विराटनगर । सवारीसाधनको अव्यवस्थित पार्किङले दुई महिना अगाडिसम्म अव्यवस्थित पार्किङका कारण अस्तव्यस्थ विराटनगर महानगरपालिकाको मुख्य बजार क्षेत्र अहिले व्यवस्थित र सहज बन्दै गएको छ ।

महानगरपालिकाले पार्किङ व्यबस्थित बनाउदै लगेपछि बजारको शौन्दर्यतामा समेत सुधार भएको छ । तर, पछिल्लो समय सडक छेउमा पार्किङ गर्न दिनुपर्ने भन्दै दबाब आउन थालेको छ ।

पहिले सडक किनारमा मोटरसाइकल वा अन्य सवारी साधन पार्किङ गर्न खोज्दा सर्वसाधारणलाई गाली गर्ने पसलेहरु महानगरले सडकमा पार्किङ बन्द गरेपछि उल्टै विरोधमा उत्रिएका छन् । स्थानीय पसलेहरुमात्र होइन केही व्यावसायी र राजनीतिक दलका नेताहरुले पनि विभिन्न तवरले महानगरलाई दबाब दिइरहेका छन् ।

सडकमा पार्किङ गर्न नदिँदा व्यापार व्यवसायमा असर परेको भन्दै पहिले जस्तै अव्यवस्थित पार्किङका लागि उनीहरुले दबाब दिने गरेको महानगरपालिकाका कर्मचारीहरुले बताएका छन् । केही समय अगाडि पार्किङ गर्न दिनुपर्ने माग गर्दै सडकमा स्थानीय व्यापारीहरुले नाराबाजी गरेका थिए । मंगलबार स्थानीय व्यापारीहरुले मोरङ व्यापार संघमार्फत पार्किङको विषयमा दबाद दिएका थिए ।तर महानगर पार्किङका सम्बन्धमा भएको पछिल्लो निर्णयबाट पछाडि फर्किने पक्षमा छैन । ‘पहिले सडकमा मोटरसाइकल रोक्दा गाली गर्ने पसलेहरु अहिले सडकमै पार्किङ गर्न दिनुपर्छ भनेर जुलुस नै लगाइरहेका छन्,’ महानगरका प्रमुख नागेश कोइरालाले भने ‘तर महानगर यो निर्णयबाट पछाडि फर्किदैन ।’

‘हामीले दुई मिनेट भन्दा बढी हिड्न नपर्ने गरी पार्किङ स्थल बनाएका छौं’ विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले भने अव्यवस्थित पार्किङले एम्बुलेन्स दमक जस्ता अत्यावश्यक सेवालाई समेत असर गरेको थियो तर अब त्यो समस्या हटेको छ ।’
करोडौं खर्च गरेर बनाएका सडकहरु पार्किङका लागि नबनाइएको मेयर नागेश कोइराला बताउँछन् । विदेशमा कहिँ पनि सडकमा पार्किङ गरिएको हँुदैन मेयर कोइरालाले भने करोडौं खर्च गरेर पार्किङका लागि सडक बनाएको होइन । सडकबाट पार्किङ हटाउँदा कसैलाई पनि असर पुग्दैन ।

अव्यवस्थित पार्किङका कारण सडक जाम हुँदा एम्बुलेन्स तथा दमकल पनि समयमा पुग्न नसक्ने अवस्था रहेको तर अहिले सडकको अवस्थामा सुधार आएको प्रमुख कोइरालाले बताए ।

करोडौं खर्च गरेर सडक पार्किङका लागि नबनाइएको भन्दै उनले सडक सहज यातायात सञ्चालन गर्न र हिड्नका लागि बनाइएको बताए । उनले भने ‘शनिमन्दिरबाट दमकल गुडाउन नसक्ने अवस्था थियो त्यहिँ अडकिन्थे, तर अहिले तपाईंहरुले नै हेर्न सक्नुहुन्छ अवस्था त्यस्तै अस्तव्यस्त छ कि सुधार भएको छ ।’

औद्योगिक नगरी विराटनगरको मूल, सहायक र गल्लीलगायत सडकमा गाडी भरिभराउ भएपछि पैदल यात्रीका लागि थप चुनौती भइरहेको थियो । दूर्घटनाको उत्तिकै जोखिम थियो । अहिले सडक सफा, खुला र सहज आवागमनका लागि व्यवस्थित बनेको छ ।

महानगरले बजारको मूल सडकस्थित बि प्लट चौकमा वान–वे गरेर सुनचाँदी पसल भएको पूर्व जाने बाटोबाट सवारी साधन सञ्चालन गर्दै आएको छ । यस्तै जलजलाचौकदेखि अस्पताल चौकसम्मको सडकलाई पार्किङ निषेधित गरेको छ । यसका लागि पुरानो जलजला हल उत्तरतर्फ र ग्रिनक्रस अस्पताल पछाडिको खाली जग्गालाई पार्किङस्थल घोषणा गरेको थियो ।

यसैगरी महानगरपालिकाले शनिमन्दिर–जलजलाचोक, शनिमन्दिरदेखि महावीर रोडसम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित घोषणा गरेको थियो । यसका लागि महावीर रोडमा चार कठ्ठा जग्गा पार्किङस्थलको रूपमा तोकेको छ । महावीर रोडदेखि गुद्रीसम्मलाई विस्तार गर्ने योजना राखिएको छ । यसका लागि पुरानो गुद्री बजारको इ प्लटलाई पार्किङस्थल तोकेको छ । यसैगरी हनुमान मन्दिरदेखि जलजला चोकसम्मको क्षेत्रलाई समेत नो पार्किङ जोन घोषणा गरेर पुरानो गुद्रीको ए प्लटलाई पार्किङस्थलको रूपमा प्रयोग गरिरहेको छ । हनुमान मन्दिर–जलजला चोकसम्म केही वर्ष अगाडि नै नो पार्किङ जोन घोषणा गरिएको थियो ।