विराटनगर । सत्ता गठबन्धनले नेपाली काँग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेपछि उनका पक्षमा बहुमत पुग्छ कि पुग्दैन भन्ने अनुमान र आशंका उच्च भएको छ ।

थापाका पक्षमा प्रदेशसभामा बहुमत पुग्न कम्तीमा चार जना झापाली नेताहरुबीचको लामो र तिक्ततापूर्ण राजनीतिक सम्बन्धको पटाक्षेप जरुरी छ । ती चार पात्र हुन् काँग्रेस नेता कृष्णप्रसाद सिटौला र उद्धव थापा, राप्रपा अध्यक्ष  राजेन्द्र लिङ्देन र नेता भक्तिप्रसाद सिटौला । यो सम्भावनाभन्दा अघि आजभन्दा एक दशकअघिको एउटा विन्दूमा फर्कनुपर्छ, जहाँबाट अहिलेको सम्भावनाबारे केही अड्कल लगाउन सकिन्छ ।

२०७० को दोस्रो संविधानसभा चुनावका लागि उम्मेद्वारी दर्ता हुँदैथियो । झापा सदरमुकाम चन्द्रगढीमा उम्मेद्वारी दर्ताको उल्लास थियो । उम्मेद्वारहरुसहितको दलका र्यालीले चन्द्रगढी गुन्जायमान थियो । त्यही उल्लासका बीच नेपाली काँग्रेसलाई झस्काउने एउटा हल्ला फैलियो ।  काँग्रेस नेता भक्तिप्रसाद सिटौला काँग्रेस छाडेर राप्रपाबाट उम्मेद्वार बन्दैछन् भन्ने हल्लाले काँग्रेस वृत्तमा खैलाबैला मच्चियो ।

 नेपाल विद्यार्थी संघको सहमहामन्त्री बनिसकेका र झापा काँग्रेसमा राम्रै प्रभाव राख्ने नेता सिटौलाको बहिर्गमनको चोट चुनावमा देखापर्ने भयले नेताहरु चिन्तित थिए । उम्मेद्वारी दर्ता सुरु भयो । केहीबेर अघिको हल्ला अन्ततः सत्य सावित भयो । चन्द्रगढी विमानस्थलबाट सोझै निर्वाचन अधिकृतको कार्यालय पुगेर झापा २ मा  राप्रपाबाट उम्मेद्वारी दर्ता गरेपछि मात्रै भक्ति सिटौला सार्वजनिक भए । उम्मेद्वारी दर्तापछि सिटौलाको वरिपरि राप्रपा कार्यकर्ता थिएनन्, जति काँग्रेस कार्यकर्ताबाट उनी घेरिए । कसैले अंगालो हाले, कसैले उनीप्रति सहानुभूति दर्शाए । कसैले हतारमा निर्णय नलिएको भए हुन्थ्यो भन्दै सम्झाए ।

 ‘मेरो राजनीतिक जीवन नै समाप्त पार्ने षड्यन्त्र सहेर अब काँग्रेसका बस्न नसक्ने भएपछि म राप्रपातिर लागेँ’, सिटौलाले आफ्ना साथीहरुलाई त्यहाँ भनेका थिए ‘मेरो बाध्यता तपाइँहरुलाई थाहै छ । मलाई क्षमा गरिदिनुहोला ।’ यति भनेर उनी रोए, वरिपरि रहेका काँग्रेस कार्यकर्ताका आँखा पनि ओभानो रहेनन् ।

यसरी आँखाभरी आँसु पार्दै आफूलाई काँग्रेस छाड्न बाध्य पार्ने व्यक्ति कृष्णप्रसाद सिटौला हुन् भनेर भक्तिले बारम्बार सार्वजनिक रुपमै भनिसकेका छन् ।  अहिले पनि भक्तिलाई राप्रपामा पुर्याउने काम सिटौला र उनको टिमले गरेको बताउने काँग्रेस कार्यकर्ता झापामा प्रशस्त भेटिन्छन् । यी दुई सिटौलामध्ये भक्ति नाताले कृष्णप्रसादका काका हुन् । अहिले पनि पारिवारिक जमघटमा भेट हुँदा भक्तिको हातमा कृष्णप्रसादले ढोग्छन् ।

पारिवारिक रुपमा निकटको साइनो भए पनि राजनीतिक रुपमा भने यी दुई सिटौलाको ठ्याक कहिल्यै मिलेन । काँग्रेस केन्द्रमा बलियो प्रभाव राख्ने नेता सिटौलासँग मन नमिले पनि गाउँका कार्यकर्ता माझ भने भक्ति अझै जोडिएकै छन् । उनले २०७९ को निर्वाचनमा झापा क्षेत्र नं ४ को प्रदेश सभा २ बाट  जित हासिल गर्दा धेरै  काँग्रेस कार्यकर्ताले सघाएका थिए । जबकि राप्रपाको गठबन्धन एमालेसँग थियो ।

 झापामा सिटौला र उनको टिमको निरन्तर पेलाइमा परेर १० वर्ष अघि काँग्रेस छाडेर राप्रपा प्रवेश गरेका भक्ति सिटौलासामु यतिबेला उनै सिटौलासहितका काँग्रेस नेताहरु सहयोगको याचना गरिरहेका छन् ।

कृष्णप्रसाद सिटौलाका सहयोगीमध्येका एक काँग्रेस कोशी संसदीय दलका नेता उद्धव थापालाई सत्ता गठबन्धनले मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । राप्रपालाई मनाउने जिम्मेवारी पनि थापालाई नै दिएको छ। प्रदेशसभाको प्रतिकूल गणितका कारण थापालाई मुख्यमन्त्री बन्न राप्रपा मनाउनै पर्ने बाध्यता छ । यतिबेला राप्रपा कोशी संसदीय दलको नेता तिनै भक्ति सिटौला छन्, जसलाई १० वर्ष अघि थापासमेतको  सिटौला टिमले काँग्रेस छाड्न बाध्य पारेको थियो ।

 झापाली काँग्रेस नेताहरुका अनुसार २०७० को दोस्रो संविधानसभा चुनावमा काँग्रेस नेता भक्ति सिटौलाले  झापा क्षेत्र नम्बर २ बाट टिकटको आकांक्षा राखेका थिए । टिकटका लागि उनी पार्टीका नेताहरुकहाँ धाइरहेका थिए ।  ‘त्यसबेला सबै नेताहरुले टिकट तिम्रै हो भनेर भक्ति दाईलाई आश्वस्त पारेका थिए’ अहिले काँग्रेस महाधिवेशन प्रतिनिधि रहेका झापाका एक नेताले भने ‘उहाँ ढुक्क जस्तै हुनुहुन्थ्यो । तर, जब टिकट बाँड्ने दिन आयो उहाँले पाउनु भएन । सुधीर शिवाकोटीले टिकट पाउनुभयो ।’

उनका अनुसार लगत्तै भक्ति सिटौलासहितको टोली नेता विमलेन्द्र निधिलाई भेट्न उनको निवासमै पुगेको थियो । आफ्नो घरैमा आइपुगेको सिटौलासहितको झापाली टोलीलाई निधिले ‘तिम्रो टिकट कृष्णजी (सिटौला)ले खोसेको’ भन्ने जानकारी दिए । त्यसबेला झापामा सात वटा निर्वाचन क्षेत्र थिए । काँग्रेसका ती नेताका अनुसार काँग्रेस केन्द्रमा प्रभावशाली उपस्थितिमा रहेका नेता सिटौलाले नाताका काका भक्तिलाई टिकट दिनै नहुने अडान राखेका थिए । ‘अरु जसलाई दिए पनि भयो । तर, भक्तिलाई चाहिँ कुनै पनि क्षेत्रमा हुँदैन भनेर उहाँले अडान लिनुभएछ’, उनले भने ‘त्यसपछि अब कसरी अघि बढ्ने भनेर छुटेका हामी एकैपटक उम्मेद्वारी दर्तास्थलमा भेट भयो । उहाँ राप्रपामा प्रवेश गरिसक्नुभएछ ।’

नेविसंघको राजनीतिबाट उदाएका भक्ति सिटौलालाई भतिजा सिटौलाको टिमले झापामा निरन्तर खेदेको काँग्रेस नेताहरु नै बताउँछन् । ‘उहाँलाई महाधिवेशन प्रतिनिधिमासमेत हराउने काम भयो’, काँग्रेस नेताहरु भन्छन् ‘कहीँ पनि अवसर नदिइएपछि उहाँले काँग्रेस छाड्नुभएको हो । पछि केन्द्रीय सदस्य दिने भनेर बोलाउँदा उहाँ मान्नुभएन ।’

त्यसो त कृष्णप्रसाद सिटौलाको सधैंको दबदबा रहेको झापा काँग्रेसमा उनले जिल्ला सभापति उठेर चुनौती दिने प्रयास गरेका थिए । तर, सुधीर शिवाकोटीसँग  पराजित भए । उनलाई चक्रप्रसाद बाँस्तोलाको समर्थन थियो । यद्यपि नेता सिटौला, शिवाकोटी, थापाहरुसहितको बलियो टिम सामु अर्का सिटौला र बाँस्तोला टिमको केही जोर चलेन ।

सिटौला समूहको दबदबा झापामा कति उच्च थियो भने हाल महामन्त्री रहेका विश्वप्रकाश शर्माले जिल्ला सभापतिमा हाल प्रदेशका सभापति रहेका उद्धव थापासँग पराजय ब्यहोरेका थिए ।  कृष्णप्रसाद सिटौलाका मुख्य सहयोगीमध्येका एक उद्धव थापालाई सत्ता गठबन्धनले मुख्यमन्त्रीका रुपमा अघि सार्नेबित्तिकै धेरैको चासो अब राप्रपाले के गर्ला भन्नेमा थियो, अझै छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयसीमा असार २१ साँझ ५ बजेसम्मको छ । त्यसबेलासम्म राप्रपालाई साथमा नल्याउने हो भने थापा मुख्यमन्त्री बन्न संकट छ । बनिहाले पनि सरकारले विश्वासको मत पाउने सम्भावना कमजोर छ । राप्रपाले अहिलेसम्म औपचारिक रुपमा मुख खोलिसकेको छैन । काँग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग कोशी सरकार बनाउन सहयोग मागिसकेका छन् । अध्यक्ष लिङ्देन तिनै नेता हुन्, जसको झापामा सबैभन्दा ठूलो राजनीतिक प्रतिष्पर्धा काँग्रेस नेता सिटौलासँगै छ ।

त्यसो त अब के गर्ने भन्ने टुंगो गर्ने जिम्मा राप्रपा अध्यक्ष लिङ्देनले पाएका छन् । तर,  गठबन्धनले थापालाई अघि सारेपछि राप्रपा प्रदेश संसदीय  दलका नेता भक्तिप्रसाद सिटौला चाहिँ खुसी छैनन् । उनको अभिव्यक्तिमा असन्तोष प्रष्ट प्रकट भइरहेको छ ।

‘हामीसँग कुनै कुरै नगरी गठबन्धनले उद्धव थापाजीको नाममा निर्णय गर्नुभयो । त्यो निर्णयले हामीलाई समेटेन’, राप्रपा नेता सिटौलाले भने ‘हामी कसैको अह्रनखटनमा चल्ने दल होइनौं । हामी आफ्नै अस्तित्व भएको दल हो । हामीसँग कुनै सरसल्लाह नगरी गठबन्धनले निर्णय लिँदा हामीले अपनत्व महसूस गरेनौं । यसले हाम्रो  आत्मसम्मान कायम गर्दैन ।’

प्रदेशसभाको प्रतिकूल गणितलाई आधार बनाएर राप्रपाले प्रदेश सरकारको नेतृत्व लिन चाहेको बजार हल्ला व्याप्त छ । सिटौला भने आफूहरुले नेतृत्वको दाबी नगरेको बताउँछन् । ‘हाम्रो नेतृत्वको दाबी होइन’, उनले भने ‘तर, गठबन्धनले हामीसँग  सहकार्य चाहेको भए वा हो भने औपचारिक राजनीतिक कुराकानी हुनुपथ्र्यो । त्यस्तो कुनै कुरै नगरी, सहमतिको मोडालिटी के हुने भन्ने कुरै नगरी मुख्यमन्त्रीको नाम अघि आयो । यसले हामीलाई समेट्ने काम गरेन ।’

 कुनैबेला झापाली राजनीतिमा देखिएको तिक्तताले पनि अहिले थापालाई समर्थन गर्न आनाकानी गर्नुभएको हो भन्ने प्रश्नमा सिटौलाले व्यंग्यात्मक उत्तर दिए । ‘म मा कुनै व्यक्तिगत आग्रह वा पूर्वाग्रह छैन’, उनले थपे ‘तर, हिजो आफैले लखेटेको भक्तिजीबाट कसरी सहयोग माग्ने भन्ने अफ्ठयारो उहाँहरुलाई भएको हुनसक्छ ।’

काँग्रेस कोशीका प्रमुख सचेतक भूपेन्द्र राईले भने राप्रपासँग छलफल भइरहेको र त्यो सकारात्मक दिशामा रहेको दाबी गरेका छन् । ‘हामी प्रदेश प्रमुखले दिएको समयभित्र दाबी पेश गर्ने तयारीमा छौं’, उनले भने ‘त्यसका लागि राप्रपासँग कुरा भइरहेको छ तर टुंगिएको छैन ।’

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतको लागि ४७ सिट आवश्यक पर्छ। काँग्रेससहितको गठबन्धनमा उसको २९, माओवादीको १३ (सभामुखसहित) , एकीकृत समाजवादीको ४ र जसपाको १ सहित ४७ सिट छ । तर, सभामुख सरकार निर्माणको प्रक्रियामा गणना गर्न नमिल्ने एमालेको दाबी छ । संविधानविद्हरुले पनि त्यही भनिरहेका छन्। यदि सभामुखको संख्या गणना गरेर सरकार निर्माण भए पनि विश्वासको मत लिने बेलामा सदनमा बराबरी मत भएको अवस्थामा बाहेक सभामुखले मत दिन नपाउने संवैधानिक प्रावधान छ ।

यस्तो अवस्थामा ६ सिट भएको राप्रपालाई नयाँ सरकार बनाउनका लागि साथ लिन अनिवार्य छ । हाल ४० सिट भएको एमालेको साथमा रहेको राप्रपालाई साथ नलिए मुख्यमन्त्रीमा प्रस्तावित काँग्रेस नेता थापाको सत्तायात्रा सुरु नै नहुने जोखिम उच्च छ । राप्रपा मनाएको खण्डमा भने  उनी मुख्यमन्त्री बन्न सहज हुने अवस्था प्रदेशमा छ ।