विमल लामिछाने
पछिल्लो समय पत्रकारितामाथि विभिन्न कोणबाट प्रश्न उठ्ने गरेका छन् । पत्रकारिता स्वतन्त्र, व्यवसायिक र मिसनमा वर्गीकृत हुँदै जाँदा उठ्ने गरेका यी प्रश्नले बेलाबेला ठूलै बहसको रुप लिने गरेको छ । सतही रुपले हेर्दा एउटै जस्तो देखिएपनि विशेषताका आधारमा पत्रकारिता दुईधार बनाएर दौडिएको स्पष्ट देख्न सकिन्छ । एउटा धार अझैपनि यथास्थिति, चाकडी र मुनाफालाई सर्वोपरि राखेर परिवर्तनको विरोधी गतिविधिबाट प्रेरित रहेर पत्रकारिता गरिरहेको छ भने अर्को धारले जनपक्षीय र वर्गीय पत्रकारिताको पक्षपोषण गर्दै आएको छ ।
नेपाल लगायत विश्वका मुलुकहरुमा पत्रकारिताको प्रारम्भ नाफा कमाउन, उद्योग व्यवसाय वा व्यापार धन्दाको रुपमा भएको होइन, अपितु राजनीतिक, धार्मिक वा सामाजिक उद्देश्य पूरा गर्नका लागि भएको पाइन्छ । पत्रकारिताको शुरुआत देखिनै नेपालमा दुईथरिका पत्रकारिता भएको पाइन्छ । राणाकालीन समयमा पनि एकथरी राणा सासनको पक्षपोषणमा र अर्को त्यो व्यवस्थाको विरुद्ध घुमाउरो भाषामा भएपनि उभिएको पाइन्छ । पञ्चायत कालभरि पनि दुईधार नै थियो, एउटाको उद्देश्य पञ्चायती व्यवस्थालाई हरेक उपायले जोगाउनु र अर्कोको उद्देश्य निरंकूश व्यवस्थालाई फालेर प्रजातन्त्रको स्थापना गर्नु थियो ।
दुबै खालको पत्रकारिता एउटा निश्चित उद्देश्य लिएर चलेका हुनाले त्यस बेला पश्चिमी मुलुकमा स्थापित स्वतन्त्र वा व्यावसायिक मान्यताकाअनुसार पत्रकारिता चल्नु सम्भव थिएन । केहीले रहर गरे पनि दीर्धकालीन रुपमा टिकाउ हुन सकेनन् । पञ्चायत कालमा असंलग्न राष्ट्रहरुको आन्दोलनको प्रभाव स्वरुप र बहुदलीय राजनीतिमुखी पत्रकारिताको विरोधको निकासको रुपमा पनि तत्कालीन राज्यव्यवस्थाले विकास पत्रकारितालाई प्रोत्साहन गरेको पाइन्छ । यो पञ्चायत विरोधीहरुका लागि हरियो घाँस थियो । व्यावसायिक पत्रकारिताको अभ्यास गर्न चाहने कतिपय पत्रकारहरु यसैमा भुले भने कतिपय पत्रकारहरु राजनीतिक वा मिसन पत्रकारितामा लागे । कोहीकोही भने दुवैतिर कलम चलाउँदै दुवैका साँचिला भएर बसे । बहुदलीय व्यवस्थाको स्थापनापछि मात्र नेपालमा वर्गीय मिसन पत्रकारिता वा व्यावसायिक पत्रकारिताको सम्भावना मात्र होइन यसको अपरिहार्यता नै महसुस भएको र क्रान्तिकारीहरुले त्यसको पक्षमा कलम चलाएको पाइन्छ ।
पत्रकारिताको इतिहासमा दशक पहिलेकै अवस्था हेर्ने हो भने अहिलेको भन्दा फरक थियो । केहि मिडिया थिए । ती मिडियाहरुमार्फत नै जनमानसमा विचारको सिर्जना हुन्थ्यो । त्यसवेला न त अहिलेको जस्तो अनलाइन मिडियामा वर्षायामको भेल आए जस्तै गरी समाचार आउँथ्यो, न त नागरिकहरुले कुनै पनि विषयवस्तुलाई लिएर सार्वजनिक रुपमा सहजै सोसल मिडियामार्फत् विचार दिन सक्थें । त्यसैले पहिलेको पत्रकारिता एकोहोरो थियो । तर अहिले प्रविधीसँगै तीब्र गतिमा पत्रकारिता भइरहेको छ । पहिला सिधै टीभी, रेडियो वा पत्रिकाबाट मात्र समाचार आउँथ्यो । त्यसको लागि निश्चित समयसम्म कुरेर बस्नु पर्ने हुन्थ्यो । तर, अहिले आफ्नो वरिपरि, जतिबेला पनि आफूले चाहेपछि समाचार सुन्न, हेर्ने र पढ्न पाइन्छ ।
पत्रकारिता प्रविधीमैत्री र सहज भएसँगै चुनौतीपनि उत्तिकै छन् । यी चुनौतीहरुलाई सामना गर्दै आजको पत्रकारिता कसको लागि किन गर्ने भन्नेमा प्रष्ट हुन जरुरी छ । बजारमा देखिएका नयाँनयाँ, आकर्षण पत्रपत्रिका र अनलाइनहरुले नेपाली मिडिया मार्केटमा व्यावसायिकताको प्रवेश कसरी भइरहेछ भन्ने देखाइरहेको छ । विश्वव्यापीकरणको दौड, सञ्चार प्रविधिको अभूतपूर्व विकास, उदार संवैधानिक व्यवस्था आदिले गर्दा पनि नेपालमा पत्रकारिताको विकासमा नयाँ मोड आएको स्पष्टै छ ।
अहिले नेपाली पत्रपत्रिका पसलहरुमा र पाठकहरुको हातहातमा देखिएका अखबारहरु कति व्यावसायिक हुन र कति व्यापारिक हुन् भन्ने कुराको जवाफ अहिले नै खोज्नु अपरिपक्व होला तर यसको प्रवृत्ति जागरुक हुनु पर्ने बेला आइसकेको छ । नयाँ अखवारहरुको आकर्ष साजसज्जा र उत्पादन प्रविधि तथा विज्ञापनको प्रचुरता सकारात्मक पक्षको रुपमा देखिन्छ, तर तिनले कस्ता एजेण्डा वा मुद्दा पाठक वा राष्ट्रकोसामु उठाइरहेका छन् भन्ने कुरा बढी महत्वपूर्ण विषय हो ।
प्रगतिशील भनिएकाहरुले गर्ने पत्रकारिताले आवाज विहीनहरूको आवाज बोल्नुपर्छ भने आफ्नो वर्गप्रति सधैँ इमानदार बन्न सक्नुपर्छ । जनताले न्याय र समानताको आस गरेको हुन्छ, त्यसमा थप विश्वास जगाउन श्रमजिवी पत्रकार सधैँ जनताको बिचमा हुनै पर्छ । त्यसले वर्गीय पक्षधरतालाई थप मजबुत बनाउनुका साथै जनतामा थप भरोसा पैदा गराउँछ ।
विज्ञानले विकास गरेको सञ्चार प्रविधिहरुलाई बढी भन्दा बढी जनता र राष्ट्रको पक्षमा प्रयोग गर्न सक्ने क्षमता परिवर्तनका पक्षधर पत्रकारहरूमा हुनुपर्छ । जनताको हितलाई केन्द्रमा राखेर त्यस्ता सञ्चार र प्रविधिको विकासलाई आफ्नो वर्गको पक्षमा ढाल्न सक्ने सामथ्र्यबिना जनपक्षीय पत्रकारितालाई बचाउन पनि सकिँदैन । जनपक्षीय पत्रकारिता मार्फत श्रमजिवी पत्रकारले गर्ने भनेको शोषित, उत्पीडित जनसमुदायको आवाज उठाउने र दबिएको आवाजलाई मूलप्रवाहमा ल्याउने हो । परिवर्तित समयसँगै पत्रकारिताको रुप प्रविधितर्फ फेरिए पनि सारपक्ष भने उस्तै छ । समाजमा शोषण अझै विद्यमान छ, मात्र त्यसको रूप फेरिएका हो । त्यसबाट आमजनतालाई बचाउन आजको जनपक्षीय मिडियाले नयाँ परिस्थितिमा नयाँ रणनीति निर्माण गरेर आगाडि बढ्न सक्नुपर्छ ।
जनताको आवाज बोल्ने शक्ति बन्न जनपक्षीय पत्रकारहरू कहिँकतिपनि चुक्नुहुन्न । कलम र आवाज मार्फत जनतालाई आफ्नो हक अधिकारको बारेका सधैँ सजग र जागरूक बनाउन श्रमजीवी पत्रकारहरुको मुख्य भूमिका हुन्छ त्यो भूमिका पूरा गराउन सकेमात्रै जनपक्षीय पत्रकारिताको दायित्व पूरा हुन्छ ।
पछिल्लो समय परिवर्तनका विरोधी शक्ति केन्द्रका एजेन्टका रुपमा पत्रकारिता गर्नेहरु बढ्दै गएका छन् । उनीहरुले बाहिर बाहिर पत्रकारिता स्वतन्त्र हुनुपर्छ भन्छन् र भित्रभित्र घरानीयाँ र उही पुरानै सामन्तवादको पक्षपोषण गरिरहेको पाइन्छ । स्वतन्त्रताको नाममा अराजकतालाई कहिल्यै प्रश्रय दिनुहुन्न ।
अर्कोतर्फ राष्ट्रिय राजनीतिले पत्रकारितालाई डोर्याएजस्तो भइरहेको छ, राजनीतिको प्रत्यक्ष असर पत्रकारितामा पनि परेको छ । अहिले पार्टीगत, व्यक्तिगत र निश्चित स्वार्थ भएका व्यक्तिहरुले प्रतिशोध साँध्नमात्रै पनि मिडिया चलाएका छन् । राजनीति माफिया र भ्रष्टहरुको हातमा पर्दै जाँदा पत्रकारितामा पनि विखण्डन, बुर्जुवाशैली, चाकडी र पितपत्रकारिताले घर गर्न खोजेको जस्तो हुनु दुःखद् हो । शक्ति राजनीतिको आकांक्षा र उद्देश्य सत्तामा पुगेपछि पूरा हुनसक्छ, तर धन कमाउने इच्छा आकांक्षाको अन्त हुँदैन । यसैले सत्तामुखी पत्रकारिताको तुलनामा नाफामुखी पत्रकारिता बढी गैर जिम्मेवार र हानीकारक हुनसक्छ भन्ने कुरा केही पछिल्ला घटनाक्रमले पुष्टी गरिसकेको छ ।प्रगतिशिल पत्रकारले समाजका भ्रष्ट, दलाल, नाफाखोर, श्रमशोषकहरुका आवाज मिडिया मार्फत जनताकोमा पु¥याउने काम कदापि गर्नुहुन्न । संचारलाई वर्गीय हित, सामूहिक हित, जनहित, राष्ट्रहितमा प्रयोग गर्न सक्नुपर्छ ।
समाजले इमानदारिता, लगनशीलता, वर्गप्रतिको इमानदारिताको आशा गरेको हुन्छ । वर्ग विभाजित समाजमा वर्गीय पक्षधरता अँगालेर निमुखा भूँइमान्छेहरुको आवाज बुलन्द हुनेगरि पत्रकारिता गर्नु अनिवार्य सर्त हो । पत्रकारितामा पनि वर्ग पक्षधरता अनिवार्य हुन्छ । प्रगतिशील पत्रकारिता जनतातर्फ फर्केको, श्रमप्रति सम्मान बढाउने र पारदर्शी हुनैपर्छ । प्रगतिशील पत्रकारले गर्ने पत्रकारिताले श्रमजीवी जनतामा खुसी ल्याउन सक्नुपर्छ ।
bmllamichhane@gmail.com