संखुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ ।
आयोजनाको निर्माणस्थल नजिक मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो । पहिरोले अरुण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको बताइएको छ ।
अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि नदी थुनिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । नदि थुनिएपछि आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ ।
टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको बताइएको छ । अरुण नदीको वहाब परिवर्तन गरी ४२९ मिटर लामो टनेल निर्माण गरिएको छ । अस्थायी बाँध निर्माण गरी टनेलमार्फत नदी बग्दै आएको थियो ।
टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ । पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुनेछ ।
आइतबार बिहानबाट सुक्खा पहिरो खसिरहेकाले अहिले डाइभर्सनबाट नदीको पानी बगाउने प्रयास भइरहेको छ । अरुण थुनिएपछि अरुण तेस्रोमा ड्यामसाइडको काम ठप्प भएको छ ।


