विराटनगर । संखुवासभाका दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका तीन मतदान स्थलका मतपेटिका हेलिकप्टर मार्फत खाँदबारी ल्याइएको छ ।
चीनको सिमावर्ती किमाथांका, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो ।
भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योती आधारभूत विद्यालय रिदाकसहित तीन मतदान केन्द्रको मतपेटिका सोमबार दिउँसो हेलिकप्टरमार्फत साहयक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटाले जानकारी दिए । भोटखोलाबाट सदरमुकाम खाँदबारी ल्याउन गाडी र पैदल गरेर ३ दिनसम्म लाग्ने गर्दछ ।
थुदाम मतदान केन्द्रको २० मत, किमाथांकाको १ सय ४८ र रिदाक मतदान केन्द्रमा खसेको मत पेटिकालाई खाँदबारी ल्याइएको हो । मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६४ मतदान केन्द्रमध्ये १०५ केन्द्रको मतपेटिका सदरमुकाम खाँदबारीमा संकलन भइसकेको छ ।
संखुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् । संखुवासभामा ५६ प्रतिशत अर्थात ६५ हजार ८९२ मत खसेको छ।
दुर्गम मतदान केन्द्रबाट मतपेटिका नआईपुगेकोले मंगलबार दिउँसोबाट मात्र मतगणना सुरु गरिने मुख्य निर्वाचन कार्यालयले जनाएको छ । मंगलबार बिहान सर्वदलीय बैठक बसी दिउँसोबाट मत गणना सुरु गरिने निमित्त जिल्ला निर्वाचन प्रमुख रामेश्वर निरौलाले जानकारी दिए ।