लोड हुँदैछ...

मेनु

कांग्रेसले राजनीति गिजोल्न हुँदैन

कांग्रेसले राजनीति गिजोल्न हुँदैन

आम निर्वाचनपछि गएको २४ पुसमा नेकपा एमालेको नेतृत्वमा चार दलीय गठबन्धनको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए । सरकार बनेको छोटो अवधिमै प्रदेश नामकरणको वातावरण बनेपछि त्यसलाई सरकारले सफलताको रुपमा लिएको छ । तर नामकरणपछि उत्पन्न आन्दोलन र असहज परिस्थितिलाई वार्ता र सम्वादका माध्यमबाट समाधान गर्ने उचित प्रयत्न नगर्दा दुई सहयात्री दलहरुले सरकार छोड्ने अवस्था सिर्जना गरिदियो । सरकारमा सहभागी नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी सरकारबाट फिर्ता भएपछि मुख्यमन्त्री कार्कीले १४ असारमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराए ।

संसदको जारी अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको सरकारले सरकारले विश्वासको मत लिनकै लागि असार १४ मा तेस्रो अधिवेशन बोलाएको थियो । असार १४ मा विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गरेपनि मत विभाजनका लागि एक दिन पर सारेर सरकार टिकाउने अन्तिम प्रयास मुख्यमन्त्रीले गरे । तर उनले संसदबाट विश्वासको मत पाउन सकेनन् ।

मतविभाजनका क्रममा मुख्यमन्त्री कार्कीलाई उनको दल एमालेका ४० र गठबन्धनमा रहेको राप्रपाका ६ जना सांसदसमतेले सहयोग गर्दा ४६ मत मात्र पुग्यो । सरकारले विश्वासको मत पुष्टि गर्न नसकेपछि उनी पदमुक्त भएका छन् । अर्को सरकार नबन्दा सम्मका लागि उनी कामचलाउको जिम्मेवारीमा छन् ।

मुख्यमन्त्री कार्की नेतृत्वको सरकार ढलेपछि दलहरुले नयाँ सरकार निर्माणको पहल अगाडि बढाएका छन् । विपक्षी गठनमा रहेका दलहरुले अनौपचारिक छलफल गरिरहेका छन् । तर उनीहरुबीच को मुख्यमन्त्री बन्ने भन्ने सहमति भइसकेको छैन । गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गरिरहेका छन् । कांग्रेसले २९ जना सांसद भएको ठूलो दल भएकोले नेतृत्व दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले पनि सरकार छोडेर नयाँ परिस्थिति बनाएको भन्दै नेतृत्वको दाबी गरेको छ ।

माओवादीको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बन्दा पहिचानवादीहरुसँग साथृक वार्ता अगाडि बढ्ने भन्दै माओवादीले गठबन्धनभित्रका दलहरुको विश्वास लिने प्रयत्न गरिरहेको छ ।
गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले तत्काल मुख्यमन्त्रीको दाबी नभएको प्रष्ट पारेको छ तर दलहरुबीच सहमति बन्न सकेन भने उसले पनि नेतृत्व गर्नुपर्ने परिस्थिति बन्न सक्छ । एक जना मात्र सांसद रहेको जसपाले एउटा रोजेकै मन्त्रालय पाउने करिव निश्चित नै छ । पुनर्जीवित भएको गठबन्धनले मुख्यमन्त्री कार्कीको सरकारले विश्वासको मत गुमाएको दुई दिन बितेपनि अहिलेसम्म कसैले सरकार बनाउन दाबी पेश गरेको छैन । आइतबार अबेरसम्म प्रदेश प्रमुखले सरकार बनाउन दलहरुलाई आह्वान गरिसकेका छैनन् ।

सरकार बनाउन आह्वान भएपनि सत्ताबाट प्रतिपक्ष कित्तामा पुगेको एमालेले सरकार गठनको गणितमा सभामुखको संख्यालाई लिएर बखेडा झिक्ने प्रवल सम्भावना छ । ६ सांसद भएको राप्रपाले समर्थन गरेको खण्डमा यो झमेला नआउन सक्छ र सरकारले सुविधाजन बहुमतसहित अगाडि बढ्ने बाटो तय गर्नसक्छ । तर राप्रपा एक महिनासम्म एमालेसँगै रहेमा नयाँ सरकार गठन प्रक्रिया र त्यसपछिको परिवेशमा पनि अप्ठ्याराहरु देखापर्ने निश्चित छ ।

नागरिकहरुको रगतको बलिदान र पसिनाको अथक संघर्षबाट संघीयता कार्यान्वयनमा आयो । तर पनि अझै प्रदेशको अधिकार र प्रदेशका दलहरु स्वायत्त हुन सकेका छैनन् । अझै प्रदेशको सत्ताको खटनपटन पार्टीका केन्द्रीय नेताहरुबाट हुँदै आइरहेको छ । र, अब कोशी प्रदेशमा पनि फेरि त्यही नै हुनेछ । गठबन्धनमा रहेका केन्द्रीय नेताहरुको भागवण्डाको निर्णय अनुसार नै सायद कोशी प्रदेशमा पनि मुख्यमन्त्री र मन्त्रीहरु नियुक्त हुनेछन् । यसैले दलका नेताहरुको काठमाण्डौ धाउनै पर्ने बाध्यता देखिन्छ ।

कोशी प्रदेशलाई मध्यावधिमा लगेर संघीयता बदनाम हुन नदिने तर्फ अब कांग्रेस र माओवादी लगायतका गठबन्धनका दलहरुले ध्यान दिनुपर्छ । सरकारलाई आलोपालो चलाउने विधिबाट भएपनि पुरै समय संसदलाई लैजान जरुरी छ । प्रदेशवासीलार्य विकास र सुशासनको अनुभूति दिलाउन सरकार लाग्नुपर्छ । किनभने प्रदेश सभाको दोस्रो कार्यकालको भर्खर ६ महिना मात्र वितेकेको छ । अझै साढे चार बर्ष शुसानका लागि काम गरेर देखाउन पर्याप्त समय बाँकी नै छ । संघीयताका लागि संघसँग लिनुपर्ने साझा र एकल अधिकारहरु लिएर आम जनतालाई सघीयताको पूर्ण अनुभूति हुनेगरि काम गर्नुपर्ने जिम्मेवारी पनि नयाँ गठबन्धनलाई छ । असन्तुष्ट पहिचानपक्षधरहरुसँग सार्थक संवाद गरेर नामाकरणको बिषय समाधान गर्नुपर्ने अर्को चुनौतीबाट नयाँ गठबन्धन सरकार पछि हट्न त झन् मिल्दैमिल्दैन । निर्माण भैसकेको प्रहरी ऐन कार्यान्वयन गराउने, निजामती ऐन निर्माण गर्ने, सञ्चार विधेक पारित गराउनेदेखि बजेट प्रतिस्थापन गरेर प्रभावकारी रुपले कार्यान्वयन गराउने जिम्मेबारी पनि नयाँ सरकारको हुनेछ ।

फेरि पनि गठबन्धनमा रहेका दलहरु सत्ताको भागबण्डालाई लिएर लुछाचुँडीमा लागिरहे भने संघीयता बेकार हो, प्रदेशको काम छैन, खारेज गर्नुपर्छ भन्नेहरुलाई झन् धेरै बल पुग्नेछ । यसबारे दलहरु गम्भीर बनुन् ।

अन्तमा ठूलो दल हुँ भनेकै भरमा काँग्रेसले गठबन्धनको बतावरण नबिगारोस् । आफूलाई पुरानो, त्यागी र विवेकशील पार्टी हो भन्ने सिद्ध गर्दै सरकारबाट बाहिरिएर आएको माओवादी केन्द्रको नेतृत्वमा पहिलो सरकार निर्माण गरोस् । बरु आलोपालो सम्झौता गरेर अर्को दुई वर्ष आफूले नेतृत्व लिएर आम निर्वाचन गराओस् । अँ.. यदि माओवादी केन्द्रले साझा सहमती अनुसार काम गरेन, आम जनतालाई शुसासन दिन सकेन, संघसँग एकल र साझा अधिकारहरु लिन पहल गरेन र मनमौजी शासन गरिरह्यो भने गठबन्धनबाटै अर्को सरकार बनाउने विकल्प पनि कांग्रेससँग जीवितै छ । यसैले मेरो विचारमा सत्ताका लागि कांग्रेसले अर्घेल्याइ गरेर गठबन्धन नै भाड्ने गरि कोशी प्रदेशको राजनीति गिजोल्नु उचित हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।