विराटनगर । मोरङको रंगेली नगरपालिकाले नगरको गौरबको आयोजनाको रुपमा घोषणा गरेको सुत्केरी गर्भवती पोषण कार्यक्रमको बजेट भने पछिल्लो दुई वर्षमा खर्च नै नभएको पाइएको छ ।
सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको नाममा आफ्नै उद्योगमा उत्पादित जङ्कफुड खान बाध्य बनाएका मेयर बगडियाले सोही उद्योगको सामग्री खरिद नगर्दा कार्यक्रम नै अगाडि नबढाएका हुन् ।
आफ्नो उद्योगबाट सामाग्री नकिनिने भएपछि गर्भवती महिलाका लागि नगरले विनियोजन गरेको बजेट खर्च हुन नसकेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । खर्च नहुँदा दुई आर्थिक वर्षमा १ करोड २० लाख रुपैयाँ फ्रिज भएको हो ।
नगरपालिकाको गौरवको कार्यक्रमका रूपमा रहेको गर्भवती सुत्केरी पोषण कार्यक्रमका लागि आर्थिक वर्ष ०७६–७७ मा ६० लाख र ०७७–०७८ मा ६० लाख रुपैयाँ रुपैयाँ विनियोजन भएको थियो । तर, दुबै आर्थिक वर्षमा आफ्नो उद्योगको उत्पादन खरिद हुने अवस्था नभएपछि रकम खर्च नगरेको नगरपालिकाकाले आर्थिक वर्ष २०७८–७९ बाट भने कार्यक्रम नै हटाएको छ ।
मेयर बगडिया र उनको परिवारले चलाउने उद्योग स्वास्थ्य फुड इन्ड्रष्ट्रिज प्रा.लि.ले उत्पादन गर्ने ‘रेडी टु इट’ नामक खाजा गर्भवती सुत्केरी पोषण कार्यक्रमको लागि खरिद गर्न नगरको स्वास्थ्य शाखालाई दबाब थियो । कम्पनीले उत्पादन गरेका खानेकुराहरू तातो पानीमा हालेर तुरुन्त खान मिल्छ ।
तर, विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले सुत्केरीहरुका लागि खुवाउन सिफारिस नगरेको भन्दै सो उद्योगको सामाग्री खरिद गर्न नमिल्ने रिपोर्ट स्वास्थ्य शाखाले दिएपछि मेयर बगडियाले कार्यक्रम अन्तर्गतको अन्य सामग्री पनि किन्न नमानेको स्रोतको दाबी छ । मेयरको स्वार्थ पुरा नहुँदा दुई आर्थिक वर्षमा कार्यक्रमको रकम खर्च नभएपछि अघिल्लो आर्थिक वर्षदेखि बगडियाले सो कार्यक्रम नै हटाएका हुन् ।
मेयर बगडियाकै दबाबमा रंगेली नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई उनकै उद्योगमा उत्पादित पत्रु खाना (जंकफुड) खुवाउने गरेको सार्वजनिक भइरहेको छ । नगरका ३३ वटै विद्यालयमा बगडियाका भाई, छोरी र आफन्तको नाममा स्वामित्व रहेको उद्योगले प्याकेजको जंकफुड पठाउने गरेको छ ।
उद्योगले चिउरा, भुजिया दालमोठ तथा अन्य जङ्कफुड उत्पादन गरेर बालबालिकालाई खुवाउन पठाउने गरेको छ । खाजाको रकम नेपाल सरकारले नगरपालिकामार्फत पठाउँछ । मेयर बगडियाको दबाबमा विद्यालयका प्रधानाध्यापकहरुको नगरपालिकामै बैठक राखेर उनकै उद्योगको खाजा खरिद गर्ने निर्णय गराएको स्रोतको दावी छ । जिल्ला शिक्षा समन्वय इकाई मोरङले त्यसलाई रोक्न निर्देशनसमेत दिइसकेको छ ।
खाद्यविज्ञहरुले प्याकेटका खानेकुराहरुलाई पत्रु खाना भन्दै बालाबालिकाको स्वास्थ्यका लागि हानीकारक हुने बताउँदै आएका छन् । ‘तर, मेयर सा’बको स्वार्थका अघि हाम्रा विद्यार्थीको स्वास्थ्य र पोषणको कुरा गौण भएको छ’, रंगेलीका एक प्रधानाध्यापकले भने ‘हरेक दिन एकै खालको प्याकेटको खानेकुरा खान विद्यार्थी बाध्य छन् ।’
चालु आर्थिक वर्षमा रंगेलीले विद्यार्थीहरुलाई ९० लाख ८४ हजार ५ सय २५ रुपैयाँको दिवा खाजा खुवाएको तथ्यांक नगरपालिकाको शिक्षा शाखासँग छ । यो सबै पैसाको खाजा प्रमुख बगडियाकै उद्योगमा गएको छ ।

