विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकक्षमा आन्दोलनकारीले तालाबन्दी गरेका छन् ।
आन्दोलनरत प्रतिष्ठानका चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरुले बुधबार चार जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
प्रतिष्ठानमा भएको भ्रष्टाचारको छानविन गरी दोषिमाथि कारवाही हुनुपर्ने र प्रतिष्ठान सुधार गर्नुपर्ने माग राखेर १६ दिनदेखि आन्दोलनमा उत्रिएका उनीहरुले उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा.गुरु खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी र निर्देशक डा.गौरीशंकर साहको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । मंगलबार आन्दोलनरत पक्षसँग वार्ता सुरु भएकोमा उपकुलपति गिरीले मादक पदार्थ सेवन गरी चिकित्सक, नर्स र कर्मचारीलाई दुव्र्यवभार गरेपछि प्रतिष्ठानमा तनाव उत्पन्न भएको थियो ।
वार्तामा मापसे गरेर आएका उपलकुलपतिले अभद्र व्यवहार गरेपछि मध्यरातसम्म चिकित्सक र कर्मचारीहरुले पदाधिकारीविरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुलाई कार्यकक्षमै थुनेर मापसे चेक गर्नुपर्ने माग भएपनि इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर नेतृत्वको टोलीले बाहिर निकालेको थियो ।
आन्दोलनकारीले देशकै अग्रणी संस्था प्रतिष्ठानलाई धरासायी बनाउन पदाधिकारीहरुको मुख्य हात रहेकाले छानविन समिति गठन गरी कारवाही गर्नुपर्ने माग राखेका छन् । माग पुरा नभएसम्म तालाबन्दी नखोल्ने र पदाधिकारीसँग कुनै वार्ता पनि नहुने प्रतिष्ठानको संघर्ष समितिका अध्यक्ष डा. सुर्यप्रसाद रिमालले बताएका छन् ।
प्रतिष्ठानको हित विपरित काम गर्ने चारैजना पदाधिकारीलाई बर्खास्त गर्न र मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न आन्दोलनकारीले कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीसमक्ष माग गरेका छन् । आन्दोलनको क्रममा चिकित्सक र कर्मचारी तीन दिनदेखि रिले अनसनमा छन् ।
प्रतिष्ठानको बेथितिबारे कर्मचारी र डाक्टर आन्दोलित भएको बेला संघीय सरकार र प्रदेश सरकार समेत चुप लागेर बस्नु अत्यन्तै दुःखद भएको प्रतिष्ठानको फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोखरेलले बताए । अक्षम नेतृत्वको कारण प्रतिष्ठान ९० करोड घाटामा गएकोले त्यसको छाननविन हुनुपर्ने उनको भनाइ छ ।
प्रतिष्ठानको जुनियर रेसिडेण्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले उपकुलपतिले कार्यकक्षमा मादक पदार्थ सेवन गरेर वितण्डा मच्चाउदा कार्वाही नहुनुको कारण स्पष्ट पार्नुपर्ने बताए । तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सिफारिसमा नीजि मेडिकल कलेजका सञ्चालन रहेका गिरीलाई सरकारले २०७७ साल चैतमा प्रतिष्ठानको उपकुलपति नियुक्त गरेपछि प्रतिष्ठान अस्तव्यस्त बनेको छ ।
प्रतिष्ठानको संयुक्त संघर्ष समितिले एक हप्ताको अल्टिमेटम दिँदै आफ्ना माग सम्बोधन नगरे सामूहिक राजिनामा दिएर प्रधानमन्त्री कार्यालय घेराउ गर्न काठमाडौं जाने घोषणा गरेको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!