विराटनगर । मोरङको रंगेली नगरका प्रमुख दिलिपकुमार अग्रवाल (बगडिया) स्थानीय सरकारका प्रमुख मात्रै होइनन्, कहलिएका उद्योगी पनि हुन् । रंगेलीलाई दोस्रो कार्यकालमा नेतृत्व दिइरहेका उनै अग्रवालले नगरपालिकाको स्रोत–साधनलाई आफ्नो उद्योगको हित अनुकूल दुरुपयोग गरिरहेका छन् ।
इँटा उद्योगदेखि तयारी खानेकुराको उद्योगसम्मका मालिक मेयर अग्रवालले शक्तिका आडमा नगरभरी आफ्नै उद्योगको उत्पादन अनिवार्य प्रयोग गराइरहेका छन् । त्यो पनि प्रतिष्पर्धा बेगरै । सरकारले कुनै पनि वस्तु तथा सेवा खरीद गर्दा खुला प्रतिष्पर्धामार्फत तुलनात्मक रुपमा सस्तो र राम्रोलाई प्राथमिकता दिने गरेको छ । तर, रंगेलीमा यो न्यूनतम नियमको पनि खिल्ली उडाउँदै जबरजस्ती मेयरकै उद्योगका उत्पादन प्रयोग भइरहेको छ ।
नगर प्रमुख अग्रवालले शक्तिका आडमा राज्यकोषको स्रोतलाई कसरी आफ्नो हित अनुकूल दुरुपयोग गरिरहेका छन् भन्ने थाहा पाउन विद्यालयहरुमा विद्यार्थीलाई दिइने दिवा खाजाभित्रको खेल हेरौं ।
रंगेली नगरपालिकाभित्र २९ वटा सामुदायिक विद्यालय र ४ वटा मदरसा छन् । आश्चर्य के छ भने नगरका ३३ वटै विद्यालयका सबैै विद्यार्थीले हरेक दिन एकै किसिमको खाजा पाउने गरेका छन्, जुन खाजा मेयर अग्रवालकै उद्योगबाट उत्पादन हुन्छ । नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुका अनुसार हरेक विद्यालयमा नेपाल स्वास्थ्य फुड इन्ड्रष्ट्रिज प्रा.लि.बाट उत्पादित खाजा खुवाउने गरिएको छ । यो उद्योग मेयर अग्रवालका भाइ राजेश र छोराले सञ्चालन गर्दै आएका छन् ।
मेयरको यो उद्योगले चिउरा, भुजिया दालमोठ, खिचडी तथा अन्य जंकफुड उत्पादन गर्छ । खाद्यविज्ञहरुले प्याकेटका खानेकुराहरुलाई पत्रु खाना भन्दै बालाबालिकाको स्वास्थ्यका लागि हानीकारक हुने बताउँदै आएका छन् । ‘तर, मेयर सा’बको स्वार्थका अघि हाम्रा विद्यार्थीको स्वास्थ्य र पोषणको कुरा गौण भएको छ’, रंगेलीका एक जना प्रधानाध्यापकले भने ‘हरेक दिन एकै खालको प्याकेटको खानेकुरा खान विद्यार्थी बाध्य छन् ।’
उनका अनुसार सरकारले विद्यार्थीलाई ताजा र पोषिलो खानेकुरा खुवाउनु भनेर विद्यार्थीको टाउको गनेर पैसा दिएको हुन्छ । तर, विद्यार्थीले मेयरको फ्याक्ट्रीको उत्पादन खानैपर्ने बाध्यता छ । त्यो कति पोषिलो र स्वस्थकर छ भन्ने तथ्यबारे विद्यालयहरुले प्रश्नसमेत उठाएका छैनन् ।
शिक्षकहरुका अनुसार मेयरको उद्योगबाट स्कुलमा आइपुग्ने खाजा विद्यार्थीले रुचाएका छैनन् । तर, मेयरको दबाबका कारण विद्यालयले किन्नै पर्ने वाध्यता छ । नकिने विभिन्न धम्की तथा त्रास देखाएर मेयर अग्रवालले किन्न बाध्य बनाउने गरेको शिक्षकहरु बताउँछन ।चालु आर्थिक वर्षमा रंगेलीले विद्यार्थीहरुलाई ९० लाख ८४ हजार ५ सय २५ रुपैयाँको दिवा खाजा खुवाएको तथ्यांक नगरपालिकाको शिक्षा शाखासँग छ । यो सबै पैसाको खाजा मेयरकै उद्योगमा गएको छ ।
‘विद्यार्थीको लागि ल्याएको खाजा ठूला मान्छेले पनि खान सकिँदैन,’ एक शिक्षकले भने ‘हामीले पटक पटक विद्यार्थीले यस्तो खाजा खान सकेनन् भन्दा मेयरसावले नै यो भन्दा पोषिलो अरू पालिकाले पनि खुवाएका छैनन् भनेर भन्नुभयो ।’ मेयरले प्रधानाध्यापकहरुको बैठकमा खाजाको विषयमा कुरा नउठाउनु भनेर धम्कीसमेत दिने गरेका छन् ।
मेयर अग्रवाल आफै लागेर विद्यालयबाट नै खाजा किन्ने व्यवस्था मिलाउने गरेका छन । गत आर्थिक वर्षमा नगरपालिकाले विद्यार्थी खाजाका लागि ठेक्का लगाएको थियो । स्वास्थ्य फुड ईन्ड्रस्टिजसहित अन्य केही कम्पनीले टेन्डर हालेका थिए । त्यति बेला उनका भाइ र छोराको नाममा रहेको स्वास्थ्य फुड इन्ड्रष्ट्रिजले ठेक्का पाउन सकेन । अर्कै कम्पनीले कम दररेटमा ठेक्का पारेपछि मेयर अग्रवालले विभिन्न बहना बनाएर ठेक्का रद्द गर्न लगाए । अनि विद्यालयमार्फत सोझै खाजा खरिद गर्ने व्यवस्था मिलाएका थिए । त्यतिबेला मोरङको रंगेली, रतुवामाई नगरपालिका र झापाको गौरादह नगरपालिकामा पनि अग्रवालकै योजनामा उनकै छोराले ठेक्का पारेका थिए ।
‘ठेक्का पार्ने कम्पनीले उत्पादन गरेको खाद्यान्न हाम्रो मापदण्ड विपरीत भएको भनेर त्यतिबेला ठेक्का रद्द गरिएको रहेछ,’ नगरका शिक्षा शाखाका अधिकृत रविन्द्र पण्डितले भने ‘त्यति बेला म भर्खर आएको थिएँ मलाई धेरै थाहा भएन ।’ उनले स्थानीय व्यापारीहरूले नगरपालिकाले दिने पैसामा खुवाउन सकिँदैन भनेपछि विद्यालयहरूले सल्लाह गरेर एकै ठाउँबाट खाजा ल्याएको दावी गरेका छन् । अहिले खुवाइएको खाजाको भने नगरपालिकाले परीक्षण गर्ने गरेको छैन । कम्पनीले आफै परिक्षण गरेर ल्याएको भन्ने गरेको छ । त्यही विश्वासका आधारमा परीक्षण नगरिने अधिकृत पण्डितले बताए ।
ताजा र स्थानीय उत्पादन विद्यार्थीलाई खाजामा खुवाउन भनेर संघीय सरकारले स्थानीय तहमार्फत प्रति विद्यार्थी दैनिक १५ रुपैयाँका दरले खाजाको पैसा उपलब्ध गराउँछ । अहिले पनि धेरै सामुदायिक विद्यालयहरुले अन्डा, फलफूल, चना, खिर लगायतका स्वस्थ र पोषिलो खाजा विद्यालयमै पकाएर खुवाइरहेका छन् । धेरै विद्यालयले खाजा बनाउन कर्मचारीसमेत राखेका छन् ।
तर, आफ्नो उद्योगको पत्रु खाना जसरी पनि बेच्ने मेयर अग्रवालको स्वार्थका अघि रंगेलीका हजारौं बालबालिका पोषिलो खाजाबाट वन्चित छन् । अधिकार सम्पन्न मेयरले जबरजस्ती आफ्नै उद्योगको उत्पादन भिडाउँदा शिक्षकहरु निरीह बनेर आदेश स्वीकार्न बाध्य छन् । अभिभावकबाट चुनिने विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु पनि यसबारे तैं चुप मै चुपको अवस्थामा छन् । कतिसम्म भने मेयरको उद्योगले म्याद गुज्रेका खाद्यवस्तुसमेत स्कुलमा पठाउने गरेको छ ।
नगरका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश न्यौपाने भने विद्यालयहरु स्वायत्त हुने र खाजा खरिदमा नगरको कुनै भूमिका नहुने दाबी गर्छन् । नगरले खरिद प्रक्रिया ठिक भए–नभएको मात्रै हेर्ने उनले बताए । कर्मचारीहरुले यस्तो दाबी गरे पनि मेयरले भने आफ्नो उद्योगले ठेक्का नपाउँदा ठेक्का नै रद्द गराएर विद्यार्थीलाई जंक फुड खान बाध्य पारेका छन् ।
रंगेलीमा मेयर अग्रवालको अनियमित धन्दा कति उत्कर्षमा छ भने आफ्नो उद्योगबाट सामग्री नकिनिने भएपछि गर्भवती महिलाका लागि नगरले विनियोजन गरेको बजेट दुई आर्थिक वर्षदेखि खर्च हुन सकेको छैन । दुई आर्थिक वर्षमा १ करोड २० लाख रुपैयाँ फ्रिज भएर नगरपालिकाकै खातामै बसेको छ ।
नगरपालिकाको गौरवको कार्यक्रमका रूपमा रहेको गर्भवती सुत्केरी पोषण कार्यक्रमका लागि आर्थिक वर्ष ०७६/७७ र ०७७/०७८मा ६० –६० लाख रुपैयाँ विनियोजन भएको थियो ।
‘रेडी टु इट’ नामक खानेकुरा मेयर र उनको परिवारले चलाउने उद्योगले उत्पादन गर्छ । कम्पनीले उत्पादन गरेका खानेकुराहरू तातो पानीमा हालेर तुरुन्त खान मिल्छ । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले सुत्केरीहरुका लागि खुवाउन सिफारिस नगरेको भन्दै स्वास्थ्यकर्मीले नमानेपछि मेयरले अन्य सामग्री पनि किन्न नमानेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
मेयर अग्रवाल पूर्वका चर्चित इँटा उद्योगी पनि हुन् । नगरपालिकाले निर्माण गर्ने संरचनामा उनकै उद्योगको इँटा प्रतिष्पर्धा र गुणस्तर जाँच बेगरै प्रयोग भइरहेको छ । अहिले पनि रंगेलीको पब्लिक माध्यमिक विद्यालयमा उनकै उद्योगको इँटा प्रयोग भइरहेको छ । विद्यालय भवन बनाउँदा आनन्द इँटा प्रयोग गरिएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र साहले बताए । आनन्द इँटा मेयरकै उद्योगको उत्पादन हो ।
यो विद्यालयमा अहिलेसम्म विद्यालय व्यवस्थापन समिति समेत गठन गरिएको छैन । वडा अध्यक्ष सुजित मण्डल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् । मेयर र वडा अध्यक्ष दुवै एमालेका कार्यकर्ता हुन् । मेयर र वडाध्यक्षको स्वार्थ मिलेपछि प्रतिष्पर्धा बेगर आनन्द इँटा प्रयोग भइरहेको छ ।
यो विद्यालयको ठेक्का लाग्नासाथ मेयरले ठेकेदारलाई घरैमा बोलाएर आनन्द इँटा प्रयोग गर्न दबाब दिएको स्रोतको भनाइ छ । ‘मेयरले यस्तो दबाब दिएपछि ठेकेदारले भुक्तानी लिन समस्या हुने डरले आनन्द इँटा नै प्रयोग गरे’ स्रोतले भन्यो ‘यसरी नगरमा जसरी पनि मेयरकै उद्योगका उत्पादनहरु बिना प्रतिष्पर्धा र गुणस्तर जाँच बेगरै प्रयोग भइरहेको छ । शक्तिका आडमा मेयरले चलाएको यो लुटधन्दा हो ।’
यी सबै विषयमा मेयर अग्रवालको प्रतिक्रिया बुझ्न खोज्दा उनी सम्पर्कमै आउन चाहेनन् । नगरका प्रमुख प्रशासकिय अधिकृत न्यौपाने भने निर्माण सामग्री ठेकेदारले आवश्यकता आधारमा किन्ने दाबी गर्छन् ।

