एसइइ परीक्षा : विद्यार्थी तर्साउने हाउगुजी

 सम्पादकीय

शुक्रबारदेखि यस वर्षको एसईई परीक्षा सुरु भएको छ । ४ लाख ८५ हजार छात्रछात्रा सहभागी भएको परीक्षामा राष्ट्रिय परीक्षा बोर्डले नै लिएको छ । मुलुक संघीयतामा गएको ७ वर्ष पुरा भएको छ । संघीयतामा गएपछि परीक्षा प्रदेशले लिनुपर्ने हो । तर, अहिले पनि प्रश्नपत्र पठाउने, उत्तरपुस्तिका जाँच्ने र नतिजा प्रकाशन गर्ने काम केन्द्रले गर्नेछ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा मानेको छ । तर, एसइई परीक्षालाई पुरानो एसएलसीको रूपमै लिने गरिएको छ । शिक्षक, विद्यार्थी र अभिभावकका लागि एसइई परीक्षाका विषयमा अझै पुरानै हाउगुजी जस्तो छ । होम सेन्टर परिवर्तन, परीक्षालाई तामझाम जस्तो देखाइरहने र प्रदेशले केन्द्रबाटै परीक्षा सञ्चालन हुने यसको कारण हो ।

एसईइ पनि सामान्य विद्यालय स्तरको परीक्षा हो । यो १० कक्षाको जाँच मात्रै हो । पहिलेजस्तो १० कक्षा पनि उत्तीर्ण गरेपछि दिइने परीक्षा हैन । कक्षा १२ सम्मलाई माध्यमिक तह मानेपछि परीक्षा पनि सोहि विद्यालयमा हुनुपर्ने हो । अर्कोतिर कक्षा १० को परीक्षालाई एसईइ भन्नुपर्ने कारण पनि छैन । एसइई भनेर माध्यमिक तहको र विद्यालय छोडेको भनेर दुई वटा प्रमाणपत्र दिनुपर्ने आवश्यकता देखिन्न । संघीयताविरोधी सोच भएको कर्मचारीतन्त्र र राजनीतिक दलको नेतृत्वमा केन्द्रीय मानसिकता कायमै रहेकोले एसईइ सञ्चालन भइरहेको छ । कुनैपनि विद्यार्थीबाट शुल्क उठाउन नमिल्ने राज्यको नीति विपरित परीक्षा बोर्डले एसईइको नाममा शुल्क उठाइरहेको छ । एसईइ परीक्षाबारे गरिने ठूलो हल्लाखल्लाले विद्यार्थीलाई मानसिक दबाब दिने गरेको छ । आफूले अध्ययन गरेको विद्यालयभन्दा बाहिर गएर धेरै विद्यार्थी परीक्षामा सहभागी हुनुपर्ने अवस्था छ । जसले गर्दा पनि उनीहरुलाई दबाबको महशुस हुन्छ ।

राज्यको व्यवहारकै कारण एसईइप्रति अभिभावक र विद्यार्थीको डर हुने गरेको छ । एसईई सामान्य परीक्षासरह भएपनि त्यो बुझाई रहेको छैन । अभिभावक र विद्यार्थीमा यो अझै विशेष हुने गरेको छ । एसईई परीक्षामा सहभागी हुने विद्यार्थीलाई दिइने महत्व, उनीहरूलाई गरिने व्यवहार, उनीहरूले पाउने शुभेच्छा, परीक्षा तयारी, परीक्षा केन्द्रहरूमा छरिने ११ कक्षाको भर्नाको विज्ञापन र सञ्चार माध्यममा हुने चर्चा परिचर्चाले एसईई सामान्य होइन विशेष हो भन्ने मान्यता स्थापित छ । कुनैबेला ‘फलामे ढोका’ भनिने माध्यमिक तहको परीक्षाप्रति अहिले पनि चासो, चिन्ता र भय देखिन्छ । अन्य कक्षाको वार्षिक परीक्षाजस्तै हो एसईई परीक्षा भन्ने बुझाइ स्थापित हुन सकेको छैन ।

एसईई परीक्षालाई छोडेर कक्षा १ देखि स्नातकोत्तरसम्म एउटा विद्यार्थीले करिब १९ वटा वार्षिक परीक्षा दिनुपर्छ । तर, चर्चा एसईइको मात्र हुन्छ । एसईईपूर्व तथा एसएलसीपछिका विभिन्न परीक्षा कहिले सञ्चालन हुन्छन्, कहिले त्यसको नतिजा प्रकाशित हुन्छ भन्ने नियमित कक्षामा जाने विद्यार्थीबाहेक अन्यलाई थाहा नै हुँदैन । यसरी एसईईलाई अग्लो पहाड बनाइएको छ । जसलाई जसरी पनि वारपार गर्नुपर्ने बाध्यतामा हुन्छन्, विद्यार्थी । नामैले पनि यो सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) अर्थात माध्यामिक शिक्षा परीक्षा हो । स्कूले जीवनको माध्यमिक तह पार गर्ने एउटा परीक्षा मात्रै हो । तर, यो परीक्षालाई ठूलो हाउगुजी बनाइएको छ । नतिजा ग्रेडिङ प्रणालीमा आउँदा समेत त्यसलाई प्रतिशतमा रुपान्तरण गरेर होहल्ला गर्ने क्रम रोकिएको छैन । एसईईमा प्राप्त अंकलाई प्रतिष्ठाको विषय बनाइएको छ । जसले विद्यार्थीहरुलाई तर्साइरहन्छ ।

सोमबार, २० चैत, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर