प्रा. कृष्ण पोखरेल
अहिले नक्कली भुटानी शरणार्थीको विषयलाई फरक ढङ्गले हेर्नुपर्छ । अहिले भइरहेको भ्रष्टाचार भनेको पावरमा हुनेले आफ्नो शक्तिलाई समाजको हितको लागि, राज्यको हितको लागि नभएर आफ्नो हितको लागि दुरुपयोग गरेको छ । त्यो अख्तियार दुरुपयोग हो । अहिले सार्वजनिक भएको भ्रष्टाचार राज्य विरुद्धको अपराध मात्रै होइन मानवता विरुद्धको अपराध हो । कुनै एउटा मुुलुकको नागरिक भनेको राज्यको सदस्य हो । नागरिक सार्वभौम व्यक्ति हो ।
नागरिक सार्वभौम सत्ता सम्पन्न हुन्छ भनेको के हो भने उसको एउटा भोटले शासनको बागडोमा कोही एक जना पुग्दछ भने अरु केही गल्लीमा पुग्दछन् । त्यो सार्वभौम नागरिकलाई अनागरिक बनाएर अर्को मुलुकमा पठाउने कुरा कल्पना बाहिरको कुरा हो । त्यसकारण यो मानवताविरुद्धको अपराध हो । त्यसैले यसका विरुद्धमा लाग्नु हामी सबैको दायित्व हो । सामान्यतयाः मानिसलाई के लाग्दछ भने आर्थिक क्षेत्रमा, औद्योगिक क्षेत्रमा मात्रै भ्रष्टाचार हुन्छ । होइन, भ्रष्टाचारको जरो भनेको राजनीतिमा हुन्छ । म राजनीतिशास्त्रको विद्यार्थी हुँ । ४० वर्ष पढाएँ मैले । झापा, विराटनगर, काठमाडौंमा पढाएको छु । मैले पाएको निचोड के हो भने जुनसुकै भ्रष्टाचारको पनि जरो भनेको राजनीतिमा हुन्छ । जबसम्म राजनीति सङ्लिँदैन तबसम्म भ्रष्टाचार हट्दैन । भ्रष्टाचार गर्नेको न जाति हुन्छ, न कुनै लिङ्गभेद हुन्छ, न कुनै पार्टी हुन्छ ।
भ्रष्टाचार भनेको भ्रष्टाचार नै हो । यसका विरुद्धमा लाग्नुपर्छ । जसरी हात धोयो भने हात सफा हुन्छ । खुट्टा धुँदा खुट्टा सफा हुन्छ । तर, टाउकोबाट पानी खन्यायो भने शरीर सबै सफा हुन्छ । त्यस्तै गरी राजनीति भनेको टाउको हो । त्यसकारण राजनीति सङ्लो हुनुपर्दछ । राजनीतिको आड नभइ प्रशासनमा पनि भ्रष्टाचार बढ्दैन । अहिलेकै केश हेर्ने हो भने अनुभव नभएको टेकनारायण पाण्डेलाई गृहमन्त्रालयको सचिव बनाइयो । त्यो के हो त भन्दा त्यहाँ राजनीतिक चलखेल भयो । उनी पनि त्यहाँ जान तयार भए । त्यो काम गर्न मञ्जुर भए । जसले गर्दा उनलाई नै सामेल गराएर यो काम भयो । त्यहाँभन्दा अगाडि भूमिसुधार कार्यालयमा हुँदा पनि उनले नीतिगत भ्रष्टाचारको अभ्यास गरे ।
०२१ सालमा भूमिसुधार लागू कृषि उद्यम गर्ने हो भने हदबन्दी लाग्दैन भन्ने कानूनी व्यवस्था गरियो । त्यही कानूनको आधारमा झापामा चिया उद्योग खोलियो । त्यो ऐनमा के प्रष्ट व्यवस्था थियो भने त्यो उद्योग बन्द भयो भने त्यो जग्गा राज्यको हुनेछ । प्रष्ट कानून छ । त्यहाँ १ हजार विगाहाभन्दा बढी जग्गा थियो । तर, त्यो कानून परिवर्तन गर्ने काममा यि नै पाण्डे संलग्न भए । कानून परिवर्तन गरेर त्यति नै जग्गा अन्त किनेर चिया बगान सार्न पाइने बनाइयो । त्यो विर्तामोडसँग जोडिएको चिया उद्योग थियो । त्यस्तो प्राइम लोकेसनको जग्गा बेच्न पाउने बनाउन त्यहाँ पोलेसि करप्सन भयो । त्यो भूमि सम्बन्धी ऐनमै संशोधन गरेर सट्टाभर्ना गरेर जान सकिने र बेच्न सकिने बनाए । त्यो पोलिसी करप्सन कसले गर्छ भन्दा राजनीतिक नेताले गर्छन् । त्यसलाई फिडब्याक कसले दिन्छ भन्दा कर्मचारी प्रशासनले दिन्छ ।
आज प्रायः युवाहरुमा राजनीतिप्रति वितृष्णा छ । राजनीति भनेको हाम्रो सरोकारको कुरा होइन भन्ने उनीहरुको सोच छ । तर, एउटा महत्वपूर्ण कुरा के छ भने राजनीति मन पराए पनि मन नपराएपनि त्यसको प्रभावबाट तपाई मुक्त हुन सक्नुहुन्न । जसरी काललाई पर सार्न सकिँदैन त्यसरी नै राजनीतिलाई पनि टार्न सकिँदैन । त्यसको अनुकूल वा प्रतिकूल प्रभावमा प्रत्येक नागरिक पर्दछ । त्यकारण राजनीति जान्नु पनि पर्छ र राज्यका नीतिहरु सही बनाउनका लागि आन्दोलनमा उत्रन जरुरी हुन्छ भने सडकमा आउनु पनि पर्छ । मान्नुहोस् तपाई बक्सिङ रिङमा हुनुहुन्छ ।
तपाईलाई राजनीतिले बक्सिङ हानिरहेको छ । तपाईलाई राजनीति अलिकति थाहा भयो भनेन न रोक्नु हुन्छ । थाहा नै पाउनु भएन भने तपाईले रोक्न सक्नुहुँदैन । त्यसकारण राजनीति बुझेर राज्यलाई खबरदारी गर्नुपर्छ । नेतालाई खबरदारी गर्नुपर्छ । यो कुरा युवाले बुझ्नु पर्छ । हामी नागरिक अगुवा भनेको ७०–८० उमेरका भइसक्यौं । हामी अस्ताउँदो सूर्य भइसक्यौं । यो अभियान भनेको लामो रिले दौड हो । यो दौडको जिम्मा हामीले युवाहरुलाई हस्तान्तरण गर्न भने मात्रै नागरिक आन्दोलन जीवित रहन्छ । म हिंजो पनि यो आन्दोलनमा सहभागी भएको थिएँ । यस्तै यस्तै गर्दै, थोरै थोरै हुँदै जाने हो । एउटा एउटा लठ्ठी हुँदै सय लठ्ठी बन्नुपर्छ । थोपाथोपा हुँदै सागर बन्ने हो । यसरी नै थपिँदै जाँदा हामी अगाडि बढ्न सक्छौं । यो जोश हामी कायम राख्छौं । यहाँमात्रै भइरहेको छैन नेपालका विभिन्न ठाउँमा पनि भ्रष्टाचारविरुद्ध आन्दोलन भइरहेको छ ।
हरेक नागरिकको मन उद्धेलित भइरहेको अहिले के भइरहेको छ नेपालमा भनेर । विदेश जाँदा अब नेपाल त मान्छे बेच्नेहरुको मुलुक हो भन्न थाले । भुटानी नेता टेकनाथ रिजाललाई सरकारले यत्रो सुविधा दिएर राखेको थियो । दुईवटा छोराहरू क्यानडामा थिए । उनलाई कसरी यस्तो काम गर्नुपर्यो ? भ्रष्टाचारको भाइरसले उनलाई पनि छोडेन । यी कुरालाई ध्यानमा राखेर हामीले कुन ढंगले हुन्छ यो आन्दोलनलाई अगाडि बढाउनु पर्दछ । हाम्रीले स्वरमा स्वर मिलाउनु पर्छ । त्यसपछि मात्रै हामी एउटा विन्दुमा गएर सफल हुन्छौं । यस पटक भ्रष्टाचार विरुद्धमा जुन ढंगले अगाडि बढेको छ यो रोकिने वाला छैन । नेपालीले कहिलेसम्म बदिलान दिने ?
०४६ सालमा हामीले आन्दोलन गरेका छौं । ०६२/०६३ मा जनताले आन्दोलन गरे । परिवर्तन आयो । त्यो परिवर्तनको लाभांश खोइ ? परिवर्तनको लाभांश नेपालीले पाउने होइन ? उनीहरुको दैनिक जीवनमा सुख सुविधा आउने होइन ? विकास र समृद्धिको लाभांश उनीहरुले पाउने होइन ? विकास हेरेर मान्छे सन्तुष्ट हुने कुरा होइन । विकास भनेको उपभोग गर्ने कुरा हो । प्रत्येक नागरिकले त्यो फल प्राप्त गर्न सक्नुपर्दछ ।
अनिमात्रै त्यो विकासको अर्थ हुन्छ । यत्रो बलिदानपछि आएको परितर्वन त्यो नेताको लागि मात्रै हो ? के मुठ्ठीभर प्रशासकहरुको लागि मात्रै हो ? यो आजको अहम् प्रश्न हो । त्यो प्रश्नको उत्तर नखोजी हुँदैन । हामीले प्रश्न गर्न छाड्न हुँदैन । त्यो प्रश्न गरेरै यसको उत्तर खोज्नुपर्दछ र जवाफ माग्नुपर्दछ । जवाफ भनेको यसपटक जो जो यसमा सहभागी छन् ति कोही पनि बाँकी रहनु हुँदैन । यो सुरुवात हो । यसले यसभन्दा अगाडिका भ्रष्टाचारका विषयलाई पनि उठान गर्दछ । एकैपटक सबैकुरा लिएर आयौं भने हराउँछ त्यहाँ ।
जसरी गाउँमा चोर आयो चोर खोज्न मान्छे हिंडे चोर पोखरीमा हामफाल्यो । खोज्नेहरु पनि पोखरीमा हामफाले । गाउँकै चोर थियो चोर पनि चोर खोज्दैछ गाउँले पनि चोर खोज्दैछन् भन्ने स्थिति आउन सक्छ । त्यसकारण हामीले पहिले एउटा इस्यु जुन अहिले आएको छ यसलाई पार लगाऔं । त्यो पार लगाएपछि वाद बाँकी कहाँ जालान् । यही मुलुकमा रहलान् । मुलुक नै छोडेछन् भनेपनि इन्टरपोलमार्फत घोक्रेठ्याक लगाएर ल्याउन सकिन्छ ।
– विराटनगरमा शनिबार आयोजित भ्रष्टाचार विरुद्धको अभियानमा पोखरेलले दिएको मन्तव्यको सार संक्षेप ।