट लिएको करले सामान्य खर्च मेन्टेन भएपछि अरु जनताको हितकै लागि खर्च गर्नुपर्छ । उहाँले विशेष के गर्नुभयो ? दमकमा सभाहल भनेको जनताको आवश्यकता हो । राज्यकै दायित्व हो । विकास भनेको कस्तो विकास दिगो विकासको अवधारणा ल्याउनु भयो कि भएन ? उहाँले भ्यू टावर बनाउनु भयो । त्यसको आवश्यकता थियो ? अनि त्यहाँबाट २० तला बनाउनु भयो । १ अर्ब ९३ करोड खर्च गरेर भ्यू टावर बनाउनु जरुरी छ ? रमित हेर्नका लागि टावर बनाउनुपर्छ । त्यहाँभन्दा ४ किलोमिटर मास्तिर जानु न डाँडाबाट हेर्दा दार्जिलिङ, सिक्किम पनि देखिन्छ नि । दिगो विकास हुनु आवश्यक छ । अहिले बाटो बनायो, एक दुई वर्षमै सोहोरिएर शहर कुरुप हुने अवस्था छ । यो अवस्था हटाउनु पर्छ ।
टावर त व्यवासायिक कम्प्लेक्स पनि होला नि रमित हेर्ने मात्रै हो र ? उहाँले त आइफिल टावर भनिरहनु भएको छ त ?
– दमकमा गोरखा डिपार्टमेन्ट स्टोर चलिरहेको छैन । अनावश्यक संरचना बनाएर देशलाई ऋणको भार बोकाउने ? तपाईले विकासको परिकल्पना गर्दा १०० वर्ष पछाडिको कल्पना गरेर हुँदैन । फ्रान्सको आइफिल टावरसँग यहाँ तुलना हुनै सक्दैन । १ सय वर्ष पछाडि नासाको जस्तो स्टेसन नेपाललाई चाहिएको होला । तर, अहिले बनाउने हो ? त्यो जरुरी छ । यो जनता छल्ने हावादारी कुरा हो । बच्चा आङ नाङ्गो भएर हिंडिरहेका छन् , यहाँ टाइसुटको कुरा गरेर हुँदैन ।
सांसद बनेर तपाई चाहिँ के गर्नुहुन्छ ?
देशलाई दिशानिर्देश गर्ने संसदमा सही ढंगले छलफल हुन सकिरहेको छैन ।े विदेश नीति भरपर्दो हुनुपर्छ । हाम्रो जहाँ बजार छ , जहाँ घनिष्ट सम्बन्ध छ । ती देशहरुसँग विश्वासको वातावरण बन्यो भने नेपाल युरोपको हाराहारीमा तुरुन्तै पुग्नसक्ने देश हो । हामीले विद्युत् उत्पादन गर्न सक्छौं । त्यसमा लगानी भित्र्याउन सक्छौं । हामीले ५० हजार मेगावाट विजुली निकालेर भारतले वा अरु देशले मात्रै विक्री गर्न सक्दा ठूलो आम्दानी हुन्छ । त्यसबाहेक पर्यटनको क्षेत्रमा पनि सुरक्षाको वातावरण सिर्जना गर्न सकिन्छ ।
त्यो विषय त नीतिगत ढंगले तपाईले भन्दा बढी भूमिका त केपी ओलीले खेल्नुहुन्छ होला नि ?
कसरी खेल्नुहुन्छ ? देखियो नि तीन वर्षमा के के भयो ? दुई पटक संसद विघटन । आफ्नै पार्टी विभाजन । भएको एमालेलाई पनि सग्लो राख्ने अवस्था देखिँदैन । झापाकै रतुवामाईको पाता कस्ने भन्नुभएको थियो । तर, जनतालाई रतुवाले सुताइदिएको छ । खोला नियन्त्रणको नाममा अहिले पनि आउन सक्छन् । उहाँले धेरै ढाँटिसक्नुभयो । औद्योगिक पार्क भनेर एक कठ्ठा जग्गा घेरेर ओलीले उद्घाटन गर्नुभयो भनेर शिला राखिएको छ । त्यो भन्दा केही छैन । त्यस्ता हावादारी कुरा गरेर हुन्छ ? आदिवासी रंगशाला बनाउने भनेर शिलान्यास गर्नुभयो । त्यहाँ जनजातिको चिहान हटाउनु भयो । त्यहाँ रंगशाला बनाउनु पर्नेथियो । विभिन्न राजनीति गरेर आदिवासीप्रति अनुदार गतिविधि भए । दमकमा फाल्गुनन्दको नामबाट सभाहल बनाउँछौं भन्नुभएको थियो । तर दमक सभाहल बनाउनु भयो । आदिवासी रंगशालालाई मदन भण्डारी भनेर नामाकरण गर्नुभयो ।
तपाईको पनि त एजेण्डा त रतुवाको पाता कस्ने, सुकुमबासीलाई जग्गा दिने नै त होला नि ? अहिले बिक्ने त्यही होला ।
मैले त खोला नियन्त्रणमा राष्ट्रिय नीति बनाउनु पर्छ भनिरहेको छु । चुरेका फेदीबाट बग्ने नदीहरुको छेउछाउमा सरकारले मुआब्जा दिएर जग्गा अधिग्रहण गरेर जरा तलसम्म फैलिने वृक्षारोपण गर्नुपर्छ । सुकुमबासीको विषयमा पनि हामीले भूमि सम्बन्धी आयोगले गरेको कामका आधारमा १ हजारभन्दा बढी पूर्जा बाँड्नुपर्छ भन्ने थियो । आचारसंहिताले दिएन । त्यसबाहेक मैले भ्यूटावर बन्ने सन्दर्भमा पनि भनेको थिएँ । त्यति नै पैसामा झापाको पाँडाजुंगी दमकको उत्तरी क्षेत्रमा प्रसस्त जग्गा छ । त्यहाँ ५ सय शैयाको मेडिकल कलेज स्थापना गर्नेमा विशेष भूमिका खेल्ने मैले सोचेको छु । यो क्षेत्रको तल्लो भेगमा गरिव निमुखा जनताको बसोबास छ । त्यहाँको भन्सारको स्तर उन्नति गरेर औद्योगिक क्षेत्र बनाउने सोच बनाएको छु । त्यसमा रोजगारीको अवसर पनि सिर्जना हुन्छ ।
तपाई आफैं पिएचडी गर्नुभएको एक जना बौद्धिक व्यक्तित्व हुनुहुन्छ । तपाईले आफैं पढेको विद्यालय हेर्नुभएको होला । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन चाहिं के गर्नुहुन्छ ?
– विद्यालय सुधारका लागि पहिले बुढाखाले शिक्षकलाई राजीनामा दिएर उहाँका सन्तानलाई जाँच लिएर प्रमोट गर्ने । शिक्षक छनौट विधिलाई उच्चस्तरीय आयोग भनाएर श्रव्यदृश्यसहितको परीक्षा लिने अवस्था सिर्जना गर्ने । तल्लो तहबाटै शिक्षामा सुधार गर्ने मेरो उद्देश्य हो । विश्वविद्यालयको सुधार सबैभन्दा महत्वपूर्ण छ । विद्यार्थीले चाहेको विषयमा अहिले पनि पढ्न पाइरहेको छैन । त्यस्तो अवस्थाको अन्त्य गर्ने । सिमान्तकृत समुदायका छोराछोरीलाई पढ्न पाउने व्यवस्था पनि गर्नुपर्छ ।
एमाले अध्यक्ष ओलीलाई केही सन्देश दिनुछ ?
केपी ओलीसँग ठ्याक्कै मिल्ने एउटा कुरा छ । एक जना चतुर व्यक्ति पाहुना लाग्न जाँदा एक प्याकेट बेसार लिएर जाने गर्दथे रे । धेरै दिन पाहुना बसेपछि घरवालाले हजुरको श्रीमती पनि गुनासो गर्न थाल्नुहोला कहिले जाने हो भनेर गफ गर्दा रहेछन् । तर, पाहुना चाहिं के भन्दारैछन् भने ‘होइन त्यो बेसार नसकि त कसरी जानु ?’ भन्दारैछन्, अब बेसार एकैचोटी खान दिने कुरा भएन । घरबेटीलाई समस्या परेपछि उनलाई खेदाउन एक पटक बेसारकै रोटी बनाएर खान दिएछन् । जब बेसारको रोटी खान दिए चतुर पाहुना भागेको थियो रे । त्यस्तै पटकपटक यसो गर्छु उसो गर्छु भन्ने तर केही नगर्ने केपी ओलीलाई यसपटक झापा ५ का जनताले बेसारको रोटी दिन्छन् । उहाँ भाग्नुहुन्छ ।