दमक । अखिल नेपाल चिया उत्पादक किसान संघ (क्रान्तिकारी), अखिल नेपाल सुपारी उत्पादक किसान संघ (क्रान्तिकारी) र अखिल नेपाल रबर उत्पादक किसान संघ (क्रान्तिकारी) को संयूक्त ऐतिहासिक प्रथम राष्ट्रिय भेला झापाको दमकमा सम्पन्न भएको छ ।
बुधवार सम्पन्न भेलाले तीन छुट्टा छुट्टै केन्द्रीय समिति चयन गरेको छ । भेलाले घनश्याम थापा अध्यक्ष रहने गरि ३५ सदस्य अखिल नेपाल चिया उत्पादक किसान संघ (क्रान्तिकारी) गठन गरेको छ भने सो समितिमा ९ पदाधिकारी रहने जनाइएको छ ।
यसैगरी अखिल नेपाल सुपारी उत्पादक किसान संघ (क्रान्तिकारी) मा रामहरी नेपाल अध्यक्ष रहने गरी २५ सदस्य केन्द्रीय समिति चयन गरेको छ । जसमा ७ पदाधिकारी रहने बताइएको छ ।यस्तै भेलाले तारा सुवेदी अध्यक्ष रहने गरि १५ सदस्य अखिल नेपाल रबर उत्पादक किसान संघ (क्रान्तिकारी) गठन गरेको छ । जसमा ५ पदाधिकारी रहने बताइएको छ ।
भेला सफलताको शुभकामना दिँदै कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्दीय सदस्य, झापा इन्चार्ज तथा कोशी प्रदेशका पूर्व कृषि मन्त्री झलकसिं दर्लामीले किसानहरुले अझैपनि उत्पादित वस्तुको उचित मूल्य र बजार पाउन नसकेको बताए । उनले व्यवस्था परिवर्तन भएपनि असली किसानहरुको अवस्था उस्तै रहेको भन्दै कृषि क्रान्तिविना मुलुक परिवर्तन सम्भव नभएको दावी गरे । उनले नेपालमा उत्पादित चिया र सुपारी भारतीय बजारमा ब्राण्ड बनेर बिक्री भइरहेको तर उत्पादित किसानले उचित मूल्य नपाएको उदाहरण प्रस्तुत गरे ।
सोही कार्यक्रमका विशिष्ट अतिथि महासंघका महासचिव तथा राष्ट्रिय भूमि आयोगका केन्द्रीय उपाध्यक्ष नहेन्द्र खड्काले क्रान्तिकारी भूमिसुधार नभएसम्म असली किसानका हातमा जमिन नपर्ने बताए । उनले समाजवादी क्रान्तिका आधार नै कृषिमाथिको किसानको पहुँच र क्रान्तिकारी भूमिसुधार रहेको बताए ।
कार्यक्रममा विशेष अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष तथा किसान विभाग इन्चार्ज शिवकुमार डाँगीले युवा शक्तिलाई कृषिमा जोड्न नसक्दा स्वदेशमा सम्भावना नदेखेर विदेशिने क्रम बढेको भन्दै स्वदेशमा कृषि क्षेत्रमा लगानी गरेर रोजगार श्रृजना गरी विदेश पलायन हुनबाट जोगाउनु पर्ने बताए । उनले कृषिलाई व्यवसायीकरण गर्न जोड दिँदै अहिले सम्म विचौलियाका कारण किसानले आफूले उत्पादन गरेको दूधको उचित मूल्य पाउन नसकेको भन्दै सरकारबाट पाउने अनुदानपनि पहुँचवालाहरुले नै मिलिभगत गर्ने भएकाले सक्कली किसान सरकारको सेवा सुविधाबाट पनि बन्चित भएको, किसानले खोलेका कृषि फार्म र योजनाहरुपनि घाटामा गइरहेको बताए ।
कार्यक्रमका विशेष अतिथि महासंघका उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज के पी बरालले किसानहरु संगठित भएर लड्नुको विकल्प नभएको बताए ।
कार्यक्रममा किसान सुकुम्बासी आयोग मोरङ जिल्ला अध्यक्ष शुशिला घिमिरे, अखिल नेपाल सुपारी उत्पादक किसान संघ (क्रान्तिकारी) केन्द्रिय संयोजक रामहरि नेपाल, प्रतिनिधी माधव निरौला, अखिल नेपाल रबर उत्पादक किसान संघ (क्रान्तिकारी) का शान्तिराम चिमरिया लगायतले किसानका समस्याबारे धारणा राखेका थिए । महासंघका प्रदेश सहसंयोजक रुद्र अधिकारीले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तब्य सुकुम्बासी आयोगका सदस्य तारा सुवेदीले गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य कान्छा लावती, भूमिका कोइराला, इन्दिरा कार्की लगायत जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

