विराटनगर । विराटनगरकी एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि ती किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगर– ६ का ३० बर्सिया मो।परिजवान अन्सारी पक्राउ परेका हुन् । पक्राउ परेका अन्सारी व्यवसायी पनि हुन् । उनको विराटनगरमा चस्मा पसल रहेको छ ।
अन्सारीले विराटनगरकी एक जना किशोरीलाई २०७४ सालबाट बलात्कारको भिडियो बनाएपछि उक्त भिडियो सामाजिक संजालमा सार्वजनिक गर्ने डर त्रास देखाउँदै बलात्कार गरेको आरोप छ ।
ब्यालकमेलिङ गर्दै अन्सारीले ती किशोरीलाई १५ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । ‘जबरजस्ती करणी गरेपछि पीडितको भिडियो बनाएको पाइएको छ । त्यही अश्लील भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाउने डर त्रास र ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ,’ डिएसपी दाहालले भने, ‘अहिले घटनाको अनुसन्धान सुरु गरिएको छ ।’ बलात्कारको सिकारमा परेकी ती किशोरीको जबरजस्ती करणीबाट दुई पटक गर्भ पनि बसेको थियो । उक्त गर्भ पतन गराएको पनि खुलेको छ । ‘उनको भनेको र गरेको मानेन भने भिडियो सामाजिक संजालमा हालेर भाइरल गराउने डर त्रास देखाउने गरेको थियो । त्यही अश्लील भिडियो बनाएपछि ब्यालकमेलिङ गर्दै जबरजस्ती करणी गरेको छ । करणी गरेपछि बसेको गर्भ दुई पटक पतन पनि गराएको छ,’ ती किशोरीले दिएको जाहेरीमा उल्लेख छ ।
प्रहरीको अनुसार पहिलो पटक २०७४ सालमा जबरजस्ती करणी गरेको पीडित किशोरीले मोरङ प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । पक्राउ परेका अन्सारीलाई मोरङ प्रहरीले आइतबार तीन वटा मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका डिएसपी दाहालले बताए । प्रहरीले उनी विरुद्ध जबरजस्ती करणी, गर्भ संरक्षणको कसुर र विद्युतीय कारोबार ऐनमा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए । किशोरीको अश्लील भिडियो अन्सारीले फेक फेसबुक अकाउन्ट बनाएर हाल्ने गरेको गरेका थिए । त्यसपछि उनी पक्राउ परेका हुन् ।


