विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय सरकार बन्ने कुरा सार्वजनिक गरेसँगै काँग्रेसभित्र गुटगत छलफलमा तीब्रता आएको छ ।

सरकारको सय दिनका उपलब्धी सार्वजनिक गर्ने क्रममा मुख्यमन्त्री कार्कीले भने, ‘मेरो प्रयास अब सर्वदलीय सरकार बनाउने हुनेछ, सबै दललाई म आव्हान गर्न चाहन्छु ।’

कार्कीले गरेको उक्त कुरालाई नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापाले सकारात्मक भन्ने प्रतिक्रिया जनाएपछि काँग्रेसभित्र गुटगत छलफलले तीब्रता पाएको हो । उनी काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रतिनिधित्व गर्ने एक मात्र नेता हुन् । वर्तमान महामन्त्री गगन थापा र डाक्टर शेखर कोइराला गुटका सांसद केदार कार्कीले भने मुख्यमन्त्री कार्की र आफ्ना दलका नेता थापाको कुरासँग असमति रहेको बताएका छन् ।

‘जनताले पाँच वर्षका लागि गठबन्धनलाई चुनेर प्रदेशको नेतृत्व गर्न पठाएका हुन् । कसको के र कहाँ सम्बन्ध छ भनेर खासै महत्व राख्दैन । दलका नेताको व्यक्तिगत कुरा हुनसक्छ । पार्टीभित्र त्यस विषयमा कुनै कुरा भएको छैन,’ कार्कीले भने, ‘लोकतन्त्रको सौन्दर्य भनेकै प्रतिपक्षीसहितको संसद हो । त्यसअर्थ प्रतिपक्षी बिहीन संसद बनाउने कुरा लोकतान्त्रिक मूल्य, मान्यता र मर्म विपरीतको कुरा हो । काँग्रेस आफैंमा लोकतन्त्र र संसद्वादमा विश्वास गर्ने पार्टी भएकोले त्यो कुरालाई स्वीकार गर्दैन ।’
यसैगरी संस्थापन पक्षका नेता भनेर चिनिएका हिमाल कार्कीले गठबन्धनको मूल मर्म र उद्देश्य विपरीत कोशी प्रदेशमा सरकार बनाउने कुरा मान्य नहुने बताए । ‘पाँच वर्ष गठबन्धनको नेतृत्वमा सरकार बन्ने गरी जनताले मत दिएका छन् । त्यो मतको कदर गर्नका लागि पनि हामी उक्त कुरामा सहमत छैनौं,’ उनले भने, ‘एमालेलाई सर्वदलीय नै बनाउन मन लागेको भए हाम्रो गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा सामेल हुन तयार हुनुपर्छ ।’

प्रदेशका काँग्रेस नेता तीनतिर फर्किए पनि केन्द्रीय पार्टीको धारणा के हो भन्ने कुरा हालसम्म सार्वजनिक भएको छैन । केन्द्रमा कृष्ण सिटौला कमजोर भएपनि कोशी प्रदेशमा संसदीय दलको नेता उनको पक्षमा रहेकाले सिटौलाको भूमिकालाई कम आँक्न मिल्दैन । यस्तै डाक्टर शेखर र गगन थापा पनि कोशी प्रदेशमा आफू बलियो हुने गरी लागि परेका छन् । जसको निम्ति केदार कार्कीलाई विशेष भूमिका दिन उनीहरु चाहन्छन् । तीनवटै गुटको केन्द्रबाट बाहिरिएका प्रदेशका सांसद तथा काँग्रेस नेता अमृत अर्याल भने आफूलाई के फाइदा हुन्छ भन्ने कुराको पर्खाइमा रहेका छन् । साथै काँग्रेस छोडेर राप्रपा प्रवेश गरेका झापाका नेता भक्ति सिटौलालाई मुख्यमन्त्री बनाएर भएपनि एमाले नेतृत्वको सरकार गिराउने भूमिकामा अर्याल लागि परेको कतिपय बताउँछन् ।

मुख्यमन्त्री कार्कीले भने प्रदेश सरकारको विषयमा धेरै विवाद सिर्जना भएको अवस्थामा प्रदेशसभा विघटन हुने र मध्यावधिमा जानसक्ने बताउछन् । त्यसलाई रोक्न आफूले सर्वदलीय सरकार गठनको प्रस्ताव गरेको उनको जिकिर छ । उक्त जिकिरलाई काँग्रेस दलका नेता कार्की जालसाँजी र मध्यावधिलाई देखाएर मुख्यमन्त्री कार्कीले आफ्नो आयु लम्ब्याउने चलखेल गरेको बताउँछन् ।

काँग्रेसमा मुख्यमन्त्रीको भनाईलाई लिएर काँग्रेसमा विभिन्न प्रतिक्रिया आइरहेको छ । हाल सरकारमा सहभागी रहेको मुख्य घटक माओवादीका केही सांसदले पनि मुख्यमन्त्री कार्कीको कुरालाई बल पुग्ने गरि प्रतिक्रिया दिएका छन् भने नेकपा (एकीकृत समाजवादी)ले हालसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन ।

कोशी प्रदेशमा नेपाली काँग्रेसका २९, माओवादी (सभामुख सहित) १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाका १ सांसद छन् । सरकार बनाउनका लागि ४७ सांसद चाहिन्छ । चार दलका सांसद जोड्दा ठिक्क ४७ मात्रै पुग्छ । सभामुखले बराबरी भएको अवस्थामा मात्रै भोट हाल्न पाउने भएकोले केन्द्रकै गठबन्धन दललाई बहुमत सिद्ध गर्न चर्को पर्ने देखिन्छ । सरकार नै गठन हुन नसक्ने अहिलेको परिस्थितिलाई ध्यान दिएर नै राप्रपाले आफैं मुख्यमन्त्रीमा पहल गर्न कोशिष गरिरहेको कतिपयले बताएका छन् ।