गणेश लम्साल
नयाँ बर्ष २०८० सुरु हुनुभन्दा एक हप्ता अगाडी कोसी प्रदेशका केही पहाडी जिल्लाको भ्रमण गर्ने अवसर जुरयो । एउटा सक्रृय पत्रकार भएकोले भ्रमणका क्रममा धेरै रमाइला अनुभव मात्र भएनन सञ्चार माध्यमका लागि धेरै प्रकारका समाचारहरु पनि प्राप्त भए ।
प्रेस सेन्टर प्रदेस समितिको साधारण सभामा सहभागी हुन २०७९ को चैत अन्तिम हप्ता ऐतिहासिक जिल्ला भोजपुरको टेम्केमैयुम गाउँपालिकाको चखेवा भन्ने ठाउँमा पुगेका थियौ हामी । चिसो हावापानी र फराकिलो खर्क (नागी ) अनि शान्त वतावरण भएको चखेवाको दुई दिन बसाईमा पुर्वको रमणिय टेम्के पर्यटकिय क्षेत्रको अवलोकन मात्र भएन मुन्धुम पदमार्ग पनि हेर्ने बुझने अवसर पाईयो । स्थानियबासीहरुसँग भेटघाट गर्दा रोजगार , पेशा व्यावसायबारे धेरै सकारात्मक समाचारहरु पनि फेला पारियो ।
प्राप्त सकारात्मक समाचारका अनुसार पहाडमा लगानीको प्रशस्त संभावना बढन थालेको रहेछ । मध्यपहाडी लोकमार्गले गर्दा पहाडी पर्यटन व्यवसाय फस्टाउन थालेको रहेछ । मध्यपहाडी लोकमार्गमा सवारी साधनको आउजाउ बढेको मात्र रहेनछ उक्त्त मार्ग भएर पहाडका रमणिय क्षेत्र घुमफिर गर्ने धार्मिक तीर्थस्थलहको दर्शन गर्नेहरुको संख्यामा पनि बृद्धि गराएको रहेछ ।
धनकुटाको लेगुवाघाट हुदै भोजपुरको विभिन्न पर्यटकिय क्षेत्र घुमेर खोटाङंको हलेसी महादेव मन्दिररको दर्शन गरेर तराई झर्ने तराईबासीहरु पनि प्रशस्त हुनथालेका रहेछन । राष्टि फुल गुराँस हेर्न मात्र हैन प्रजातिको अध्यन गर्न जानेहरु पनि बृद्धि भएका रहेछन । पहाडका प्राय सबै बजारहरुमा तराईबाट गएका व्यपारीहरुले राम्रोसँग व्यापार व्यवासाय गर्न थालिसकेका रहेछन । जसले गर्दा पहाडको व्यपार सोझै तराईका शहरहरुसँग जोडिसकेको रहेछ ।
अर्कोतिर सुरक्षित सडक र शान्त वतावरण अनि चिसो हावापानीका लागि पहाडको धामिर्क , साँस्कृतिक अनि प्राकृतिक सौन्दर्यताको स्वादलिदै लामोदुरीको यात्रामा रमाउने पर्यटकहरु पनि बढन थालेका रहेछन । यसैले पहाडमा शुद्ध आर्गेनिक खाना खुवाउने र सफा र शान्त वतावरणमा सुताउने होमस्टे मात्र नभएर होटल र रिर्सोटहरु पनि बढन थालेका रहेछन । चखेवामा रहेका होटल सञ्चालिकाहरुले बताए अनुसार टेम्के क्षेत्र घुम्न आउने पर्यटकहरु सबैलाई खाना र बास दिनेगरि होमस्टे र होटलहरु अझै पर्याप्त भैसकेका रहेनछन । कति पर्यिटक खाना र बासको समस्याले गर्दा एकै दिनमा फर्कन बाध्य भैरहेका रहेछन ।
उक्त्त क्षेत्रमा लगानीको संभावनालाई बुझेका स्थानियहरु मात्र नभएर तराईबाट गएका युवा उद्यमीहरुले पनि धमाधम होटल , रिर्सोटमा लगानी गर्न थालेका रहेछन । भोजपुरका पहिले उजाड देखिने पाखाहरुमा आर्गेनिक उत्पादन दिनसक्ने चिया बगानहरु पनि खुल्न थालेका रहेछन । ती बगानमा उत्पादन भएको चिया विश्व बजार सम्म पुग्न थालिसकेको रहेछ ।
टेम्केमैयुम गाउँपालिका २ छिनामखी श्यामसिलामा गोठेसिँह नामको सुबिधा सम्पन्न होमस्टे संञ्चालन गरिरहका दम्पती प्रकाश र समिक्षा राईका अनुसार गर्न सकेमा अब पहाडमा प्रशस्त पैसा फल्न थालेको छ । आफुलाई दक्ष बनाएर लगानी गर्न सके अब कसैले ऋण काढेर बिदेशिनु पर्ने वा रोजगार खोज्दै तराई झर्नुपर्ने बाध्यता पहाडमा छैन । ४ बर्ष अगाडी होमस्टे सुरु गरेका उनीहरुलाई बाह्रै महिना पहुनालाई सेवा दिन भ्याई नभ्याई हुँदोरहेछ । उनीहरुले बताए अनुसार थेग्नै नसक्नेगरि पाहुनाहरु आउने गरेका छन । तर आफनो व्यावसायबाट सन्तुष्ट रहेका उनीहरु खिन्न पनि रहेछन । किनभने पहाडमा पैसा फल्न थालेपनि काम गर्ने जनशक्त्ति भने अझै रहेनछ । जनशक्त्ति अभावले गर्दा उनीहरुले चाहेर पनि आफनो होमस्टेको सेवा बिस्तार गर्न सकिरहेका रहेनछन । यस्तै गुनासो चखेवामा होटल सञ्चालन गर्नेहरुको पनि थियो । प्राय होटलमा बृद्धबृद्धा र महिलाहरु नै आफै पाहुनाहरुको सेवामा खटिएको देखियो ।
हाम्रा पुर्खाहरुले हप्तौ दिन लगाएर तेल—नुन तराईबाट ढाकेरमा बोकेर कष्टपुर्ण गुजारा चलाए जस्ता छैनन अब हाम्रो प्रदेशका पहाडहरु । प्राय सबै पहाडी जिल्लामा पक्की सडक पुगिसकेका छन । सञ्चारको सहज पहुँच भैसकेकको छ । प्राय एक दुई बाहेक सबै पालिकाहरुको सडक सञ्जाल सदमुकामसँग जोडिसकेको छ । शिक्षा र स्वास्थ्यका लागि पुर्वाधारहरु पनि निर्माण भैसकेका छन । स्थानिय उत्पादनहरु सोझै तराई सम्म आइपुग्न थालिसकेको छ । पहिले हुदै आएको निर्वाहमुखी व्यावसायहरु अब व्यावसायिक रुपले सञ्चालन हुन थालिसेकेका छन । हाम्रो प्रदेशका प्राय सबै पहाडहरु हराभरा छन । धार्मिक , साँस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपुर्ण छन । यसैले पहाडमा अब पहिले जस्तो दुख मात्र छैन मेहनत गर्नेहरुलाई सुखले पनि पछयाउन थालिसकेको छ ।
तर विडम्बना पहाडमा हुनुपर्ने जति मानिश छैनन । बसाई सर्ने क्रम अझै रोकिएको छैन । मानिशहरु आफना नातागोतालाई पछयाउदै भौतिक सुबिधा उपभोग गर्न पहाड छाडिरहेका छन । पहाडमा हुनुपर्ने युवा जनशक्त्ति पनि बिदेशिएको छ । र, बिदेशबाट फर्केपछि आफनै ठाउँमा लगानी गरेर उद्यम व्यवसाय गर्न भन्दा सुख भोग गर्न तराईतिर झर्ने गरेको छ । बसाई सरिसकेका र सर्नेहरुले गर्दा पहाडको समाज घटदै जान थालेको छ ।
यसैले अब पालिका , प्रदेश र संघीय सरकारहरुले ‘पहाड फर्क’ अभियान चलाउनुपर्छ । त्यसका लागि उद्यम गर्नेलाई अनुदान दिने । आपनो घरगाउँ फर्केने परिवारलाई प्रोत्साहन गर्ने । अनि स्थानिय पेशा , ज्ञान र शिपलाई व्यवसायिक बनाउने नीति सहितको कार्यक्रम ल्याउनुपर्छ । पर्यटन र कृषी व्यवसायका लागि स्थानियलाई नै प्राथमिकता दिएर शिप प्रदान गरि दक्ष जनशक्त्ति उत्पादनमा जोड दिनुपर्छ । मैले सुने अनुसार युरोपका कतिपय देशहरुले गाउँ फर्कने परिवारलाई लाखौ डलर दिने गरेका छन अरे । हाम्रो सरकारले पनि यसरी बिशेष प्राथमिकता दिएर पहाड फर्क अभियान चलाउनुपर्छ ।
किनभने हाम्रो प्रदेशका १४ जिल्ला मध्ये ११ वटा जिल्ला पहाडी र हिमाली छन । तराईमा पर्ने भनेको झापा , मोरंङ र सुनसरी मात्र हो । प्रदेशको धेरै भुभाग पहाडमै पर्छ । यसैले अझै पनि हामीले पहाडलाई उपेक्षा गरिरहयौ भने हामीमा परनिर्भरता हाबी भएर बरोजगारी त झन बढछ नै खाद्य संकट पनि बढेर जानेछ । र हामी प्रचुर संभावना बोकेर पनि परनिर्भर अर्थतन्त्रमा बाँचिरहन बाध्यहुनेछौ । सधैभरि पहाडबाट मानिशहरु पलायन भैरहे भने भोलि तराईले मात्र थेग्न सक्छ होला ?यो कुनै एक तहको सरकारले मात्र समाधान गर्न सक्ने समस्या हैन । यसैले ढिलो नगरौ , पालिका , प्रदेश र संघीय सरकारले हातमालो गर्दे घरपरिवार सहित पहाड फर्क अभियान थालौ ।