विराटनगर । मोरङको थलाहामा रहेको भैरव गणको नेतृत्वमा पाँच दिने हातेमालो कार्यक्रम भएको छ । स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी साथै विपद व्यवस्थापनसँग सम्बद्ध निकायसँग एकआपसमा जानकारी आदनप्रदान गर्ने उद्देश्यले नेपाली सेनाको भैरव गण थलाहामा उक्त कार्यक्रम गरिएको हो ।

असार ५ गतेदेखि ९ गतेसम्म हातेमालो कार्यक्रम गरिएको हो । यस्ता कार्यक्रम नेपाली सेनाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको भैरव गणका गणपति प्रमुख सेनानी अमृत थापा मगरले जानकारी दिए ।

उनका अनुसार यो कार्यक्रमले निरन्तरता पाएको पाँच वर्ष पूरा भएको छ । ‘सहभागी सम्पूर्ण सरोकारवाला निकायलाई अभ्यास सम्बन्धि जानकारी दिनुको साथै सरोकारवाला निकायबाट आ–आफ्नो कार्यालयको काम जिम्मेवारी साथै तयारीको बारेमा प्रस्तुतीकरण गरिएको थियो,’ प्रमुख सेनानी थापाले भने, ‘विपद्को काल्पनिक परिस्थितिको परिकल्पनामा आधारित कथामा सहभागिताहरुलाई प्रदेश, जिल्ला स्थानीय आपतकालीन सञ्चालन केन्द्र लगायतका समूहमा विभाजन गरेर विपतका परिस्थितिमा कसरी काम गर्न सकिन्छ भनेर छलफल गरिएको थियो ।’


हातेमालो कार्यक्रम प्रभावकारी रहेको सहभागीहरुले धारणा राखेका थिए । कटहरी गाउपालिका प्रमुख देवराज चौधरीले हातेमालो कार्यक्रमले विपतमा सुरक्षाकर्मी, संचारकर्मी रेडक्रस जनप्रतिनिधिहरुको सहकार्य महत्वपूर्ण रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले विपतको समयमा सबैलाई कर्तव्य थाहा हुँदाहुँदै पनि हातेमालो कार्यक्रमले थप महसुस गराउने काम गराएको बताए । बेलाबेला सचेतनामूलक कार्यक्रम गरे सहयोग मिल्ने साथै सामूहिक काम कसरी गर्ने भन्ने थाहा हुने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला स्वास्थ कार्यालय, रेडक्रस सोसाइटीलगायतको विपद् फोकल पर्सनहरुको सहभागीता थियो ।