विराटनगर । मोरङका खोलाहरूमा प्राकृतिक स्रोतमाथि भइरहेको चरम दोहन जारी रहेको े पाइएको छ । विशेषगरी केराबारी गाउँपालिका ८ स्थित खदम, मुगु खोला, सुन्दरहरैचा नगरपालिका ५ स्थित बुढी खोला र बेलबारी २ स्थित लोहन्द्रा खोलामा अवैध रुपमा गिटी बालुवाको उत्खनन् हुने गरेको छ ।
मोरङ प्रहरीले केराबारीको खदम खोलाबाट अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको भेटेपछि दुई वटा सवारी साधन नियन्त्रणमा लिएको छ । केराबारी गाउँपालिका वडा ८ स्थित खदम खोलामा प्राकृतिक श्रोतको दोहन गरेको दुई वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको हो ।
खदम खोलाबाट मिक्स गिटी दोहन गरी रहेको अवस्थामा प्रदेश नं.१–०२–००१ ख ९३८७ नम्बरको हाईवा र नम्बर नखुलेको स्काभेटरलाई इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
मोरङका नदीजन्य पदार्थ ढुंगा, गिट्टीको चोरी–निकासी बढेर गएको पाइएको छ । त्यसैगरी, पहाडी जिल्लाहरूमा पनि ढुंगा, गिट्टीका अतिरिक्त वनमा समेत चोरी–तस्करी बढेको पाइएको हो । तीन तहका सरकारबीच समन्वय नहुँदा अनुगमनलगायत काम प्रभावकारी हुन सकेका छैनन् । जसले गर्दा करोडौँको राजस्वसमेत गुमेको छ ।
मोरङमा २१ वटा क्रसर उद्योग रहेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङ केही दिन अगाडी गरेको अनुगमनको क्रममा अधिकाश खोला र जंगल छेउमा रहेको क्रसर उद्योगहरू मापदण्ड विपरीत संचालनमा रहेको पाइएको थियो ।
त्यसबेला अनुगमनको क्रममा तीन वटा क्रसर उद्योगलाई थप जविरना पनि गरिएको थियो । यही क्रसर उद्योगहरूले मोरङको खोलाहरूबाट प्राकृतिक स्रोतको चरम रुपमा दोहन गर्ने गरेको स्थानीयको भनाई छ ।

