अन्तर्राष्ट्रिय श्रमिक दिवश: एक इतिहास

 योगेश राजभण्डारी

विश्वका मजदुर एक होऔं भन्ने नाराका साथ संसार भर मनाइने मे दिवस मजदुरहरुको महान चाडका रुपमा रहेको मे दिवस दैनिक आठ घण्टा काम, आठ घण्टा आरामको लागि मजदुरहरुको शानदार आन्दोलनबाट उत्पन्न भएको थियो । यो भन्दा पहिले मजदुरहरु १४ देखि १८ घण्टासम्म अहोरात्र काममा खट्दथे । अधिकांश देशहरुमा कामको समय तोकिएकै हुदैनथ्यो अर्थात काम गर्ने समयको कुनै नियम नै थिएन । सूर्योदय हुनु अगाडिदेखि सूर्यास्त भैसकेपछिसम्म मजदुरहरु कारखानामा काम गर्दथे । दुनियाँभर अलग–अलग स्थानहरुमा आठ घण्टा काम आठ घण्टा आरामको माग लिएर आन्दोलन हुने गरेको थियो । नेपालमा पनि २००३÷०४ सालतिर मनमोहन अधिकारी लगायतको नेतृत्वमा मजदुर आन्दोलन सुरु भएको थियो ।

त्यस समय अमेरिकामा मजदुरहरुलाई १२ देखि १८ घण्टासम्म काममा खटाइन्थ्यो । बच्चा र महिलाहरुले पनि १८ घण्टासम्म काम गर्नु सामान्य कुरो थियो । अधिकांश मजदुर आफ्नो जीवनको ४० वर्ष पनि पुरा गर्न सक्दैनथे । यदि मजदुरहरुले यो विषयमा आवाज उठाए यसका विरुद्ध निजी गुण्डा, प्रहरी तथा सेनाबाट हमला गराइन्थ्यो । यी सबै कुराबाट पीडित ति अमेरिकी मजदुरहरु चुप लागेर बस्ने अवस्थामा थिएनन् । ती मजदुरहरुको जीवन र मृत्युमा कुनै पनि फरक थिएन । मर्नुनै पर्ने अवस्थामा पुगेपछि ती मजदुरहरुले मालिकहरुका विरुद्धमा लड़ने फैसला गरे । १८७७ देखि १८८६ सम्म मजदुरहरुले अमेरिका भरी आठ घण्टा कामको माग राखी एकजुट र संगठित हुन सुरु गरे । १८८६ मा पुरा अमेरिकाभरि अमेरिकी मजदुरहरुले ‘आठ घण्टा काम, आठ घण्टा आराम समिति’ बनाए । शिकागोमा मजदुरहरुको आन्दोलन सबैभन्दा अधिक शक्तिशाली थियो । त्यहाँ मजदुरहरुले मे १ तारिखको दिनदेखि सबै मजदुर आफ्नो औजÞार राखेर सड़कमा उत्रिने र आठ घण्टा काम, आठ घण्टा आरामको नारा बुलन्द गर्ने निर्णय गरे ।

एक मे १८८६ का दिन पूरा अमेरिकाका लाखौंलाख मजदुरहरुले एकै साथ हड़ताल सुरू गरे । यो आन्दोलनमा ११ हजार उद्योगका लगभग कम ३ लाख ८० हजार मजदुर सामेल भएको थिए । शिकागो महानगरको आसपास सारा रेल यातायात ठप्प हुन पुग्यो र शिकागोका सबै कारखाना र वर्कसप बन्द भयो । शहरको मुख्य मार्ग मिसिगन एवेन्यूमा अल्बर्ट पार्सन्सको नेतृत्वमा मजदुरहरुले एक शानदार जुलुस निकाले ।मजदुरहरुको आन्दोलन र उनीहरुप्रतिको बढ्दो समर्थन देखेर शहरका सबै धनी व्यापारी उद्योगीहरु निरन्तर बैठक बसेर यस्तो विषम परिस्थितिको बारेमा छलफल गरिरहेका हुन्थे र मजदुरहरुको आन्दोलन कसरी दबाउने भनी छलफल गर्दथे । पुँजीपतिहरु स्थानीय पत्रिकामा मजदुर तथा आन्दोलन विरोधी समाचार लेख छाप्न लगाउँथे ।

मे ३ का दिन सहरको हालत एकदमै तनावपूर्ण हुन गयो । जब मैकार्मिक हार्वेस्टिंग मशीन कम्पनीका मजदुरहरुले दुई महिनादेखि चल्दै आएको लक आउटको विरोधमा र आठ घण्टा कामको समर्थनमा कारवाही सुुरू गरिदिए । जब आन्दोलनकारी मजदुरहरुले प्रहरी सुरक्षामा हडताल तोड्नको लागि ल्याइएको ३०० गÞद्दार मजदुरहरुको बारेमा बैठक सुरू भयो निहत्था मजदुरहरुमाथि अन्धाधुन्ध गोली चलाइयो । चार जना मजदुर मारिए र धेरै घाइते भए । अर्को दिनपनि मजदुरहरूको समूहमाथि निरन्तर हमला गरिरहे । यो बर्बर प्रहरी दमनको विरुद्ध मे ४ तारिखको बेलुकी शहरको मुख्य बजारमा एक विशाल जनसभा राखिएको थियो । त्यस आमसभाको लागि शिकागो शहरका मेयर सँग अनुमति समेत लिइएको थियो । सभा रातको ८ बजे सुरू भयो । करिव ३० हजार मानिसहरुका माझ पार्सन्स र स्पाइसले मजदुरहरुलाई एकताबद्ध र एकजुट भई प्रहरी दमनकोविरुद्ध सङ्गठित हुन आग्रह गरे । सभाका तेस्रो वक्ता स्यामुएल फिल्डेन बोल्नको लागि उभिदा रातको १० बजेको थियो । त्यसैबेला भयंकर वर्षा सुरु भयो । त्यस समयमा स्पाइस र पार्सन्स श्रीमती र दुई बच्चा सहित त्यहाँबाट हिडिसकेका थिए । यो समयमा भीड निकै कम भइसकेको थियो । करिब सय जना मात्र बाँकी थिए । सभा करिव खत्तम हुनै लागेको मात्रै के थियो, १८० प्रहरीको समूह चारैतिरबाट आक्रमण गर्दै सभा चलिरहेको स्थानमा आइपुगे । यसको अगुवाई क्याप्टेन बॉनफिल्डले गरिरहेका थिए, जसलाई शिकागोका जनता क्रूर र खराब स्वभावका कारण घृणा गर्दथे । सभामा सामेल भएका मानिसहरूलाई त्यहाँबाट जान भनियो ।

स्यामुएल फिल्डेनले प्रहरीलाई यो एक शान्तिपूर्ण सभा भएकोले कुनै प्रकारको दङ्गा, आक्रमण नगर्न भनिरहेको बेला कसैले प्रहरीको इसारामा एक बम सभा स्थलमा फ्याकिदिए । आजसम्म पनि त्यो बम फ्याँक्ने व्यक्ति पत्ता लाग्न सकेको छैन । त्यो बम प्रहार गर्ने व्यक्ति प्रहरीले नै भाडामा ल्याएको मानिएको छ । बमको निशानामा आन्दोलनरत मजदुरहरु थिए, तर पुलिस चारैतिर फैलिएका कारणले उनीहरुमाथि बमको असर ज्यादा भयो । परिणामस्वरूप एक प्रहरीको ज्यान गयो भने अरु पाँच घाइते भए । यो घटनाबाट बहुलाएका प्रहरीले चौकको चारैतिर बाट घेरा हाली भीडमाथि अन्धधुन्ध गोली बर्साए । भाग्न खोज्नेमाथि जथाभावी गोली हानियो, लाठीचार्ज गरियो । यस घटनामा छ जना मजदुरहरु मारिए भने २०० भन्दा बढी मजदुर घाइते भए । मजदुरहरुले आफ्नो रगतले आफ्नो कपडा रङ्गाए र त्यही कपडाको झण्डा बनाए ।यो घटनापछि शिकागो शहरमा प्रहरीले मजदुर बस्ती, मजदुरहरुको सङ्गठनको कार्यालय, छापाखाना, कारखानामा जबर्जस्तिका साथ छापा मारियो । प्रमाण जुटाउनको लागि हरेक बस्तु फेरबदल गरियो । हजारौं मानिसहरुलाई शंकाको भरमा मारपिट गर्नुका साथै व्यापक दमन गरियो । सयौं मजदुरहरूलाई गिरफ्तार गरियो ।

आठ मजदुर नेताहरु अल्बर्ट पार्सन्स, अगस्ट स्पाइस, जर्ज एंजेल, एडल्फ, फिशर, स्यामुएल फिल्डेन, माइकेल स्वाब, लुइस लिङ्ग र अस्कर नीबमाथि झूठा मुद्दा चलाएर उनीहरुमाथि प्रहरी लगायत मजदुरहरुको हत्याको आरोप लगाएर दोषी बनाइयो । ती आठजना मध्ये एकजना स्यामुअल फिल्डेन मात्रै बम पड्केको समयमा घटनास्थलमा मौजुद थिए । जब मुद्दामाथि बहस सुरुहुँदा सात जना अदालतमा उपस्थित थिए । डेढ महिनासम्म अल्बर्ट पार्सन्स गिरफ्तार हुनबाट बचेका थिए । उनलाई प्रहरीले पक्राउ गर्न सकिरहेको थिएन । उनी गिरफ्तार हुनबाट बच्न सक्थे तर आफ्ना बेकसुर साथिहरुमाथि भएको बर्बरतापूर्ण यातना र झुटा मुद्दामा फसाउन लागेको थाह पाएपछि आफूलाई स्वतन्त्र रुपमा बाहिर बात हेरिरहन उनको आत्माले सहन गर्न सकेनन् र पार्सन्स आफै अदालतमा आए र न्यायाधीश सामु उभिएर आफू आफ्ना निर्दोष साथीहरू सँगै कठघरामा हाजिर हुन आएको बताए ।

पूँजीवादी न्यायको लम्बेतान नाटक पश्चात २० अगस्त १८८७ मा शिकागोको अदालतले आफ्नो फैसला सुनायो । सात जनालाई मृत्युदण्डको सजाय सुनाइयो भने एक जनालाई पन्ध्र वर्षको जेल ।स्पाइसले अदालतमा चिच्याउदै भने “यदि तिमीहरु हामीलाई फाँसीमा झुण्डाउँदा मजदुर आन्दोलन, गरिबी र मेहनतकर्मी लाखांै श्रमजीवी मजदुरको आन्दोलन कुल्चिन सकिन्छ भन्ने तिमीहरुलाई लाग्छ भने हामी खुसीसाथ झुण्डिन तयार छांै । तर, के कुरा याद राख भने आज तिमी आगोको एक झिल्को निभाउन त सक्छौ होला तर यताउता तिम्रो अगाडि पछाडि, तिम्रो सामुन्ने सर्वत्र मजदुर आन्दोलनको रापले जलाउनेछ । जसलाई तिमीहरुले निभाउन सक्ने छैनौ, यसले तिमीहरुलाई नै खरानी बनाइदिने निश्चित छ ।”

सारा अमेरिका र तमाम अन्य देशमा यो क्रूर फैसलाको विरुद्ध आन्दोलन अझ भड्कियो । जनताको आक्रोशको दबाब सामु अमेरिकाको सर्बोच्च अदालतले पहिले मजदुरहरुको अपिल मान्न अस्वीकार गर्यो भने पछि इलिनाय प्रान्तको गभर्नरले फिल्डेन र स्वाबको फासीको सजाय आजीवन कारावासमा परिवर्तन गरिदिए । १० नोभेम्बर १८८७ का दिन सबै भन्दा कम उमेरका नेता लुइस लिङले जेलको कालकोठरीमा नै आत्महत्या गरे ।

अर्को दिन (११ नोभेम्बर १८८७) मजदुर वर्गको इतिहासमा कालो शुक्रबार सावित भयो । पार्सन्स, स्पाइस, एंजेल र फशिरलाई शिकागोको कुक काउण्टी जेलमा फाँसीको सजाय दिइयो । यसदिन फाँसीदिने अधिकारीहरुले मृत्युको तमासा हेर्नको लागि शिकागो शहरका दुईसय धनी मानिसहरुलाई बोलाएका थिए । उनीहरु ती चार मजदुर रुदै कराउँदै आएको हेर्न लालायित थिए, तर यस्तो उनीहरुले हेर्न पाएनन् । ती मजदुरहरु क्रान्तिकारी गीत गाउँदै नारा लगाउदै फाँसी दिने ठाउँमा आइपुगे । त्यहाँ उपस्थित एक पत्रकारले पछि लेखेका छन् “चारैजना मजदुर नेता क्रान्तिकारी गीत गाउँदै फाँसी के तख्ताको छेउमा हाँस्दै मुस्कुराउदै आइपुगे र आ–आफ्नो स्थानमा शानका साथ । फाँसीको फन्दा उनीहरुको गलामा लगाइयो । स्पाइसको फन्दा साँघुरो भएको थियो त्यसैले फिशरले जब उनको गलामा डोरी लगाइदिए तब मुस्कुराउँदै स्पाइसले फिशरलाई धन्यवाद दिए । त्यसपछि स्पाइसले चिच्याउदै भने, ‘एक समय यस्तो आउने छ, जब हाम्रो मौन शब्द ज्यादा ताकतवर हुनेछ, तिमीहरु फन्दा लगाउदै गर’ फेरी पार्सन्स बोल्न थाले, ‘मेरो कुरा सुन अमेरिकाको मानिसहरु ! जनताको आवाज दवाउन सकिदैन, दवाउने दुस्साहस नगर’ यसै वेला ती मजदुरहरुलाई फाँसी दिइयो ।

१३ नोभेम्बरका दिन चार मजदुर नेताको शवयात्रा शिकागोको मजदुरहरुको एक विशाल ¥यालीमा परिवर्तन भयो । पाँच लाख भन्दा बढी मजदुरहरु आफ्ना नायकहरुको अन्तिम यात्रामा सामेल भए ।

त्यस पश्चात बितेका १३४ वर्षमा कैयांै अनगिन्ति संघर्षमा करोड़ौं मजदुरहरु आफ्नो खुन पसिना बगाइरहेका छन् । फाँसीको तख्ताबाट गुन्जिएको स्पाइसको आवाज मजदुर बिरोधी पुँजीपतिहरुको मुटुमा अझैपनि त्रास पैदा गरिरहेको छ र मजदुरहरुको सम्मान गर्न उद्योगी व्यापारी मालिकहरु बाध्य भइरहेका छन् ।

सोमबार, १८ बैशाख, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर