कोशी प्रदेश सरकार : बद्नाम बन्ने प्रस्ताव छलफलमा

एमाले, काँग्रेस, माओवादी र समाजवादीले पालैपालो १५–१५ महिना प्रदेशको नेतृत्व गर्ने विषयमा काँग्रेस र एमाले नेताहरुबीच छलफल

विराटनगर ।  हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढाल्ने र नयाँ सरकार बनाउने कसरत चलिरहेको कोशी प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुले सबै दललाई भाग पुर्याउने गरी आलोपालो सरकार चलाउने नयाँ प्रस्तावमाथि छलफल थालेका छन् । यद्यपि काँग्रेसकै प्रदेशका नेताहरुले भने यो प्रस्ताव स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

एमाले, काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पालैपालो नेतृत्व गर्नेगरी प्रदेशमा ‘सहमतिको सरकार’ बनाउने प्रस्ताव अघि आएको हो । यो प्रस्तावबारे मुख्यमन्त्री कार्कीसँगै काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक चरण छलफल गरिसकेका छन् । यद्यपि सार्वजनिक रुपमा उनीहरुले यसलाई अस्वीकार गरेका छन् ।

तर, कार्की र शर्मा निकटहरुले यसबारे छलफल भएको बताएका छन् । ‘प्रदेशसभाको पाँच वर्षे कार्यकाल जम्मा ६० महिनाको हुन्छ, त्यो ६० महिनामा हरेक दलले १५ महिना सरकारको नेतृत्व गर्ने गरी छलफल अघि बढेको जानकारी हामीलाई आएको छ’, काँग्रेस कोशी प्रदेशका एक नेताले हाम्रोमतसँग भने ‘यो प्रस्ताव आफैमा गलत र संघीयता बद्नाम तुल्याउने ढंगको छ । माथिबाट यो लादियो भने यहाँ विद्रोह हुनेछ ।’
मुख्यमन्त्री कार्कीले पनि यो प्रस्तावबारे छलफल भएको भन्ने कुरा अस्वीकार गरेका छन् । ‘यसरी भागवण्डा लगाएर मुख्यमन्त्री हुने भन्ने कुराको म सदा विपक्षमा छु’, उनले भने ‘मैले यस्तो कुरा सुनेको पनि छैन ।’ तर, काँग्रेस र एमालेका नेताहरुले भने दुई नेताको भेटमा यही विषयमा छलफल भएको र उनीहरुले आफू निकटकाहरुसँग यो कुरा सेयर गरेको बताएका छन् ।

मुख्यमन्त्री कार्की र काँग्रेस महामन्त्री शर्माबीच आइतबार ललितपुरमा लामो ‘कफी गफ’ चलेको थियो । त्यहीबेला यसबारे कुरा भएको हो ।
एमाले कोशीका संसदीय दलका नेता कार्की मुख्यमन्त्री बनेको केही समयदेखि नै उनी नेतृत्वको प्रदेश सरकार तीव्र राजनीतिक सकसबाट गुज्रिरहेको छ । खासगरी राष्ट्रपति चुनावबाट केन्द्रीय गठबन्धन फेरिएपछि केन्द्रमा एउटा र प्रदेशमा अर्कै गठबन्धन सत्तासीन रहेको अवस्था छ । यसले कार्की नेतृत्वको सरकार जुनसुकै बेला अफ्ठयारोमा पर्ने अवस्था छ ।

काँग्रेससहितका दलहरु उपनिर्वाचनलगत्तै एमाले नेतृत्वमा रहेको एक मात्र प्रदेश सरकार ढाल्ने कसरतमा जुटेका थिए । तर, प्रदेशसभाको सकसपूर्ण गणितले सरकार ढाल्ने र नयाँ बनाउने गाँठो फुक्न सकेको छैन । यहीबेला प्रदेशस्थित दलहरु एकअर्कासँग सघन संवादमा जुटेका छन् ।
यही मेसोमा मुख्यमन्त्री कार्की र महामन्त्री शर्माबीच ललितपुरमा कफीभेट भएको हो । उक्त छलफलमा प्रदेश सरकारका धेरै विकल्पबारे छलफल भएको स्रोतको भनाइ छ । मुख्यमन्त्री कार्कीले शर्मासँग भेटघाट भएको स्वीकार गरे । ‘हामीबीच कफी गफ र भेटघाट मात्रै भएको हो, अरु खास राजनीतिक कुराकानी धेरै भएन’, उनले भने ‘उहाँले कोशी प्रदेश सरकारको नीति कार्यक्रम, बजेटबारे चासो राख्नुभयो ।’
केन्द्रमा एउटा र प्रदेशमा अर्कै सत्ता गठबन्धन भएका कारण सबैभन्दा सकसमा रहेका मुख्यमन्त्री कार्की असार १ अघि नै बजेट ल्याउने तयारीमा छन् । आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पनि आफै सम्हालेका उनलाई बजेट चाँडो ल्याउने र पारित गराउने हुटहुटी छ । तर, काँग्रेस सांसदहरुले भने केन्द्रमा एउटा र प्रदेशमा अर्को सत्ता गठबन्धनको कल्पना पनि गर्न नसकिने बताउँदै ‘सबैलाई भाग पुर्याउने गरी अघि बढेको’ छलफल तत्काल रोक्न माग गरेका छन् ।

आफ्नै पार्टी केन्द्रका प्रभावशाली नेताहरुले नै सबै दलले मुख्यमन्त्रीको पालो पाउनेगरी ‘राष्ट्रिय सहमतिका आधारमा प्रदेश सरकार बनाउने’ छलफलप्रति काँग्रेसभित्र असन्तुष्टि देखिएको छ । प्रदेशको प्रतिकूल गणितलाई आधार बनाउँदै काँग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङदेम्बेसहितको टिमले नयाँ प्रस्ताव अगाडि सारेको काँग्रेस नेताहरु बताउँछन् ।

वैशाख २८ मा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका थापा, शर्मा र आङदेम्बेले त्यसबारे प्रधानमन्त्रीसँग छलफल गरेको स्रोतको भनाइ छ । काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले त्यस्तो हल्ला आफूले सुनेको जानकारी दिँदै भने, ‘त्यो हाम्रो आधिकारिक प्रस्ताव होइन, हुनु पनि हुँदैन ।’ पार्टी सभापति शेरबहादुर देउवा निकट रहेका उनले प्रदेशसभालाई प्रतिपक्षविहीन तुल्याउने कुरामा सहमति नहुने बरु कार्की नेतृत्वको सरकार तत्काल ढाल्नुपर्ने बताए ।

कोशी प्रदेशमा अहिले एमाले नेता कार्कीको नेतृत्वमा रहेको सरकारमा अहिले माओवादी, राप्रपा र जसपा पनि सामले छ । माओवादी र जसपाले तत्काल सरकार छाडनुपर्ने आवाज काँग्रेस र एकीकृत समाजवादी समाजवादीको छ । तर, अर्को सरकार बन्ने सम्भावना बलियो नभएसम्म सरकारबाट फिर्ता नहुने अडानमा दुई दल छन् ।

काँग्रेसका उपनेता कार्कीले माओवादी र जसपाको सरकारमा बसिरहने शैली आश्चर्यलाग्दो रहेको टिप्पणी गरे । केन्द्रीय गठबन्धन अनुसार माओवादी र जसपाले तत्काल सरकार छाडेर केन्द्रकै गठबन्धन अनुसार नयाँ सरकार बनाउन पहल थाल्नुपर्ने उनको भनाइ छ ।
काँग्रेस संस्थापन पक्षका नेता कार्की मात्रै होइन संस्थापन इतर शेखर कोइराला पक्षका सांसदहरुको भनाइ पनि उस्तै छ । प्रदेशमा मिलीजुली सरकारबारे छलफल अघि बढेको भन्ने हल्लाबारे नेतृत्वले प्रष्ट पार्नुपर्ने बताउँदै कोइराला पक्षका नेता केदार कार्कीले ‘त्यस्तो छलफल अघि बढेको आफूले नपत्याउने’ बताए ।

‘नेपाली काँग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो, हामी लोकतन्त्रकै लागि लडेर आएका हौं’, उनले भने ‘यस्तो दलले बहुमतको सरकार र अल्पमतको जिम्मेवार प्रतिपक्षको मान्यतामा आफूलाई अडिग राख्छ । केन्द्र होस् अथवा प्रदेश जहाँ पनि काँग्रेस यो मान्यताबाट पछि हट्दैन ।’ आलोपालो र सहमतिका नाममा भाग पुरयाउने छलफल अघि बढाइएको हो भने त्यो तत्काल रोकिनुपर्ने उनले बताए ।केन्द्रको गठबन्धनको स्पिरिट अनुसार माओवादी र जसपाले तत्काल प्रदेश सरकार छाड्नुपर्ने भन्दै कार्कीले नयाँ सरकार बनाउन कुनै समस्या नरहेको दावी गरे । काँग्रेसकै अर्का सांसद शमशेर राईले ‘प्रदेशमा आलोपालो नेतृत्व गर्ने बजार हल्ला’ बारे आफू केही नबोल्ने बताए । जेठ ४ मा हुने संसदीय दलको बैठकले सबै कुरा तय गर्ने उनको भनाइ छ ।

काँग्रेस संस्थापन पक्षकै एक सांसदले नेता कृष्णप्रसाद सिटौला निकट सांसदहरु चाहिँ आलोपालोमा जाँदा काँग्रेसलाई फाइदा हुने पक्षमा रहेको आरोप लगाएका छन् । ‘संसदीय दलका नेता उद्धव थापासहितका सिटौला पक्षका माननीयहरु आलोपालोको पक्षमा उभिएको पाइएको छ’ उनले भने, ‘यो अनावश्यक लोभले न पार्टीलाई फाइदा गर्छ न यो व्यवस्थालाई ।’ मध्यावधिको भय देखाउँदै केन्द्रमा केहि नेताहरु आलोपालोको पक्षमा उभिएको उनको भनाइ छ ।

केही समयअघि सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्ने क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशमा सर्वदलीय सरकारको आह्वान गरेका थिए । त्यसप्रति काँग्रेस संसदीय दलका नेताले ‘मुख्यमन्त्रीको आह्वान सकारात्मक’ भनेर स्वागत गरेका थिए । अहिले पनि के गर्ने भन्ने विषयमा केन्द्रको निर्देशन कुरिरहेको थापाले बताउँदै आएका छन् ।

कोशी प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेसँग उपसभामुखसहित ४० सांसद् छन् । काँग्रेससँग २९, माओवादीको सभामुखसहित १३, राप्रपासँग ६, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादी पार्टीसँग १ जना सांसद छन् ।

राप्रपाको बेग्लै शर्त

काँग्रेस महामन्त्री र सहमहामन्त्रीहरुसँगको वैशाख २८ को भेटमा प्रधानमन्त्री प्रचण्डले ‘नयाँ सरकार बनाउन सहयोग गर्न राप्रपा सकारात्मक’ रहेको बताएका थिए । उनलाई त्यो सू्चना राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमार्फत आएको माओवादी स्रोतको भनाइ छ ।

काँग्रेस संसदीय दलका नेता उद्धव थापा र राप्रपा दलका नेता भक्ति सिटौलाबीच काँग्रेसमा साथै हुँदादेखि नै तिक्ततापूर्ण सम्बन्ध छ । काँग्रेसमा सक्रिय रहेका बेला कृष्णप्रसाद सिटौलाको टिमले किनारामा पुर्याएपछि भक्ति सिटौला २०७० मा राप्रपातिर लागेका थिए । त्यही तिक्तताकै कारण काँग्रेसका थापालाई मुख्यमन्त्रीमा नसघाउने सिटौलाको प्रष्ट अडान छ ।

‘माओवादीका इन्द्र आङ्बो, समाजवादीका राजेन्द्र राई वा काँग्रेसबाटै अर्को कोही अघि सर्ने भए हामीले सघाउने सम्भावना हुन्छ’, राप्रपा स्रोतले भन्दै आएको छ ‘तर, काँग्रेसका थापालाई भने कुनैपनि हालतमा सघाउन सकिन्न भन्ने भक्ति सिटौलाको कुरा छ ।’

मङ्गलबार, ०२ जेठ, २०८०, बिहानको ०८:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर