विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अधिकांश कर्मचारीहरू विवाहमा जन्ती जाँदा सेवा प्रवाहमा समस्या देखिएको छ ।
गाउँपालिकाको योजना शाखाका पाँचौँ तहका कर्मचारी केदार त्रितालको विवाहमा ग्रामथान गाउँपालिकाका अधिकांश कर्मचारी जन्ती गएको कारणले सेवा प्रवाहमा समस्या देखिएको हो ।
गाउँपालिकामा ४० जना कर्मचारीको दरबन्दी रहेकोमा आज एक दर्जन कर्मचारी मात्र कार्यालयमा हाजिर छन् । ४० मध्ये करिब १० जना प्राविधिक रहेकोले उनीहरू फिल्डमा रहेका छन् । दुई दर्जन कर्मचारी विवाहमा जन्ती गएको पाइएको छ । करिब ६ वटा शाखामा जिम्मेवारी समालेका प्रमुख नभएको कारणले सेवा लिन गएका सेवाग्राहीले सेवा नपाएको गुनासो गरेका छन् ।
कार्यालय हाजिर नभई जन्ती जानेहरूमा लेखा अधिकृत सातौँ तहका निलेश सापकोटा, योजना शाखाका प्रमुख छैटौँ तहका टेकनाथ घिमिरे, शिक्षा शाखा प्रमुख छैटौँ तहका भीम प्रसाद न्यौपाने, सूचना तथा संचार प्रविधि अधिकृत सूचना शाखाका नारायण चौधरी, कम्प्युटर अपरेटर प्रशासन शाखा आशिष् श्रेष्ठ, कृषि प्राविधिक कृषि शाखाका सुरेन कुमार माझी, रहेका छन् । उनीहरू जन्ती गएको बुझिएको छ । एकै पटक ठुलो संख्यामा कर्मचारी जन्ती र विदामा जाँदा सेवा प्रवाहमा समस्या देखिएको स्थानीयले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साह पनि आज बिदा लिएका छन् । उनले छैटौँ तहका कर्मचारी बालकृष्ण ढकाललाई निमित्त प्रमुखको जिम्मेवारी दिएर विराटनगरमा जिल्ला समन्वय समितिको काममा आएको बताए । ‘गाउँपालिकाको कर्मचारीको आज विवाह हो । त्यही भएर धेरै साथीहरूले बिदा लिनुभएको छ,’ उनले भने, ‘तर, कार्यालयबाट सेवा प्रवाहमा कुनै कठिनाइ भएको छैन । धेरै कर्मचारी साथीहरू फिल्डमा पनि हुनुहुन्छ ।’
ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणावती देवी थारुले हाजिर चेक नगरेको कारणले कति कर्मचारी कार्यालय आए आफूलाई थाहा नभएको बताइन् । ‘आज गयल भएको कर्मचारीको आजको तलब कट्टा हुनेछ । कार्यालय कर्मचारी नभएको विषयमा आफूलाई पनि जानकारी भएन,’ उपाध्यक्ष थारुले भनिन्, ‘भोलिदेखि हाजिरदेखि कर्मचारी आए नआएको कडाइ गर्नेछु ।’ सेवा लिन आएका सेवाग्राहीलाई बन्चित हुन नदिने उनले बताइन् । ‘गाउँपालिकाको कर्मचारीको विवाह कारण आज थोरै कर्मचारी आएको अनुगमनपछि मैले पनि देखे,’ उनले भनिन्, ‘भोलिबाट यस्तो समस्याको अन्त्य हुनेछ ।’
Niyam le paune suwidha jastai Niyam le hune kada Karwahi gariyos ta vannu man lagxa tara karwahi garne kasle ta ?