विराटनगर । गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निर्णय कार्यान्वयन गर्दै विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्दै बजारमा अनुगमन थालेको छ ।

महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको छ । महानगरको टोली पसल–पसल पुगेर बिक्री नगर्न आग्रह गर्दै स्टकमा राखेका सुर्तीजन्य पदार्थ जपथसमेत गरेको छ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाइ गर्न सुरु गरेको जनाएको छ ।

चुरोट, गुट्का, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले महानगर कठोर रुपमा उत्रिएको सरसफाई शाखा प्रमुख पुनम दाहालले बताए । सुर्तीजन्य पदार्थको खोलले महानगरको सरसफाईमा ठूलो चुनौती सिर्जना गरेको उनको भनाइ थियो ।

सरसफाई शाखाका प्रमुख दाहाल, नगर प्रहरीका प्रमुख राजन पौडेलसहितका टोलीले पसलमा पुगेर सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिँदा व्यापारी र स्थानीयले उद्योग नै बन्द गर्नुपर्ने माग अघि सारेका थिए । कतिपय स्थानीयले त आफ्नो परिवारको सदस्यको क्यान्सरको उपचार गर्न लाखौं रुपैयाँ सकिएको भन्दै महानगरको अभियान अत्यन्तै सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।