राजावादीहरुको दुस्वप्न

 सम्पादकीय

केही दिनअघि सुनसरीको इनरुवामा ‘नागरिक अभिनन्दन’ थाप्दै पूर्व राजा ज्ञानेन्द्र शाहले फेरि एकपटक दलीय व्यवस्थाविरुद्ध विषवमन गरे । यही मौकामा राप्रपा लगायत उग्र दक्षिणपन्थी समूहहरु उत्साही जस्तो देखिए । यसरी राजनीतिक गतिविधिमा रमाउने स्वतन्त्रता निश्चय नै राजावादीहरुलाई छ । तर, संविधानको बर्खिलापमा भइरहने गतिविधिप्रति सरकारले गहिरो नजर लगाइराख्न चाहिँ जरुरी छ ।

बेला–बेला मुलुकमा राजावादीहरुको नाममा अनेकौ उद्दण्डता हुने गरेको छ । गत वर्ष नेपालगन्जमा जनान्दोेलनकी सहिद सेतु विकको सालिक तोडफोड भएको थियो । अहिले त्यस्तै नभए पनि ज्ञानेन्द्र शाही लगायतका राजावादीहरु संसद्देखि विभिन्न मन्चमा जथाभावी अभिव्यक्ति दिँदै हिँडेका छन् । निश्चय नै राजनीतिक रुपमा कुनै विचारधारामा आस्था राख्ने छुट लोकतन्त्रमा सबैलाई हुन्छ । तर, अहिलेको व्यवस्था ल्याउन लडेर सहादत प्राप्त गरेका सहिदहरुकै सालिक तोडफोड गर्ने, यही व्यवस्थाका लागि जीपवन बदिलान गरेकाहरुलाई आतंककारी भनेर दुत्कार्ने दुष्कर्म कुनै पनि हालतमा क्षम्य हुनैसक्दैन । राजा–महाराजाहरुको प्रशस्तिमा रमाउने अनि सहिद र आन्दोलनकारीहरुको निरन्तर

अपमान गर्ने मण्डले प्रवृत्तिलाई निरुत्साहित तुल्याउन लोकतन्त्रवादीहरु दरिलो रुपमा उभिनुपर्छ । इनरुवामा आएर लोकतन्त्रविरोधी अभिव्यक्ति दिने ज्ञानेन्द्र शाह हुन् वा मृत राजतन्त्र स्थापनाको दिवास्वप्न देखिरहेका ज्ञानेन्द् शाही र उनको समूहले बुझ्नै पर्छ, नेपाली जनताले अदम्य साहस प्रदर्शन गरेर गोली खान तयार हुँदै राजतन्त्र बिदा गरेका हुन् । राजतन्त्रको छत्रछायाँमा रहेर राज्यमाथि दोहन चलाउँदै आएको एउटा सानो समूहले आन्दोलनको उपलब्धिलाई ललकार्ने दुस्साहस गर्नु लोकतन्त्रका लागि लडेका समस्त सहिद र जनताको अपमान हो । लोकतन्त्रका योद्धाहरुको अपमान गर्ने छुट कसैलाई छैन । अझ जनताको शक्तिको सदा अपमान गरेर राजाको चाकडीमा रमाउने राजावादीहरुलाई त झनै छैन ।

राजावादीहरुले स्थापित गरेको एउटा गलत भाष्यको भ्रम अझै पनि कहिँकतै देखिन्छ । यो देश राजाहरुले बनाएको हो भन्ने भ्रमका आधारमा राजावादीहरु गुमेको सत्तासुख फर्काउने दुस्वप्न देखिरहेका छन् । खासमा यो देशका निर्माता जनता हुन् । जनताको सर्वोच्चताभन्दा माथि अरु कसैको पनि आसन हुनै सक्दैन । यही सत्य बुझेरै नेपाली जनताले दशकौं लडेर राजतन्त्रको समुल नष्ट गरेका हुन् । अब फेरि यो वा त्यो बहानामा राजतन्त्र फर्काउने सपना देख्नु कारुणिक आशावाद सिवाय केही होइन । समयको सुई उल्टो कहिल्यै घुम्दैन । कम्तीमा यो प्राकृतिक सत्य स्वीकार्न कथित राजावादीहरु तयार हुनुपर्छ । उनीहरुको व्यवस्थाविरोधी चलखेलप्रति सरकार कठोर रुपमा पेश हुनैपर्छ । गणतन्त्रमाथि धावा बोल्न खोज्ने प्रयासलाई लोकतन्त्रका नाममा छुट दिइनुहुन्न ।

निश्चय नै अहिलेका दलहरुको कार्यशैलीमाथि प्रश्न उठाउनैपर्छ, उठ्छ । तर, यसको अर्थ दलहरुको विकल्पमा राजा प्रस्तुत गर्नुपर्छ भन्ने किमार्थ होइन । लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो । यसबीचमा आपसी बेमेल बढाएर कुनै न कुनै रुपमा राजावादी शक्तिलाई पुठ दिने गल्ती दलहरुले नै गर्दै आएका छन् । लोकतान्त्रिक शक्तिहरुबीचको तिक्तता र बेमेलको फाइदा केही नगण्य ठाउँमा राजावादीहरुले लिएका छन् । यस्ता अवसर दिने दलहरुले पनि आफ्ना कमजोरीबारे समिक्षा गर्नुपर्छ ।

आइतबार, २६ चैत, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर