काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले, सय केजी सुन प्रकरणका दोषीलाई कानुनको दायरामा ल्याएरै छोड्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार गृह मन्त्रालयमा भएको गृहमन्त्री र सुरक्षा निकायका पूर्व उच्च अधिकारीहरूबिच शान्ति सुरक्षा सुदृढीकरण विषयमा भएको छलफल कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग उनले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट पास भएको सुनको विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् । निर्दोष कोही नफस्ने र अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् गरी दोषीलाई कानुनको दायरामा ल्याउने गरी छानबिनको निर्देशन दिइसकेको बताए ।
उनले भने,‘अनुसन्धान हामी गम्भीरतापूर्वक अगाडि बढाउँछौँ । यो घटना घटे पनि नघटे पनि जुन घटना हुन्छन् हाम्रो स्ट्यान्ड बाई निर्देशन छ । प्रधानमन्त्रीको पनि त्यही निर्देशन छ । जुन सुकै निकायले गर्ने भएता पनि निर्दोष नफसुन् र कुनै पनि परिघटनाको सन्दर्भमा अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् र दोषीलाई कानुनको दायरामा ल्याउने गरी होस् भन्ने हाम्रो निर्देशन रहेको छ । ’