
विमल कार्की
देशमा राजतन्त्र पुनस्र्थापनाको बहस र तयारी जोडतोडले चलिरहेको छ । राजावादीहरु अहिले देश चलाइरहेका गणतन्त्र पक्षधरहरुले राज्य र सरकार राम्रोसँग सम्हाल्न र सञ्चालन गर्न नसकेको ठहर गर्दै राजसंस्था÷राजतन्त्र पुनस्र्थापनाको वकालत गरिरहेका छन् र जनताको समर्थन पनि उल्लेख्य देखिदैछ ।
सत्य के हो भने;
गणतन्त्र स्थापना गर्नका लागि बलिदानी संघर्ष गर्ने दलहरु (कांग्रेस, एमाले, माओवादी, मधेशवादी लगायत) ले सञ्चालन गरेको शासनमा “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक” व्यवस्था काम नलाग्ने÷असफल भएकै हो । त्यसैले यो व्यवस्थाका विकल्पमा राजसंस्थाको पुनरागमनको चर्चा परिचर्चा हुन थालेको छ । तर, के नेपालको राजसंस्थाले चाहिँ साँच्चै राम्रोसँग सुशासन दिन सक्छ त ?
मेरो अनुरोध छ, राजसंस्था र दलहरुले नेपाली जनतालाई कस्तो शासन दिए, इतिहासका पाना पल्टाएर एकपटक गम्भीर भएर पर्गेल्न जरुरी छ, अर्जाप्न जरुरी छ । इतिहासलाई राम्रोसँग पर्गेलेर अर्जापेपछि मात्र हामी यीनका (राजसंस्था र दल) सन्दर्भमा सहि निष्कर्षमा पुग्न सक्छौं ।
इतिहासमा राजसंस्था ;
पृथ्वीनारायण शाह, आफ्ना बुवाको अवसानपछि एउटा दुर्गम र गरिब पहाडी राज्य गोर्खाको राजा बन्छन् । एउटा बीस वर्षीय केटौलेपनको युवा यो समग्र हिमालय क्षेत्र र गङ्गाको विशाल मैदानमा मुगल सल्तानतलाई चुनौती दिँदै एउटा सनातनी परम्परालाई आत्मसात गर्ने “असली हिन्दुस्तानी” साम्राज्य निर्माण गर्ने सपना साकार पार्न अगाडि बढ्छ र अन्ततः पूर्व टिस्टादेखि पश्चिम सतलज र उत्तर हिमालयदेखि दक्षिण गङ्गा नदीलाई सिमाना राखेर नेपाल राज्यको स्थापना गर्दछ । यस अर्थमा पृथ्वीनारायण शाह हामी नेपालीका लागि स्तुत्य छन् । उनैले आज्र्याको एक स्वतन्त्र, सार्वभौमिक राष्ट्रमा बसेर हामी नेपाली हुन पाएका छौं । तसर्थ हामी नेपालीले पृथ्वीनारायणको जति नै प्रासंसा गरे पनि अपर्याप्त नै हुन्छ । स्मरण रहोस् नेतृत्व पृथ्वीले गरेका थिए तर, नेपाली राष्ट्र निर्माण गर्ने सपनालाई साकार रुप दिन भने असंख्य नेपालीजनको अतुल्य भूमिका थियो ।
तर, पृथ्वीको अवसानपछि तीनका वंशजले के के गरे यो देशमा, अब त्यसलाई पनि निफन्ने प्रयास गरांै इतिहासको कसिमा एक पटक ।
१. पृथ्वीको अवसानपछि उनका छोरा प्रताप सिंह शाह अढाइ वर्षजति राजा भएर मरे । तर, उनको शासनकाल उल्लेख्य छैन । उनी राजकाजमा भन्दा पनि जादु, टुना, तन्त्र, मन्त्र र तरुनीका पछिलाग्थे र त्यही सिलशीलामा उनको मृत्युु भएको हो भन्ने इतिहासकारहरुको भनाइछ ।
२. प्रतापपछि उनका छोरा रणबहादुर शाह राजा भए । रणबहादुर नेपालको र राजसंस्था कै इतिहासका सबै भन्दा खराब, निकम्मा, नालायक, बेइमान र परपीडक राजा हुन् ।
३. रणबहादुरले त्यो बेलाको राज धर्म र उत्तराधिकार परम्पराको सर्वनाश गरे । त्यो बेलामा राजाले धर्म र परम्परा बमोजिम बिबाह गरेकी सजातीय महारानीको कोखबाट जन्मेको जेठो छोरा नै राजा हुने परम्परा र बैधानिकतालाई अन्त्य गर्दै आफूले सन्यास धारण गरेर ल्याइते पट्टिबाट जन्मेको छोरा गिर्वाणयुद्ध बिक्रमलाइ राजा बनाए ।
४. त्यसबेला राजाले अजातीय र विधवा कन्यासँग बिबाह गर्न नहुने मान्यता र परम्परा थियो । तर रणबहादुरले पशुपति नाथको तीर्थाटन गर्न आएकी अहिलेको सिरहा बनौलीकी मिश्र ब्राह्मण (तिरहुतिया बाहुन) की छोरी कान्तवती, जो विधवा थिइन् । उनको सहमतीविरुद्ध जबरजस्ती बन्धक बनाएर, उनैको गर्भबाट जन्मेको छोरालाइ राजा बनाउने शर्तमा कान्तवतीलाइधर्् ल्याइते रानी बनाए । जबकि त्यसबेला रणबहादुरकी सुवर्ण प्रभा र राज राजेश्वरी नामक दुईटी ब्याइते रानीहरु थिए र सुवर्णप्रभा पट्टिबाट दुई राजकुमारहरुको जन्म भैसकेको थियो ।
५. तर, ती अभागी युवराज र अधिराजकुमारको राजा हुने जन्मसिद्ध अधिकारको हत्या गरेर आफ्नो कामेच्छा तृप्त गर्न रणबहादुरले अवैध र अधार्मिक कुमार गिर्वाणलाई राजा बनाए । यो मान्यता बमोजिम भन्ने हो भने अहिलेको राज वंश राजतन्त्रको उत्तराधिकार परम्परा अनुरुप छैन, अवैध छ र अधार्मिक छ । शाह वंशको राज परम्पराको असली हकदार वा उत्तराधिकारी कुनै बेला त्रिभुवन विश्वबिद्धालयका उपकुलपति भएका नवीनप्रकाश जङ्ग शाह हुन् । जो तत्कालीन राजा रणबहादुरका छोरा युवराज रणेन्द्रका वंशज हुन् । नवीनप्रकाश जङ्गका बुवा नेपाली कांग्रेसका नेता मुक्ति सेनाका कमाण्डर थिए । जो पञ्चायत विरोधी लडाइँमा प्रजातन्त्र प्राप्तिका लागि सहिद भए ।
६. राजा रणबहादुरले ल्याइते रानी कान्तवती बिफर रोगका कारण मरेपछि आफ्नी प्रिय रानीलाई लाख भाकलका बावजुद भगवानले नबचाइदिएको भन्दै मृत्युको बदला लिन भनेर पशुपतिलगायतका मन्दिरहरुमा मानव गुहु, मुत चढाए । दर्जनौं वैद्यहरुलाई मृत्युदण्ड दिए, कतिलाई छालाकाडेर यातना दिए, कतिपयलाई देश निकाला गरे । अनि उपत्यकामा ज–जसलाई बिफर लागेन वा बिफर पचाएर निको भए तिनीहरुलाई काठमाडौं निकाला गरे । अहिले काठमाडांै बाहिर बसोवास गर्ने नेवारहरुमध्येको ठुलो जनसंख्या त्यहिबेला विस्थापित भएका नेवारका सन्ततिहरु हुन् ।
७. यस्ता थुप्रै पाप कर्म गर्दागर्दै अति भएपछि आफ्नै सौतेनी भाइ शेरबहादुरले तरवार प्रहार गरेर यीनको हत्या गरिदिए ।
८. रणबहादुरलाई तिनको कूकर्ममा हरबखत भिमसेन थापाले साथ दिन्थे । त्यही साथ दिएबापत एउटा सामान्य सिपाही भिमसेन थापालाई, (अरु दक्ष, योग्य, पुराना काजी र भारदारहरु हुँदाहुँदै ) रणबहादुरले राजकाज संचालनको महत्त्वपूर्ण भारदार बनाए ।
९. राजा रणबहादुरको हत्या पश्चात् त्यही हत्याको बदला लिन भनेर भिमसेन थापाले नेपाल दरवारका ९३ जना भारदारहरुको हत्या गरेर देशको मुख्तियार बने । राजा रणबहादुरको नालायकीपनका कारण भिमसेन थापाको उदय भयो । राजकाज सम्बन्धी दरवारबाट हुने सम्पूर्ण काम अब भिमसेन थापाको दरवारबाट हुनथाल्यो । कतिसम्म भने आफ्नै नाबालिका भतिजी (ललित त्रिपूरासुन्दरी) लाई राजासँग बिबाह गराइ सम्पूर्ण राजदरबारलाई नै कठपुतली बनाएर भिमसेन थापाले ३३ वर्ष राज्य गरे र यहि अवधिमा नेपालले अंग्रेजसँग युद्ध हारेर सबैभन्दा कमजोर बन्न पुग्यो । देशको झण्डै आधा भूमी गुमाउनु पर्यो, अहिलेको बाँके, बर्दिया, कैलाली, कंचनपुर (नयाँ मुलुक) समेत ।
१०. अर्थात् राजा रणबहादुर नालायक, निकम्मा, अधर्मी भएका कारण देश कमजोर भयो । दरवार भिमसेन थापा जस्ता अयोग्य र महत्वाकांक्षीको कठपुतली बन्यो । थुप्रै देशभक्त भारदारहरुले ज्यान गुमाउनु पर्यो । नेपालले अंग्रेजसँग युद्ध हार्न पुग्यो ।
११. राजा रणबहादुरपछि अर्का निकम्मा राजा भए उनैका नाति राजेन्द्र बिक्रम । यिनी पनि आफ्ना हजुरबुबा रणबहादुर जस्तै निकम्मा, नालायक, अयोग्य र स्त्री लम्पट थिए । यिनी अयोग्य थिए । केही गर्न सक्ने औकात नै नभएका । त्यसैले यिनमा निहित अर्थात राजामा निहित राज्य शक्तिलाइ यिनले गोरखपुरतिरबाट बिबाह गरेर ल्याइएकी दुई महारानीहरु (साम्राज्यलक्ष्मी र राज्यलक्ष्मी) दिदी बहिनीहरुले चरम दुरुपयोग गरिन् । राजा राज्यशक्ति दुरुपयोग भएको टुलुटुलु हेर्ने मुकदर्शक मात्र बनिरहे ।
१२. अघिल्लो चरणमा जेठी रानी साम्राज्यलक्ष्मीले राजामा निहित शक्ति आफ्नो हातमा लिएर भिमसेन थापा लगायतको हत्या गरिन् ।
१३. दिदी साम्राज्यलक्ष्मीको मृत्यु पश्चात बहिनी राज्यलक्ष्मीले राजाको अधिकार पन्जापत्र गरेर आफ्नो हातमा लिइन् । र, त्यसपछि नेपाल दरवारमा राज्यशक्ति दुरुपयोगको अन्तहीन सिलसिला सुरु भयो र यो सिलसिलाले कोतपर्व, भण्डारखाल पर्व मच्चाउँदै थुप्रै निर्दोष भारदारहरुको हत्या गरेर अर्को क्रुर शासक जंगबहादुरलाई जन्मायो ।
१४. राजा राजेन्द्रको अयोग्यता र स्त्री लम्पटताले रानध्ीहरुलाई महत्वाकांक्षी बनाउनुका साथै दरवार फेरि जङ्गबहादुरको कठपुतली बन्यो । देश १०४ वर्षसम्म राणाहरुको जहाँनीया शासनमा कैद भयो ।
१५. त्यसैगरि अयोग्य र स्त्री लम्पट राजालाई राजगद्दीबाट हटाइएपछि, राजा राजेन्द्रलाई जिवितै अवस्थामा गद्दीबाट च्युत गरी जंगबहादुरले उदण्ड युवराज सुरेन्द्रलाई राजा बनाएका थिए । उदण्ड प्रवृत्तिका सुरेन्द्र राजा बनेपछि यिनी पूर्णरुपेण जंगबहादुरका कठपुतली बने । अनि एउटा निकम्मा “श्री ५” राजशाहीलाई बेहोरिरहेको नेपाल र नेपालीले त्यो सँगसँगै ९४ वर्षका लागि अर्को “श्री ३” राजशाही (राणा शाही) लाई पनि बेहोर्नु पर्यो । श्री ५ पृथ्वीनारायणका वंशज राजाहरुका कारणले ।
१६. सुरेन्द्रपछि उनका नाति पृथ्वी वीर बिक्रम राजा भए । यिनको जिन्दगी राणाहरुले कलकत्ताबाट ल्याइदिएको दारु खाएर नै बित्यो, भोग र बिलासमा ।
१७. त्यसपछि त्रिभुवन राजा भए । यिनलाइ राणाहरुले अधिकारबिहीन बनाइएकोमा पीडा थियो । यिनी आफ्नो गुमेको अधिकार फिर्ता लिन चाहन्थे । त्यसका लागि जे पनि गर्न तयार थिए । त्यही सिलसिलामा यिनले राणाहरुसँग प्रतिशोध साँध्न भारतका नेहरु÷पटेलको कठपुतली बनेको थाहा नै पाएनन् र भारतवर्षको राजा हुने लोभमा झण्डै नेपालको बिलय गराउन पुगेका थिए ।
१८. त्रिभुवनपछि राजा भएका महेन्द्रले केही राम्रा कामको जग बसालेका भएपनि लोकतन्त्र स्थापना भैसकेको देशमा पञ्चायती निरङ्कुशता लादे ।
१९. त्यसपछि राजा भएका वीरेन्द्रलाई दुनियाँले भलाद्मी राजा माने तापनि यिनी आफ्ना पूर्वज राजा राजेन्द्र जस्तै रानीको चंगुलबाट बाहिर निस्कन सकेनन् ।
२०. राजा ज्ञानेन्द्र कस्ता थिए, २०५९-०६१ हामीले भोगेकै हो ।
२१. अनि दिपेन्द्र कस्ता थिए त ?
यिनका पूर्वजहरु कतिसम्म स्त्री लम्पट थिए भने रणबहादुरले मन पराइएकी स्त्रीका लागि आफ्नै छोरालाई युवराज हुनबाट बञ्चित गराए । राजा महेन्द्रले आफूले रोजेकी केटीसँग बिबाह गर्न नपाए युबराज पदबाट राजीनामा दिने धम्की दिए भने युवराज दिपेन्द्रले आफूले रोजेकी केटीसँग बिबाह गर्न नपाउँदा बाउ, आमा, भाइ, बैनीलगायत आफ्नै सम्पूर्ण वंश हत्या गरे भनियो ।
२२. अब यदि राजसंस्थाको पूनसर््थापना भयो भने ८० वर्षका ज्ञानेन्द्र र युवराज पारशको बारेमा केही भनिरहनु पर्छ र ?
यस्तो कहालीलाग्दो इतिहास भएको राजसंस्थालाई पुनर्स्थापित गर्नु कतिसम्म विवेक सम्मत होला ? यसतर्फ पनि विचार गर्ने हो कि !
के पृथ्वीनारायण शाहका वंशज भए भन्दैमा यिनले सधैंभरि त्यसको ब्याज खान पाउनु पर्छ भन्ने हो ?
अब एक पटक दलहरूलाई पनि हेरौं :
१. २००७ सालको राणाविरोधी आन्दोलनमा सहभागी कंग्रेससले ०१५ सालमा भएको आम चुनावमा दुई तिहाइ बहुमत प्राप्त गरेर बिपि कोइरालाको नेतृत्वमा सरकार बनायो । तर त्यो सरकार पार्टीभित्रकै आन्तरिक गुटबन्दी र नेताहरुको इष्र्या र वैमनस्यताका कारण कमजोर बन्यो अनि राजा महेन्द्रलाई ‘कू’ गर्न सजिलो भयो ।
२. ०४८ सालको नेकाको एकमना बहुमतको सरकार आफ्नै ३६ से हरुद्वारा गयो ।
३. ०५१ को ९ महिने सरकार चलाएपछिको लोकप्रिय एमाले आफ्नै आन्तरिक कलहका कारण छैठौं महाधिवेशनमा फुट्यो र सरकार बनाउने अवसर गुमायो ।
४. सत्ताका लागि कांग्रेसस र एमालेले पालैपालो पञ्चायती शासकहरु लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए ।
५. ०५९ सालमा शेरबहादुर देउवाले प्रजातन्त्र राजाको पाउमा चढाएर प्रधानमन्त्री खाए भने प्रतिगमन आधा सच्याएर एमालेले मन्त्री पद खायो ।
६. नेपाली जनताको मुक्तिको लागि जनयुद्ध गरेको माओवादी सरकारमा पुग्ने बितिकै तिनै नेपाली जनताको नजरबाट यसरी नाङ्गियो कि अहिलेसम्म त्यसले राम्रोसँग शरीर ढाक्न सकेको छैन
७. नेकपाको नाममा एमाले र माओवादी मिलेर ०७४ मा दुई तिहाइ जितेको थियो । यो पार्टीले आफ्नै सरकार पूर्ण कार्यकाल सञ्चालन गर्न मात्र सकेन हैन, दुईटा पार्टी मिलेर एकीकृत भएको पार्टी फेरि फुटेर ३ टुक्रा भयो ।
८. ०७९ पछि त यिनीहरुले लोकतन्त्रको सामान्य मान्यतालाई समेत तिलाञ्जलि दिएर सत्ता भोगका निम्ति जोसँग मिलेर भए पनि सरकार बनाउने र सत्ताभोग गर्ने नाङ्गो पर्पन्च मै रमाइरहेछन् । रोम जलिरहँदा बेफिक्र भएर सत्ताको बाँसुरी बजाउने निरो जस्तै ।
९. त्यसैले यिनैले फेरि मिसन चौरासी भन्दा जनतालाइ रिस उठ्नु स्वभाविक नै हो ।
त्यसैले इतिहासको राम्रोसँग समीक्षा गर्दा के देखिन्छ भने नेपालको राज्य सत्ता चलाउन बिगत दुई सय वर्षदेखि नै यो देशमा न राजसंस्था सक्षम देखियो । न त दलहरु नै सक्षम देखिए । यो देश चलाउन फेरि पनि तिनै इतिहासमा असक्षम र असफल भएका दल वा राजसंस्थालाइ दोहोर्याउनु किमार्थ पनि बुद्धिसङ्गत वा विवेकसम्मत ठहरिदैन । राज्यलाई सफल र सक्षम बनाउन यो भन्दा उत्तम लोकतान्त्रिक र यो भन्दा उत्तम गणतान्त्रिक राज्य व्यवस्था निर्माण गर्नुपर्छ । अनि यो व्यवस्थालाई हाँक्नसक्ने सक्षम र बौद्धिक क्षमतायुक्त नेतृत्व निर्माण गर्नुपर्छ । अब हामी त्यस दिशा तर्फ लागौं ।
बिगत दुई सय वर्षदेखि निरन्तर असक्षम र अयोग्यहरुले चलाउँदा चलाउँदा थिलथिलो भएको तर, अझै नमरेको यति शक्तिशाली र जब्बर राज्य रहेछ नेपाल । अब योग्य र दक्ष नेतृत्व निर्माण गरौं । देशलाई सधैध्ंको असफलताबाट मुक्त गरौं ।
(लेखकः नेकपा एमाका पूर्व नेता तथा पूर्व प्रदेशसभा सदस्य हुन् ।)