उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीबीच सडकको विषयलाई लिएर विवाद भएको छ ।
उर्लाबारी–२ को फोर लेन सडक ठेक्काको विषयमा नगरप्रमुख खरेल र प्रमुख प्रशासकीय अधिकृत अधिकारीबीच विवाद देखिएको हो । विश्व बैंकको सहयोगमा निर्माण हुने स्थानीय कृष्णचौकदेखि सुनझोडा सामुदायिक वनसम्म पुग्ने ५.५ किलोमिटर फोर लेन सडक निर्माणको मुख्य ठेक्का सिपेल इन्फ्रा क्रेच कालोनी सनाथ नगर हैदराबादले पाएको थियो ।
सो ठेक्का कम्पनीले पेटी ठेकेदारको रुपमा हेटौडाका निर्मल उप्रेतीलाई दिएको थियो । तर, पटक पटक ताकेता गर्दा पनि उप्रेतीले काम नगरेपछि सो ठेक्का सम्झौता खारेज गर्दै मुख्य ठेकेदार पक्षले उर्लाबारीका ठेकेदार अर्जुन तुम्रोकलाई पेटी ठेक्काको जिम्मेवारी दिएको थियो ।
सोही बिषयलाई लिएर नगरप्रमुख खरेल प्रमुख प्रशासकीय अधिकृत अधिकारीमाथि खनिएको जानकार स्रोतले बताएको छ । नगरप्रमुख खरेलले काम नगर्ने ठेकेदार उप्रेतीको पक्ष लिएर शिलान्यास कार्यक्रम नै रोकेका थिए । नगरप्रमुख खरेलले शिलान्यास रोके पनि स्थानीयबासीले शिलान्यास गर्दै काम अघि बढाउन ठेकेदार पक्षलाई आग्रह गरेका थिए । तर, नगरप्रमुखले नै शिलान्यास रोकेपछि काम रोकिएको छ । ठेक्का लागे पनि काम नहुँदा स्थानीयबासी रुष्ट बनेका छन् । नगरप्रमुख खरेलको कार्यशैलीप्रति स्थानीयबासीले प्रश्न खडा गरेका छन् । ‘मुख्य ठेकेदार कम्पनीले पहिलो पेटी ठेकेदार पक्षसँगको सम्झौता रद्द गरी अर्को व्यक्तिलाई पेटी ठेक्का दिँदा नगरप्रमुखलाई किन टाउको दुखेको हो’, स्थानीयले प्रश्न गर्दै भने– ‘जसरी हुन्छ, गुणस्तरीय काम हुनु प¥यो भनेर दबाब दिनु पर्नेमा उल्टै शिलान्यास रोकेर अहम देखाउने काम भएको छ ।’
पेटी ठेकेदारको पक्ष लिएर नगरप्रमुख प्रमुख प्रशासकीय अधिकृतमाथि खनिएपछि १५ दिनको विदा लिएर अब नफर्किने गरी काठमाडौं गएको जानकार स्रोतले बताएको छ । अनुभवी प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उर्लाबारी छोड्ने निर्णय गरेपछि निकै भाबुक बनेको एक कर्मचारीले बताएका छन् । ‘राम्रो काम गर्न खोज्दा उल्टै म माथि नगरप्रमुख खनिए भन्दै आँखाभरी आँसु पार्दै प्रमुख प्रशासकीय अधिकृत जानुभयो’ ती कर्मचारीले भने– ‘अब लगभग उहाँ फर्किने सम्भावना छैन, धेरै नै उहाँको चित्त दुखाई गर्नुभएको छ ।’
प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उर्लाबारीका किसानहरुको पहिचान गरी क्रेडिट कार्डमार्फत ऋणको व्यवस्थापनका लागि अन्तिम तयारी गरेका थिए भने उर्लाबारीलाई व्यवस्थित शहर बनाउने योजना अघि सारेका थिए । उनकै अग्रसरतामा जथाभावी प्लटिङ रोक्ने योजना बनेको थियो । जथाभावी जग्गा खण्डिकरण रोक्ने कदमको स्वयम् नगरप्रमुख खरेलको दल नेकपा एमालेले पनि विरोध गरेको थियो । अनुभवी मानिने प्रमुख प्रशासकीय अधिकृत अधिकारी बसेका विभिन्न पालिकाहरुमा नमूना काम गरेको इतिहास छ । नीति, नियम र प्रक्रिया पूरा गरेर नगरपालिकाको काम कार्वाही अघि बढाउनु पर्छ भन्दा मनोमानी तरिकाले चल्न नपाएपछि नगरप्रमुख खरेल प्रमुख प्रशासकीय अधिकृत अधिकारीसँग रुष्ट बनेको बताइन्छ । यस्तै, उर्लाबारीका ठेकेदार टिका भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्– ‘एउटा पेटी ठेकेदारको पक्ष लिएर अनुभवी प्रमुख प्रशासकीय अधिकृतलाई खेद्नलाई सागर, बसन्ते, किस्नेको मोहजालमा परेर देखाएको नाङ्गो नाच नजिकबाट हेरिरहेका छौं, बडा बा ।’ यता उर्लाबारी नगरपालिकाका नगरप्रमुख खरेलले आफू र प्रमुख प्रशासकीय अधिकृतबीच कुनै विवाद नभएको दाबी गरेका छन् ।
ठेकेदार निर्मल उप्रेतीले आफूसँग भएको ४६ पानाको सम्झौतालाई खिल्ली उडाएर मुख्य कम्पनीले कुनै खबर बिना दोस्रो पक्षलाई ठेक्का दिएर काम सुरु गर्न लागेको र शिलान्यासमा आपत्ति जनाउँदै सडक निर्माणविरुद्ध मुद्दा हाल्ने बताएको नगरप्रमुख खरेलले बताए । आफूमाथि अन्याय भएको दाबी गरेपछि उक्त बाटोको काम सुरु भएपछि कुनै असर नपुगोस् भनेर वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख ठेकदारसंग समन्वय गरेर शिलान्यास कार्यक्रम आफुले रोकेको उनले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृतले किन उर्लाबारी छोड्ने मनासाय बनाए त ? यो प्रश्नमा नगरप्रमुख खरेलले भने ‘मलाई यस बारेमा थाहा छैन, सम्पर्क भएको छैन ।’ यस बारेमा ब्झ्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत अधिकारीसँग सम्पर्क हुन सकेन ।

