विराटनगर । पहिलो अधिवेशनबाट आफ्नै नियमावली पास नगरेको कोशी प्रदेशसभाले संसदीय समिति गठन गर्ने अझै टुंगो लागेको छैन ।
संसद संचालन नियमावली मस्यौदा समितिले प्रदेशसभामा मस्यौदा बुझाइ सकेकोछ । उक्त मस्यौदामा संसदीय समितिको संख्या ७ नै रहने प्रस्ताव गरिएको छ । तर, प्रदेशसभाको अधिवेशन गत चैत २९ गते अन्त्य भएपछि नियमावली पास नै हुन पाएन ।
जसको कारण मिनि संसदको रुपमा चिनिने संसदीय समितिको गठन प्रक्रिया पनि प्रारम्भ हुनै सकेको छैन । संसद नियमावली प्रदेशसभाबाट पास भएपछि समिति निर्माण प्रक्रिया सुरु हुने र केही दिनमा गठन भइसक्ने नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी बताउँछन् । ‘संसदको वर्षे अधिवेशन जेठको दोस्रो हप्ता तिर आव्हान हुन्छ,’ भण्डारीले भने, ‘त्यसपछि समितिको बैठकहरु बस्ने प्रक्रिया सुरु हुन्छ ।’ उनले अधिवेशन आव्हान भएपछि अन्य दलसँग पनि छलफल गरेर सर्वसम्मत समितिको नेतृत्व छनौट गर्न प्रयास गरिने बताए । ‘नेकपा एमालेको संसदीय दलको केही दिन अगाडि बढेको बैठकले कुन कुन समितिको नेतृत्व कसरी लिने भन्ने विषयमा छलफल भइसकेको छ,’ भण्डारीले भने, ‘अधिवेशन आव्हान भइसकेपछि अन्य दलसँग पनि छलफल गरेर सहमति गर्छौं ।’
नेपाली काँग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले सरकारले संसदको अधिवेशन अन्त्य गर्दा पनि प्रतिपक्षी दललाई नसोधेकोमा असन्तुष्टि जनाउँदै जनताको आवाज बुलन्द गर्ने थलो संसदको अधिवेशन तत्काल बोलाउनु पर्ने बताए । ‘संसद नियमावली पास भएको छैन, समितिहरु बनेका छैनन्, संसदमा जनताको आवाज बोल्ने र सरकारलाई खबरदारी गर्ने काम हुन सकेको छैन,’ राईले भने, ‘अघिवेशन तत्काल बोलाउँदा सरकार ढल्छ कि भन्ने डर राख्नु भएन । सरकार बन्ने विषय भनेको प्राविधिक विषय हो । त्यसैलाई देखाएर संसद बन्द गरेर जनप्रतिनिधिको मुख बन्द गर्नु हुँदैन ।’ उनले पनि संसदीय समितिहरु छिटो बन्नुपर्नेमा जोड दिए ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि संसदको अधिवेशन आव्हान गर्ने विषय सरकार र मुख्यमन्त्रीको विषय भएको बताए । अबको बजेट अधिवेशनबाट नियमावली पास हुने र संसदीय समितिहरु पनि बन्ने उनको भनाइ छ ।संघीय संसदमा सांसदहरुले जनताको आवाज बुलन्द गरिरहेका छन् । भ्रष्टाचारका विरुद्धमा खरो रुपमा प्रस्तुत भएका सांसदहरुले सरकारलाई प्रश्न पनि गरिरहेका छन् । संघीय संसदले समितिहरुको बैठक राखेर नेतृत्व चयन प्रक्रिया पनि सुरु गर्न लागेका छन् । तर, कोशी प्रदेशसभाको भने अधिवेशन आव्हान हुने कुनै छाँट देखिँदैन ।
२०७९ साल चैत २९ गते बुधबारदेखि प्रदेश सभाको प्रथम अधिवेशन अन्त्य भएको थियो । गत फागुन १७ गते बसेको प्रदेशसभाको बैठकले प्रदेशको नाम कोशी नामाकरण गरेको थियो । त्यसपछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । पहिचान पक्षधरहरुको दबाब र विरोध प्रदर्शनका कारण बैठक बस्न सकेको थिएन । प्रदेशको दोस्रो प्रदेश सभाको पहिलो अधिवेशन २०७९ पुस १७ गते आइतबार सुरु भएको थियो । यसबीचमा १३ वटा बैठक बसेको छ ।

