इटहरी। ‘नेपालको संविधानले आमाको नामबाट पनि नागरिकता पाउने ब्यवस्था गरेको छ । तर, मैले आमाको नामबाट नागरिकता किन नपाउने ?’ इटहरी उपमहानगरपालिका ४ की रञ्जना राउतको प्रश्न हो, यो ।
सुनसरीको इटहरी उपमहानगरपालिकाले खनारमा आयोजना गरेको नागरिकता प्राप्तिमा भएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा रञ्जनाले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसमक्ष यो प्रश्न राखिन् । कक्षा १२ उत्तीर्ण रञ्जनाका दिदीबहिनीले नागरिकता नभएका कारण कहि कतै जागिर पाउन सकेका छैनन् ।
‘बुबा वर्षौदेखि वेपत्ता हुनुहुन्छ, आमाले विवाह गर्नुभन्दा अघि बनाएको नागरिकता छ’ उनले भनिनर, ‘तर, आमाको नामबाट नागरिकता पाउन नसक्दा हामी अनागरिक भएका छौं ।’ कार्यक्रममा इटहरीका ४२ जना महिला र ८ जना पुरुषले नागरिकताको प्रमाणपत्र पाउन नसक्दा झेलेको दुःख सुनाएका थिए ।
प्रमुख जिल्ला अधिकारी यादवले कानूनले स्पष्ट व्यवस्था नगरेको कारण समस्या रहेको बताउँदै यसलाई सरकारले छिट्टै सम्बोधन गर्ने विश्वास व्यक्त गरे । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार कार्यक्रममा विशेष गरि चार किसिमका समस्याले नागरिकता नपाएका गुनासाहरु पेश भएका थिए ।
धेरैजसोको बाबु वेपत्ता भएको वा नभएको तर आमाका नामवाट नागरिकता पाउन नसकेको समस्या देखिएको थियो । भारतबाट नेपालमा विवाह गरि आएका तर उताको कागजपत्र नभएका कारण नागरिकता बन्न नसकेका तथा विभिन्न ठाँउदेखि बसाँईसराई गरि आएपनि बसाँईसराई लगायतका कागजपत्र नल्याएका कारण नागरिकता पाउन नसकेको समस्या पनि देखिएको छ । यस्तै आफन्तका नाममा कोहि पनि थाहापत्तो नभएका ब्यक्तिहरुले पनि नागरिकता पाउन नसकेको पाइएको छ ।
नागरिकता पाउन नसकेका ब्यक्तिहरुले नागरिकताको सिफारिस गर्ने निकाय वडाका वडाध्यक्षहरु रुपेश चौधरी र हेमानन्द दाहाल तथा नागरिकता दिने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी यादवसमक्ष गुनासो राखेका थिए । यादवले नागरिकता प्राप्तीका लागि पुर्याउनुपर्ने प्रक्रिया र कागजातका बारेमा जानकारी दिँदै आमाका नामबाट नागरिकता दिने कानून निर्माण नहुँदा समस्याा भएको बताए ।
वडा सदस्य शान्ता अधिकारीले आमाका नामबाट नागरिकता पाउने कानून संसदबाट चाँडै पारित गर्न माग गर्नुपर्ने बताइन् । कार्यक्रममा वडासचिव बालकुमार पोखरेलले वडामा सिफारिस लिन आउदा ल्याउनुपर्ने कागजागतहरुको बारेमा जानकारी दिएका थिए ।
इटहरी उपमहानगरपालिकाले महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा कार्यक्रम गरेको हो । उपप्रमुख लक्ष्मी गौतमका अनुसार मंसिर २३ गते इटहरी सम्मेलन गरेर महिला हिंसा विरुद्धको १३ दिने विशेष अभियान समापन गरिनेछ । इटहरीमा महिला हिंसा विरुद्धको अभियान भने वर्षभरि नै सञ्चालन हुने गरेको छ ।