उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीले पछिल्लो समय लागुऔषध जालो तोड्ने अभियानमा क्रियाशील भएको छ । कार्यालयका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङको कमाण्डमा लागुऔषधविरुद्धको अभियानले गति लिएको हो ।
उर्लाबारी नगरमा लागूऔषध सेवन र कारोबार बढी हुने गरेको गुनासो बढेपछि विशेष योजना नै बनाएर प्रहरीले आक्रमक कारबाही अगाडि बढाएको छ । गत वर्ष लागुऔषधतर्फ कुनैपनि मुद्दा नचलाएको उर्लाबारीले पछिल्लो समय लागुऔषध कारोबारी र प्रयोगकर्ताहरु धमाधम पक्राउ पर्न थालेको छ ।
प्रहरीले एक महिनादेखि आक्रमणका रुपमा बिशेष अभियान चलाएपछि कारोबारीहरु धमाधम प्रहरीको फन्दामा परेका हुन् । प्रहरी निरीक्षक नेम्बाङले लागुऔषधविरुद्ध प्रहरीले अभियान नै चलाएको बताए । ‘लागुऔषध कारोबारीहरुको सञ्जाल तोड्न हामीले आक्रमक रुपमा अभियान चलाएका छौं, त्यसबाट केही सफलता समेत मिलेको छ’ उनले भने ।
यस अवधिमा प्रहरीले एक दर्जन बढी लागुऔषधका मुद्दा चलाएको छ । गाँजा, ब्राउन सुगर, नियन्त्रित औषधि बिक्रेता तथा प्रयोगकर्ता पक्राउ परेका हुन् ।
यस्तै, आइतबार उर्लाबारी–१ झारसादी स्थित दिपेश धिमालको घरमा नियन्त्रित लागुऔषधको खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । नियन्त्रित औषधि र नगद १९ हजार ६०० रुपैयाँ सहित प्रहरीले उर्लाबारी नगरपालिका वडा नं.१ का दिपेश धिमाल, सोही ठाउँका मेघराज माझी, धिरेन राई र वडा नं.५ का समिर बर्देवालाई पक्राउ गरेको थियो । उनीहरुलाई आवश्यक कारवाहीको लागि औषधि व्यवस्था विभाग विराटनगर मोरङमा बुझाइएको प्रहरीले जनाएको छ । सोमबार उर्लाबारी नगरपालिका वडा नं.३ थापाचोक स्थित प्रभु तामाङको घरमा नियन्त्रित औषधि बिक्री वितरण तथा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा दुई जनालाई पक्राउ गर्यो ।
उर्लाबारी नगरपालिका वडा नं.३ थापाचोक बस्ने प्रभु तामाङ र पथरीशनिश्चरे नगरपालिका वडा नं.२ का बिबेक दर्नाललाई पक्राउ गरेको हो । तामाङको घरकोठामा खानतलासीको क्रममा झोलाभित्र लुकाइछिपाइ राखेको अवस्थामा नियन्त्रित औषधि भेटिएको र आवश्यक कार्वाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।