विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरस्थित विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गरेका छन् ।
सोमबार मेयर कोइरालाले विराटनगर–८ स्थित महेन्द्र मावि र विराटनगर–९ स्थित सरस्वती माविको अनुगमन गरे । शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईसहितको टिमलाई लिएर विद्यालय पुगेका मेयर कोइरालाले विद्यार्थीहरुसँग अन्तरक्रियासमेत गरेका थिए ।
उनले विद्यालयको भौतिक संरचनाको अवस्था, शैक्षिक गुणस्तर, विद्यार्थीको नियमितता, शिक्षकहरुको लगनशीलता, गृहकार्यको अवस्थालगायतका विषयमा जानकारी लिएका थिए ।
विद्यालयस्तरदेखि नै शैक्षिक गुणस्तर सुधार गर्न सकिएमात्रै गुणस्तरीय जनशक्ति उत्पादन हुने उनले बताए । मेयर कोइरालाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि महानगरले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिए । अनुगमनसँगै मेयर कोइरालाले विद्यार्थीहरुसित अन्तरक्रियासमेत गरेका थिए । उनले आफू विद्यालय पढ्दाका अनुभवसमेत सुनाएका थिए ।
अन्तरक्रियापछि मेयर कोइरालाले शिक्षकहरुसित विद्यार्थीहरुले उठाएका विषयमा छलफल गरेका थिए । विराटनगरका सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने योजना महानगरले बनाएकोे र विद्यालयको कुशल सञ्चालनका लागि अनुगमनलाई निरन्तरता दिने उनले बताए ।

