केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरुको नेतृत्वमा ७ वटा मध्ये ६ वटा प्रदेशका सरकार निर्माण भएका छन् । गठबन्धन दलमध्ये सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । कर्णाली र बाग्मती प्रदेशमा माओवादी र मधेश प्रदेशमा जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । कोशी प्रदेशमा भने केन्द्रमा प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वमा सरकार छ । अब एमाले नेतृत्वको यो सरकार परिवर्तनको खेल पनि जारी छ । तर, कोशी प्रदेशसभामा संसद संख्याले सत्ता गठबन्धनलाई अनुकूल परिस्थिति बन्ने देखिएको छैन । यद्यपि आगामी असार १ मा बजेट ल्याउनु अगाडि नै कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने काँग्रेसका एक प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । कुराकानीका क्रममा उनले अन्य प्रदेशमा जस्तै कोशी प्रदेशमा पनि सरकार परिवर्तन अपरिहार्य रहेको बताए । प्रस्तुत छ उनीसँगको कुराकानीः
कोशी प्रदेशमा सरकार परिवर्तनको कुरा चलिरहेको छ । नेपाली काँग्रेसले कसरी हेरिरहेको छ ?
– प्रदेशका साथीहरू पनि सरकार परिवर्तनका निमित्त छलफल चलाइरहनु भएको छ । केन्द्रमा पनि यसको छलफल चलिरहेको छ । चाँडै नै बजेट ल्याउनु पर्ने दायित्व पनि भएको हुनाले सबै कुरालाई ध्यानमा राखेर केन्द्रमा यसको छलफल चलिरहेको छ । निष्कर्षमा पुग्ने हिसावले छलफल अगाडि बढ्छ ।
भनेको, हप्तादिनभित्र वा एक दुई दिनभित्रैमा कुनै निष्कर्ष निस्कन्छ ?
– अहिलेको आवश्यकतालाई ध्यानमा राखेर छलफल अगाडि बढेको छ । त्यसअनुसार चाँडै नै परिणाम हासिल हुन्छ ।
भनेपछि कोशी प्रदेश सरकार परिवर्तन हुन्छ ?
– अन्य सबै प्रदेश सरकार परिवर्तन भइसकेको छ । कोशी प्रदेशको अहिलेको सरकार पनि परिवर्तन गर्नु आवश्यक छ । किनभने हामी गठबन्धनले हाम्र्रै नीति तथा कार्यक्रम लागू गर्न चाहन्छ । त्यसका निमित्त सरकार परिवर्तन अपरिहार्य छ । असारको बजेट प्रस्तुत गर्नुभन्दा अगाडि नै सरकारको नेतृत्व परिवर्तन हुन्छ भन्ने मलाई लाग्छ । त्यही दिशातर्फ प्रदेशको राजनीति पनि अगाडि बढेको छ ।
प्रदेशमा कसको नेतृत्व हुन्छ ?
– त्यो चाहिं छलफलमै छौं ।
कोशी प्रदेशको प्राविधिक पक्ष अलिक जटिल देखिन्छ । बहुमत संख्या कसरी पुर्याउनु हुन्छ ?
– हामी सहजताका साथ बहुमतमा लैजाने प्रयास गरिरहेका छौं । हामी त्यस दिशामा छलफल केन्द्रीत गरेका छौं ।
यसको मतलब राप्रपासँग छलफल भएको छ ?
– सबै विषयमा छलफल भइरहेको छ । राप्रपासँग पनि छलफल भइरहेको छ ।
राप्रपाको प्रतिक्रिया के छ ? हामी एमालेबाहेक जानै सक्दैनौं भन्ने छ कि अरू कुनै शर्तमा नयाँ गठबन्धनमा पनि आउँछौं भन्ने छ ?
– हामीले छलफल नै गरिरहेका छौं । हाम्रो पक्षमा निष्कर्ष आउँछ भन्ने विश्वास छ ।
राप्रपाले मुख्यमन्त्री मागेको छ ?
– होइन, हामीले छलफल गरिरहेका छौं । हामीले विभिन्न विकल्पमा छलफल चलाउँछौं ।
भनेको, राप्रपालाई मुख्यमन्त्री दिएर पनि सरकार बनाउन सक्ने एउटा विकल्प हुनसक्छ ?
– हामी अहिलेको आवश्यकता, संसद संख्याको अवस्थालाई हेरेर पनि हामीले हाम्रा छलफललाई अगाडि बढाउन जरुरी छ ।
नेपाली काँग्रेस संसदीय दलमा पनि दलको नेता उद्धब थापालाई मुख्यमन्त्री बन्न रोक्नका लागि अर्को पक्षले लागेको भन्ने छ । खास के हो ?
– त्यस्तो हुँदैन । इच्छा सबैको हुन्छ । तर, जो संसदीय दलको नेता हुन्छ उसैले सरकारको नेतृत्व गरेर अगाडि बढ्छ ।
भनेको, कोशी प्रदेशको नेतृत्व काँग्रेसले नै गर्छ भन्ने विषय टुंगिएको छ र ?
– टुंगिएको त छैन । यो विषय पनि छलफलकै क्रममा छौं । अहिले सबै साथीहरुको पहिलो चरण नेपाली काँग्रेसको नेतृत्वमा सरकार प्रदेशमा बन्नुपर्छ भन्ने छ ।
गण्डकी, लुम्बिनी, सुदूरपश्चिममा पनि काँग्रेसको नेतृत्व आएको कारणले कोशी प्रदेशमा अर्कोले पाउनु पर्छ भन्ने पनि त होला नि ?
– हामी आलोपालोमा जान्छौं । अहिले पहिलो चरणमा काँग्रेसले पाउनु पर्छ । विगतमा पनि काँग्रेले नेतृत्व गर्ने अवसर नपाएको हुनाले यस पटक पाउनुपर्छ भन्ने साथीहरुको धारणा छ ।
प्रदेशको प्राविधिक पक्षकै कारणले कोशी प्रदेश मध्यावधिमा जान्छ भन्ने पनि अड्कलबाजी भइरहेको छ । खास कुरा के हो ?
– मध्यावधि अहिलेको आवश्यकता पनि होइन र मध्यावधि तर्फ प्रदेशलाई लाने कसैको पनि उद्देश्य छ जस्तो मलाई लाग्दैन । मध्यावधिमा जानुपर्ने जरुरत नै छैन । मध्यावधि यसको समाधान होइन । जनताले भर्खरै निर्वाचित गरेको ६ महिना पनि भएको छैन । यस्तो अवस्थामा मध्यावधिमा जाने कुराले प्रदेशको अस्थिरतातर्फ जाने भएकोले मध्यावधिमा जाने कुरा सोच्न सकिँदैन ।
अलिकति राष्ट्रिय राजनीति तिर जाऔं । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार सरकारबाट बाहिरिने वा नबाहिने विषयमा निर्णय गर्ने भनेको छ ? बाहिरियो भने के होला ?
– त्यो उहाँहरुले निर्णय नगरेसम्म भन्न सकिँदैन ।
यदि त्यस्तो भयो भने के होला ?
– यो गठबन्धनको सरकार पाँच वर्ष चल्छ ।
प्रचण्डको नेतृत्वमा चाहिं कति वर्ष टिक्छ ? आधा कार्यकाल प्रचण्डले पाउनु हुन्छ ?
यो गठबन्धनको सरकार पाँच वर्ष चल्छ । जे हाम्रोबीचमा सहमति भएको छ त्यही अनुसार हुन्छ ।
अनि एमाले र काँग्रेस मिलेर सरकार बनाउने भन्ने कुरा पनि आइरहेको छ नि ?
– अहिले एमाले र काँग्रेस मिलेर सरकार बन्दैन । पाँच वर्ष पाँचदलीय गठबन्धन अहिले १० दलीय भएको छ । यो गठबन्धन जुन उद्देश्यका साथ स्थापना भएको छ । केही समय अलिकति अलमल भयो । तर अहिले ठिक दिशामा अगाडि बढेको छ । मुलुकको हितका निमित्त, संविधानको रक्षाको निमित्त र देशलाई अब स्थिरता र समृद्धिको दिशामा अगाडि बढाउनका लागि गठबन्धनको आवश्यकता छ र पाँच वर्ष यही गठबन्धन अगाडि बढ्छ । एमाले पाँच वर्ष प्रतिपक्षमा रहनेछ । यो गठबन्धनले नै जनताको आवश्यकतालाई सम्बोधन गरेर अगाडि बढ्छ ।
पछिल्लो समयमा उपनिर्वाचनको विषयलाई लिएर फरकफरक टिप्पणी भइरहेको छ । यसलाई कसरी लिनुहुन्छ ?
– जनताले अभिव्यक्त गरेको मतलाई हामीले सम्मान गर्नुपर्छ । जनमत छिनछिनमा परिवर्तन भइरहनु पर्छ । यसलाई पनि हामीले एक ढंगले विश्लेषण गर्नुपर्छ र ठूलो दलहरुमाथि धेरै ठूलो झड्काहो भन्ने पनि आम जानताको सोचाई छ । यसको विषयमा पनि ठूला दलहरुले पनि आफ्नो आत्मा निरीक्षण गर्नु जरुरी छ ।