विराटनगर । उमागौरी सहकारी प्रकरणको ठगी मुद्दाको आज तोकिएको पेशी स्थगित भएको छ । उच्च अदालतको दुइ न्यायाधीशको राय बाझिएपछि बिहीबार न्यायाधीश कृपासुर कार्कीको इजालशमा पेशी तोकिएको थियो । तर, निवेदक ज्योती बास्कोटाको कानुन व्यवसायीले बिहीबारको पेशी स्थगित गर्न निवेदन दिएपछि पेशी स्थगित भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदिश प्रसाद भट्टले जानकारी दिए ।
‘एउटा स्थगित भएपछि अरु निवेदशकहरु अञ्जला कोइराला, सन्तलाल खवास, रोशन राजवंशी, योगिता शर्मा बाँस्तोलाको पनि लगाउको कारणवाट पेशी स्थगित भएको छ,’ रजिष्ट्रार भट्टले भने, ‘अर्को पेशी फेरी आउने बिहीबार जेठ १ गते चढ्नेछ ।’
नेकपा एमालेका सांसद तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जोडिएको मुद्दामा मोरङ जिल्ला अदालतले दिएको आदेश विरुद्ध सरकारी वकिलको कार्यलयले अञ्जलासहित ६ जना प्रतिवादीलाई थुनामा राखेर आदेश गरिनुपर्ने माग राख्दै ७३ नम्बरको निवेदन दिएका थिए ।
उक्त निवेदनमाथि ११ वैशाखमा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय श्रीधरा कुमारी पुडासैनी र केशवप्रसाद बाँस्तोलाको राय बाझिएपछि आजका लागि पेशी तोकिएको थियो । अञ्जलासहित ६ प्रतिवादीको हकमा दुई न्यायाधीशबिच धरौटी रकम बढाउने कि नबढाउने भन्ने विषयमा मात्र राय बाझिएको हो ।
न्यायाधीश केशवप्रसाद बाँस्तोलाले प्रतिवादीमध्येका रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा जनही १ करोड र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोज कुमार सोनीको हकमा जनही २५ लाख रुपैयाँ धरौटी माग गर्ने राय पेश गरेका थिए । तर न्यायाधीश श्रीधरा कुमारी पुडासैनीले जिल्ला अदालत मोरङले गरेको आदेशलाई सदर गरेकी छिन् । न्यायाधीश बाँस्तोलाले सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई जिल्लाको आदेशलाई सदर गर्दै पुर्पक्षमा पठाएको हकमा पनि सहमत भएका छन् ।
जिल्ला अदालतले भने अञ्जलालाई १० लाख, ज्योतीलाई ५ लाख, लक्ष्मी देवीलाई ५० हजार, सुमन लोहनीलाई २ लाख र मनोज कुमार सोनीलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा अञ्जलासहित ६ जनालाई जिल्ला अदालत मोरङले गरेको आदेश बदर गरी थुनामै राखेर अनुसन्धान गर्न माग राख्दै उच्च अदालत विराटनगरमा ७३ नम्बर गरेको थियो । मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना गरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारी ऐनअन्तर्गत मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो । तत्कालीन न्यायाधीश उद्धव प्रसाद भट्टराईको इजलासले पुस २४ गते कोइरालालाई १० लाख रुपैयाँ धरौटी बुझाएर छोड्न आदेश दिएको थियो ।
गत मंसिर २७ गते सहकारीको रकम हिनामिना प्रकरणमा अन्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले ३ पुसमा उनीसहित २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । सहकारी ठगी मुद्दामा सहकारी अध्यक्ष शम्भु प्रसाद रौनियार र धनपालथान ४ का पूर्ववडाअध्यक्ष रोशन राजवंशी पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य धरौटीमा छुटेका छन् भने एक दर्जनभन्दा बढी अभियुक्त अझै फरार छन् ।
उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर सदस्य थिए । शेयरबापत ३ करोड ८ लाख ९० हजार रकम रहेको थियो । सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । हाल सहकारी बन्द अवस्थामा रहेको छ ।