सुर्यनारायण चौधरी
बर्खायामको महिना । बिजुली बत्ती नभएकोले गर्मी माहसुस हुन थाल्यो । चिया पिउदै गफ गर्न अनि थोरै भएपनि गर्मी छल्न हामी छतमा निस्कियौँ । छतमै एकातिर किचेन अनि अर्काेतिर फुलबारी त्यसमाथि हावादार छत थियो । हामी कुर्सीमा बसेर चिया पिउन थाल्यौं । एक पटक चिया पिउँदा धेरै पल्ट हातखुट्टा हल्लाउनु पथ्र्याे, कारण थियो मच्छरको टोकाइ । मिठो चियाको स्वाद पनि मच्छरको टोकाइले नमिठो हुँदै थियो ।
सहनै नसकेर मैले भने बाफ्रे कति मच्छर छ है ! आन्टीले भन्नुभयो, ‘हो बाबु तराईको ठाउँमा गर्मी पनि उस्तै, त्यसमाथि मच्छरको आतङ्क । जिम्मेवार नेतृत्वले डेंगी रोकथाम गर्न योजना ल्याउलान् नि त,’ उहाँले मुस्कुराउँदै भन्नुभयो ।
मेरो साथी रामले थपे, ‘सबै दोस नेताहरुलाई लगाएर हामी पन्छिन पाइन्छ र डेंगी नियन्त्रणमा हाम्रो पनि भूमिका होला नि हैन र ?’ उनले घर वरिपरिको फोहोर देखाउँदै सर्वसाधारणको जिम्मेवारी सम्झाउने कोसिस गरे । घरकरेसा भोलिबाटै सफा बनाउन उहाँ तयार पनि हुनुभयो । चिया पिएर हामी बिदा भयौं ।
अर्काे बिहान करिब ९ बजेतिर हामी फेरि पुग्यांै । ठिक्क त्यही वेलामा काम गर्ने मानिसहरु पुगेका रहेछन् । ‘लौ हजुर यति सफा गरेको आठ सय लिन्छु । कोदालो अनि झार काट्ने हँसिया दिनुस’ उनीहरु भन्दै थिए । म मनमनै सोच्दै थिएँ ‘आठ सय अर्थात् महिनाको चौबीस हजार । काम ६ घण्टा पनि नलाग्ने खालको छ । यति पारिश्रमिक पढेलेखेकाहरुले पनि थाप्न मुस्किल छ ।’ मैले बिचमै भनें ‘ यो अलि महंगो भएन र दुई तीन घण्टाको कामका लागि ? उनले भने, ‘हो हजुर ! महंगी कहाँ पुगिसक्यो । बजारमा सामान छोइसक्नु छैन, हजुरलाई थाह छ त ।’ फेरि सोच्न बाध्य भएँ, दिनको ८÷१० घण्टा काम गर्ने शिक्षित व्यक्तिहरुको त यति तलब हुँदैन, महंगी उनीहरुका लागि छैन र ? विरोध गर्दा जागिरको चिन्ताले पढेलेखेकाहरुले प्रतिवाद गर्न नसक्ने अवस्था पो हो की !
‘के सोच्न थाल्नुभो बाबु !’ भनेर भन्दा पो म झसङ्ग भएँ । काम गर्ने मानिसहरु कामका लागि कपडा फेरेर तयार भइसकेकोले मैले पनि उसले मागेको रकम दिनुहोस् भनेर कामदारको इज्जत परिश्रमको मूल्य दिन सुझाव दिएँ ।‘यदि यो कुरा हेरक रोजगारदाताले बुझिदिए….’ मनमनै फेरि सोचेँ तर बोल्न सकिन । अनि बोलें, झाडीमा सरसफाई गर्दा पूरा शरीर ढाक्ने बाहुला भएको कपडा लगाएर मात्र काम गर्ने गर्नुस् ।
यतिकैमा रामलाई कामदार र आन्टीले एकै स्वरमा सोध्नुभयो किन टुसुक्क पिर्कामा बसेको ?, डेंगीको प्रकोप बढ्दै छ थाहा छैन तपाईंहरुलाई ?’ अनी आन्टीले भन्नुभयो ‘डेंगीको बारेमा बुझ्ने गरी भन त ।’डेंगी रोग रोकथाम गर्न सकिने जनस्वास्थ्य समस्या हो । यो संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेंगीका जिवाणु नेपालमा सन् २००४ तिर देखापरे, २००६ देखि पटकपटक गरी हालसम्म जनस्वास्थ्य समस्याको रुपमा देखापरिरहेको छ । एडिज जातको लामखुट्टे सफा पानी जमेको ठाँउहरुमा वृत्ति विकास हुने गर्दछ ।
डेंगी ज्वरो हाल नेपालमा स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २०२३ जुन २० सम्ममा ६६ जिल्लामा एक हजार २४ डेंगीका बिरामीहरु पहिचान भएका छन् । सबैभन्दा धेरै बागमती प्रदेशमा देखापरेका छन् । नेपालको ७७ जिल्लामध्ये दार्चुलामा सबैभन्दा धेरै देखापरेको छ । दोस्रोमा धादिङ तेस्रोमा सुनसरी छ । जनवरी १ देखि जुन ३०, २०२३ सम्म मोरङमा १८ जना बिरामी देखापरेका छन् । यो रोग खास गरेर बर्खामा बढी देखापर्छ । यो शहरीकरण हुँदै गरेको क्षेत्रमा बढी देखिने गरेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार डेंगीको संक्रमण दर बढ्दो क्रममा छ । वार्षिक देखि चार सय मिलियनमा संक्रमण भएको छ भने मृत्युदर एक प्रतिशत भन्दा कम छ ।सन् १९७० अगाडि केवल नौं मुलुकमा यसको संक्रमण थियो । फैलिएर अहिले एसियाका ७० प्रतिशत मुलुकमा पुगिसकेको छ । सन् २०१९ मा सबैभन्दा धेरै डेंगीका बिरामी देखापरेका थिए । फ्रान्स क्रोएसियामा सन् २०१० मा पहिलो पटक डेंगीको बिरामी देखिएको थियो ।कोमलराज रिजालको समूहले गरेको अनुसन्धानमा डेंगी संक्रमणलाई नयाँ उदाउँदो जनस्वास्थ्य समस्याको रुपमा लिएको छ । जसलाई नियन्त्रण गर्नको लागि वातावरणीय सरसफाईको प्रमुख योगदान हुन्छ ।
डेंगी ज्वरो अतितीव्र विषाणुजन्य रोग हो । यसका लक्षणहरु अचानक ३ देखि ५ दिन सम्म उच्च ज्वरो आउनु, अति नै टाउको दुख्नु, मांशपेसी तथा जोर्नीहरु दुख्नु, आँखा दुख्नु, खाना अरुची हुनु, शरीरमा डाबर आउनु, शरीरमा सुरुमै रातो बिमिरा आउनु आदि हुन् ।यससँगै बिरामीको नाक तथा गिजाबाट रगत बग्दछ र छालामुनी रक्तश्राप समेत हुने गर्दछ । डेगीँमा हिमोराजक फिवर भएर हुने मृत्युदर बढी छ भने अन्य फिबरमा कम हुने गर्दछ । डेंगी फिबर निश्चित भएमा तुरुन्त अस्पतालमा भर्ना गरी उपाचार गराउनु पर्दछ । यो लामखुट्टे दिउँसोको समयमा धेरै सक्रिय रहन्छ । तसर्थ दिउँसोको समयमा पनि लामखुट्टेको टोकाइबाट बच्नु पर्दछ । गर्भवती आमाबाट बच्चामा पनि यो रोग सर्न सक्ने सम्भावना हुन्छ ।
यदि गर्भवती महिलामा डेंगी संक्रमण भएमा समय अगावै बच्चा जन्मिने, कमतौलको बच्चा जन्मिन सक्ने सम्भावना हुन्छ ।डेंगीको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा उपयुक्त हुन्छ । लामखुट्टेले आफ्नो जिवनकालमा विभिन्न स्थानमा गएर ८०० भन्दा बढी अण्डा पार्ने भएकोले यसको लार्भालाई नष्ट गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।डेंगी ज्वरो रोकथाम गर्न सकिने जनस्वास्थ्य समस्या भएकोले यसको रोकथाम तथा नियन्त्रणका लागि केवल राज्य मात्र उक्तरदायी भएर हुँदैन आमनागरिक पनि सचेत रहनु पर्छ ।