विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) घोषित रुपमै नेपालमा संवैधानिक राजतन्त्र फर्काउने अभियानमा छ । राप्रपाको त्यो अभियान भन्दा आक्रामक ढंगले पछिल्लो समय दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियान नामक संस्थाले पनि राजा फर्काउन अभियानमा थपिएको छ ।
राजनीतिक दलहरुको अकर्मण्यता, कुशासन र सत्ता राजनीतिको दाउपेचले जनता भने पिरोलिरहेका छन् । हाल देशमा देखिएको आर्थिक संकटका कारण ब्याजदर आकाशिएको छ । त्यही कारण बैंक तथा लघुवित्त वित्तीय संस्थाका ऋणिहरुको उठिबास लागिरहेको छ । मिटरब्याजीका कारण सिंगो देशका निम्न आर्थिक अवस्था भएका जनतालाई पिरोलिरहेको छ । यही बेला राजनीतिक दललाई बद्नाम गर्दै राजतन्त्र फर्काउने अभियानमा लागेका उनै दुर्गा प्रसाईले बुधबार झापाको दमकमा आयोजित कार्यक्रममा केही नयाँ र गम्भीर खुलासा गरेका छन् ।
विभिन्न स्थानमा जथाभावि बोलेर युटुबर र धेरै गरिव तथा ऋणबाट पीडित जनतालाई आफ्नो पक्षमा लाग्न उक्साइरहेका उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि संवैधानिक राजतन्त्र ल्याउने पक्षमा रहेको खुलासा गरे । उनले त्यति मात्रै भनेनन् केपी शर्मा ओलीले आफू हिन्दू राष्ट्रको पक्षमा र संघीयता खारेज गर्ने पक्षमा आफू रहेको बताउने गरेको दाबी पनि गरे । उनै केपी ओलीको सल्लाहमै झापाको मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याएर कार्यक्रम गरिएको पनि प्रसाईको दाबी छ ।
झण्डै १ घण्टा भाषण गरेका प्रसाईले केपी ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेसका सभापति शेरबहादुर देउवालगायतको मात्रै आलोचना गरेनन् राष्ट्र बैंकका गभर्नर महाप्रसाद खतिवडालाई ‘दलाल’ भन्नसमेत भ्याए । ‘मैले केपी ओलीज्यूकै सल्लाहमा मैले राजा ज्ञानेन्द्रलाई मेची पुलमा ल्याएको हो । आज मैले दमकमा आएर सत्य कुरा गर्नुपर्छ र मेरै फोनबाट पारस सरकारसँग कुरा भएको हो केपी ओली ज्यूको । त्यो पनि मैले सत्य बोल्नैपर्छ । म पनि आउँछ त्यहाँ भन्नुभएको थियो र संवैधानिक राजतन्त्र ल्याउनु पर्छ नाती, हिन्दू राज्य कायम गराउनु पर्छ । हिन्दूचाहिं भनिहाल्नु हुँदैन अहिले बोलिहाल्नु हुँदैन । तर, वैदिक सनातन धर्म भन्नुपर्छ । संघीयता त काम लाग्दैन खारेज गर्नुपर्छ भन्नुहुन्थ्यो हजुरबाउले,’ भाषणका क्रममा प्रसाईले भने, ‘म पनि होला भन्ने लागेर राजालाई मैले पनि बोलिहालें । राजा पनि आउने हुनुभयो । सबै गरेपछि अहिले राजा नल्याउँ न नाती भन्नुभयो । मेरो पनि इज्जतको कुरा हो नि । म पनि कुमाई परिवारकै मान्छे हो । आठराईको पानी खाको । अनि फर्किने कुरा भएन । अहिले दमकमा आएर यो दुःखको कुरा भन्नुपरेको छ । मेरा हजुरबुबालाई भन्नुपर्छ ।’
प्रसाईले आफ्नो भनाइको पुष्टि गर्न मेची पुलमा पूर्व राजा आएकै दिन एमाले अध्यक्ष ओली पनि झापा आएको स्मरण गरे । ‘राजा मेची जाँदा हजुरबा पनि दमक त आउनु भएकै हो नि ? तर कसोकसो गर्दा उहाँ आउनु भएन । त्यसपछि हिक्मत कार्की, थापा दाजुभाईले दुर्गा प्रसाईलाई कारबाही गर्नुपर्छ भनेर दबाब दिएछन् । त्यो थाहा पाउने वित्तिकै मैले हजुरबुबालाई तपाईको झोला चाहिँदैन भनेर केन्द्रीय सदस्य छोडेको हुँ,’ उनले भने ।
अर्को प्रसंगमा उनले प्रदेशको नाम किराँत–लिम्बुवान राज्य बीचमा मिलाएर खस राज्य बनाउँदा हुने पनि बताए । ‘मेरो त संघीयतै खारेज गर्नुपर्छ भन्ने हो । यदि सकिँदेन भने किराँत–लिम्बुवान राज्य बीचमा मिलाएर खस राज्य बनाउँदा हुँदैन ? सकेसम्म हामी मिलेर बाँच्न पाए भएन ?,’ उनले भने ।
उनले केपी ओलीलाई इंगित गर्दै ‘हजुरबाले दमकमा ठूलो टावर बनाइदिनु भएको छ । त्यही टावरमा चढेर तपाईहरुले दार्जिलिङको विकास हेर्नु होला । आज टावरको आवश्यकता थियो कि भुइँ मान्छेलाई गरिखाने आधार चाहिएको थियो ?’ भन्ने प्रश्न पनि गरे । उनले राष्ट्रबैंकको गभर्नर महाप्रसाद खतिवडा दलालको कारण देश टाट पल्टिदै गएको दाबी पनि गरे ।

