भुटानी शरणार्थी नेता रिजाल पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

रिजाललाई झापाबाट काठमाडौं लगिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पछिल्लो समय रिजालले पुनर्बास गराउन बाँकी छ हजार भन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आएका थिए । उनकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि ३० जेठ २०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए । उनलाई त्यही आधारमा पक्राउ गरेको प्रहरी स्रोतको दाबी छ ।

नेपालको झापा र मोरङमा लामो समय कष्टकर जीवन बिताएर विभिन्न देशमा पुनर्वासका लागि पठाइएका भुटानी शरणार्थीहरुका सर्वोच्च नेता रिजाल पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरणमा हिरासत पुग्नेको संख्या १६ पुगेको छ । यसअघि बिहीबार नै यो प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सिंहदरबारस्थित ऊर्जामन्त्रालय परिसरबाट पक्राउ परेका थिए ।

मियाँले उक्त प्रकरणमा बिचौलियाहरुका लागि हज समितिको सरकारी गाडी प्रयोग गर्न दिएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यो प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका थिए ।

त्यसैगरी नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी पक्राउ परिसकेका छन्। पक्राउ पुर्जी जारी गरिएका अन्य दुईजना फरार छन् ।

बिहिबार, ०४ जेठ, २०८०, साँझको ०५:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर