हाइटेन्सनमा चढेका युवालाई ओह्राल्न धनकुटा पुगेका अध्यक्षलाई फर्काइदै

विराटनगर । निर्माण कार्य गुणस्तरीय हुनुपर्ने माग सम्बोधन नगरेको भन्दै हाइटेन्सन लाइन प्रशार भएको पोलमा चढेका मोरङ बुढीगंगाका युवकलाई त्यहाँबाट झार्न सुरक्षाकर्मीहरुले प्रयास जारी राखेका छन् ।

सुरक्षाकर्मीले निरन्तर प्रयास गरेपनि उनी पोलबाट झर्न मानेका छैनन् । १ लाख ३२ हजार भोल्ट बिद्युत दौडिरहेको पोलमा उनी ७ घण्टादेखि बसिरहेका छन् । पोलमा मानिस चढेको जानकारी गराएको भएपनि नेपाल विद्युत प्राधिकरणले बिजुली काटेको छैन ।

उद्दार गर्न  १५/२० मिनेटका लागि विद्युत बन्द गर्न सकिने तर लामो समय विद्युत बन्द गर्न नसकिने प्राधिकरणले सुरक्षाकर्मीलाई जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालले युवकलाई पोलबाट तल झार्ने प्रयास भइरहेको बताए । उनले भने ‘हामी माथी चढेर उनलाई झार्न सक्छौं तर हामी उद्दारका लागि माथि चढ्दा उनी हाम्फाल्ने खतरा छ त्यसैले उद्दार गर्न कठिनाइ भएको छ ।’

बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका हुन् ।

गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् । उनी शनिवार बिहान ६ बजे चढेको स्थानीयले बताएका छन । उनी हाइटेन्सन लाइनको पोलमा चढेको सात घण्टा भएको छ ।

उनले गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिहरुले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने विषयमा छलफल गर्न तयार भए पोलबाट झर्ने सर्त राखेका छन् । तर आज गाउँपालिका अध्यक्ष र वडाध्यक्ष जिल्ला बाहिर धनकुटा गएका छन् । जसले गर्दा उनको माग पुरा गर्न सकिएको छैन । डिएसपी दाहालले भने ‘हामीले धनकुटासँग समन्वय गरेर गाउँपालिका अध्यक्ष लगायतका जनप्रतिनिधिहरुलाई फर्काउने पहल गरेका छौं, उहाँहरुले छिट्टै आउँछौं भन्नुभएको छ । त्यसपछि अवस्था सहज होला ।’

 

शनिबार, ३० बैशाख, २०८०, दिउँसोको १२:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर