विराटनगर । सुनसरी धरान उपमहानगरपालिकाका सुन व्यवसायी ५० वर्षीय योवन खड्गीले सर्वसाधारणबाट संकलन गरेको करिब ७ करोड रुपैयाँ तिर्न नसकेपछि आत्मदाहको प्रयास गरेको खुलेको छ ।

सोमबार विहान धरानस्थित भानुचौकमा आत्मदाहको प्रयास गरेका उनले सुन पसलमार्फत निक्षेप संकलन गरेको पाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।

विगत लामो समयदेखि उनले सहकारीले जस्तो सर्वसाधरणको पैसा बचत गर्न थालेका थिए । उनको सुन पसलमा हालसम्म ७२ जना सर्वसाधरणले ६ करोड ७४ लाख रुपैयाँ जम्मा गरेको पाइएको छ । सर्वसाधरणले बचत रकम माग्न थालेपछि विदेश हिँडेका उनी निक्षेप फिर्ता गर्न नसकेपछि फेरि स्वदेश फर्किएकोमा मानसिक तनावमा रहेको बताइन्छ ।

‘आत्मदाहको प्रयास भएको देखियो । हुन्थ्यो हुन्नथ्यो थाहा भएन,’ डिएसपी मल्लले भने, ‘सुन व्यवसायबाट आर्थिक कारोबार गरेका रहेछन् । सहकारी जस्तो बचत तथा ऋणको कारोबार गर्न थालेको पाइयो ।’ खड्गीले ७२ जना निक्षेपकर्ताको ६ करोड ७४ लाख निक्षेप फिर्ता गर्न बाँकी रहेको प्रमाणित भएको प्रहरीले जनाएको छ ।

केही दिन अगाडि उनीसँगै उनको परिवार, जनप्रतिनिधि र प्रहरी तथा निक्षेपकर्ताबीच व्यापार व्यवसाय तथा घरजग्गा बिक्री गरेर पैसा फिर्ता गर्ने सहमति भएको थियो । ‘पसलको भ्यालुएसन गरेर विक्री वितरण गर्ने गरी समति भयो । त्यसअनुसारको कारोबार नभएपछि निक्षेपकर्ताले दबाब दिएका थिए,’ मल्लले भने, ‘उहाँले भने हामीसँग आफ्नै तनावको कारणले यसो गरेको भनेर बयान दिएका छन् ।’

प्रहरीका अनुसार वडा कार्यालयमा उनको नाममा दर्ता भएको जग्गा वा घरपरिवार एकाघरको सगोलबाट विक्री गरेर निक्षेप फिर्ता गर्ने सहमति भएको थियो । ‘आफ्नोबाट नभए आमाकोबाट गर्ने । आमाकोबाट भए उनले आफ्नो जग्गा आमालाई दिने भएका थिए । तर, पारिवारिक सदस्यहरुले विवाद निकालेपछि उनलाई थप तनाव बढेको देखियो,’ मल्लले भने । खड्गी अहिले इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमै रहेका छन् ।

धरान ३ स्थित पुरानो बजारमा रहेको न्यु जयन्ती स्टोरका सञ्चालक यौवन खड्गी विदेश भागेपछि उनको घरसमेत यसअघि सर्वसाधारणले घेराउ गरेका थिए ।
सर्वसाधारणहरुले १८ प्रतिशत ब्याज पाउने आशामा उनलाई पैसा राख्न दिएको बताएका छन् ।