इलाम । प्रेस सेन्टर इलामको आयोजनामा भएको संघीयता प्रर्वद्धनमा पत्रकारिता र स्थानीय तहको सहकार्य बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले समाजमा भएका कमी कमजोरीलाई संचारको माध्यमबाट सजग गराउनु पर्नेमा जोड दिइएको छ ।
इलाम नगरकी उपप्रमुख विष्णु लिम्बू दाहालले कमजोरी औल्याउने सञ्चार माध्यमको दायित्व भएको बताएकी थिइन् । उनले केही दिन अघि रसायनिक मलको बिषयमा पत्रकारले स्थानीय सरकार र प्रशासानलाई सजग गराएको भन्दै धन्यवाद व्यक्त गरिन् ।
प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष विनोद घिमिरेले स्थानीय सरकारले संघलाई मात्र नताकेर आफ्नो आन्तरिक आम्दानी बढाउन लाग्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा स्थानीय तह शसर्त अनुदान पर्खिएर कोठे योजना बनाउन लागेको बताए । उनले पत्रकार सरकारको स्थायी प्रतिपक्षी भए पनि नकारात्मक रुपमा मात्र नभएर भएका सकारात्मक कामलाई समेत समाचारको रुपमा दिनुपर्ने बताए ।
कार्यक्रममा संसदीय पत्रकार मञ्च प्रदेश समितिका संस्थापक अध्यक्ष एवम प्रेस सेन्टर नेपालका सल्लाहकार गणेश लम्सालले संघीयता प्रर्वद्धनमा पत्रकारको भुमिका बारे कार्यपत्र प्रस्तुत गर्दै स्थानीय सरकारले गरेको राम्रा कामहरुको उचित प्रचारपसार गर्न कन्जुस्याई गर्न नहुने बताए । उनले स्थानीय सरकारले भेटघाट, अनुगमन मार्फत समस्या उजागर गर्न नागरिकलाई पनि पत्रकारितामा बढि भन्दा बढि सहभागी गराउनुपर्ने बताए । पालिकाले योजना तर्जुमा, कार्यान्वयन, अनुगमन मूल्यांकन र उपभोगमा पत्रकारहरुलाई पहुँच दिनुपर्ने बताए । सुचनाको हक कार्यान्वयनका लागि नागरिकहरुलाई जिम्मेवार बनाउन स्थानीय सरकार अघि बढ्नुपर्ने उनले बताए । स्थानीय सरकारहरुले संचार नीति बनाउनु तर्फ लाग्न सुझाव दिए ।
इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले अबको पत्रकारिता विकास पत्रकारिता तर्फ जानुपर्ने बताए । नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले पछिल्लो समय पत्रकारिता क्षेत्रले साख गुमाउँदै गएको बताए । उनले लोकतन्त्र र संघीयता ल्याउन भुमिका खेलेका पत्रकारहरुले प्रतिपक्षीको रुपमा भुमिका खेल्न नसकेको बताए । उनले राजनीतिक दलका कार्यकर्ताहरु सत्तामा पुगेपछि शासक बन्ने प्रवृति देखिएकाले त्यसको सुधारका लागि पत्रकारहरुको कलम चल्नुपर्ने बताए ।
प्रेस चौतारी इलामका अध्यक्ष भिम चापागाईले लोकतन्त्र र गणतन्त्र स्थापित गर्नका लागि संचारजगतले खेलको भुमिकालाई विसर्न नहुने बताए । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सहसचिव सृजना श्रेष्ठले महिलाहरुको पत्रकारिता क्षेत्रमा आर्कषण घट्दै गएको बताइन् । उनले पत्रकारिता क्षेत्रमा महिलाहरुलाई आकर्षणको कार्यक्रम आवश्यक देखिएको बताइन् ।
प्रेस सेन्टर इलामको अध्यक्ष बुद्धमाया सोङ्मीको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगर उपप्रमुख बिष्णु लिम्बु दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

