धरान । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले काम सम्पन्न भई भुक्तानीसमेत भइसकेको योजनाको काम रोक्न निर्देशन दिएका छन् ।

गत बिहीबार पत्रचार गर्दै धरान–९ र १० को खहरे खोलामा निर्माण सम्पन्न गरी भुक्तानीसमेत भइसकेको रिटेनिङ वालको काम रोक्न नगर प्रमुख राईले निर्देशन गरेका हुन् ।

नगरप्रमुख राईले पत्राचार गरेको चलानी नं. ५९१० को पत्रमा ‘धरान–१९ को एलोहिम चर्च उत्तरपट्टिको धरान–९ र १० को सिमानामा पर्ने खहरे खोलामा खोलापट्टि च्यापी रिटेनिङ वाल लगाउने काम भएको स्थलगत अनुगमनबाट देखिएकोले उक्त काम स्थगित गरी सम्पर्क गन हुन जानकारी गराइन्छ ।’ नगरप्रमुख राईको पत्रमा स्थलगत अनुगमन गर्दा काम भइरहेको देखिएकोले काम रोकी सम्पर्क गर्न अनुरोध गरिएको छ ।

तर, अनुगमनसमेत गरेर काम रोक्न पत्राचार गरेको उक्त परियोजनाको काम भने एक महिनाअघि नै सम्पन्न भई भुक्तानीसमेत भइसकेको धरान–१० का वडाअध्यक्ष विवेक राईले जानकारी दिए । वडाको १० लाख रुपैयाँ बजेटमा सञ्चालित योजनाको काम सम्पन्न भई भुक्तानीसमेत भइसकेको उनको भनाइ छ ।

‘रोक्का गर्न नगरप्रमुखले पत्राचार गरेको सो योजनाको एक महिनाअघि नै पेमेन्ट भइसकेको छ’ वडाध्यक्ष राईले भने, ‘मेयर ममाथि इगो साँधेर हाँस्यास्पद काम गरेका हुन् ।’ यसअघि नगरप्रमुख राईले वडाध्यक्ष राईलाई कार्यपालिका बैठकमा अभिमत राखेकै आधारमा स्पष्टीकरणसमेत सोधेका थिए । पछिल्लो कदम त्यसकै निरन्तरता भएको उनको भनाइ छ ।

नगरका प्रवक्तासमेत रहेका वडा नं. १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले फरक मत राखेकै आधारमा मेयर राईले इगो साँधेर काम गरिरहेको बताए । वडाध्यक्षलाई स्पष्टीकरण सोध्नु र सम्पन्न योजना रोक्न पत्राचार गर्नु आपत्तीजनक रहेको उनको भनाइ छ ।

गत बुधबार बसेको कार्यपालिका बैठकमा नगरप्रमुख राईका स्वकीय सचिव भनिएका सुदर्शन लिम्बूले वडाध्यक्षलाई पत्राचार गरेको विषयमा धरान–१० का अध्यक्ष विवेक राईले आपत्ती जनाएका थिए । त्यसकै आधारमा नगरप्रमुख राईले उनलाई स्पष्टीकरण सोधेका थिए ।

नगरप्रमुख राईले कार्यपालिका बैठकमा अभिमत राखेकै आधारमा विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको धरान–१५ का अध्यक्ष नरेश इवारमले बताए ।

नगरसभाबाट स्वीकृत योजना मेयरले त के नेपाल सरकारले पनि रोक्न नसक्ने बताउँदै इवारामले् संविधान र कानून अध्ययन नगरी हचुवाको भरमा नगरप्रमुख चिलरहेको आरोप लगाए । ‘संविधान पढेको छैन, कानून पढेको छैन, स्थानीय सरकार ऐन पढेको छैन’ उनले भने, ‘खोला–खोलामा पाइप तान्न मात्रै हिँडेको छ ।’

वडाध्यक्षहरुले नगरप्रमुखले क्षेत्राधिकारभन्दा बाहिर गएर कार्य गरेकाले कानूनी उपचारमा जाने बताएका छन् । ‘हाम्रो अधिकार कुण्ठित गरी अधिकारभन्दा बाहिर गएर काम गर्नुभएको छ । हामी अदालतमा जान्छौँ । अदालतभन्दा ठूलो उहाँ होइन ।’

यसैबीच नगरप्रमुखको ज्यादती सहन नसक्ने भन्दै धरानका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू नगरप्रमुखविरुद्ध आन्दोलित भएका छन् । नगरप्रमुखले सोमबारभित्र गल्ती सच्याएर माफी नमागे मंगलबारदेखि आन्दोलनमा उत्रने उनीहरुले तयारी गरेका छन् ।

झुटो आरोप लगाई तथा ऐन विपरीत वडाध्यक्षलाई मागिएको स्पष्टीकरणमा नगर प्रमुख हर्कराज राईले सार्वजनिक रूपमा माफी माग्नुपर्ने, अयोग्य स्वकीय सचिवमार्फत् वडाध्यक्षहरूलाई निर्देशनात्मक पत्राचार गरेकोमा भूलसुधार गर्नुपर्ने लगायतको माग उनीहरुको छ ।