बिक्रम लुईंटेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका पौडेललाई सफल कार्यकालको शुभकामनासहित बधाई !
२०६२–०६२ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भयो । सँगसँगै जनताका छोराछोरीले राष्ट्रपति निर्वाचित हुने अवसर पाए । अहिले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो योगदान गरेका पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुले नेपालमा गणतन्त्र संस्थागत हुँदै गएको अभ्यासको रुपमा लिन सकिन्छ । तर, गणतन्त्र संस्थागत हुँदैगर्दा यो संस्था अर्थात राष्ट्रपतिप्रति योबीचमा अनेकन प्रश्नहरु उब्जिएका छन् । कतिपय राजनीतिक मुद्दा र कतिपय राष्ट्रियताको सवालका मुद्दामा राष्ट्रपतिले लिएको अडानले आलाङ्कारिक राष्ट्रपतिको भूमिकाप्रति पनि शंका उब्जिएको छ । यी सबै प्रश्नहरुको घेराभित्र अब रामचन्द्र पौडेल पनि छिरेका छन् । उनले आफू जनताको राष्ट्रपति हुने बाचा गरेका छन् । उनको यो भूमिका कस्तो हुन्छ, आगामी दिनमा हेर्दै जाउँला । तर, राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा राष्ट्रपतिको चुनावलाई लिएर जसरी प्रचार र राजनीति तिक्डमहरु भए, यसले रराष्ट्रपति जस्तो गरिमामय संस्थालाई गिजोल्ले काम पनि भयो ।
दलहरुले एकप्रकारले राष्ट्रपतिलाई कार्यकारी जस्तो रुपमा प्रतिष्ठाको लडाई बनाए । यसले कुनै न कुनै रुपमा राष्ट्रपति संवैधानिक र आलाङ्कारिकभन्दा पावरफूल भनेजस्तो पनि देखियो । दलहरुको राष्ट्रपतिको निर्वाचनमा देखिएका अनावश्यक चलखेलले आम जनतामा सकारात्मकभन्दा पनि नकारात्मक सन्देशलाई बढी प्रवाह गर्यो ।
यी सबै विषयवस्तुलाई चिरेर आगामी दिनमा राष्ट्रपति जस्तो संस्थालाई बलियो बनाउँदै जनताको संस्था बनाउने प्रयत्न गर्नुपर्ने चुनौती पौडेलसामु छ । नीजि भ्रमण होस् या सार्वजनिक भ्रमण, यसमा अपनाइएको अनावश्यक सुरक्षा प्रणालीले गर्दा जनताहरुले यो संस्थाप्रति प्रहार गरिरहेका छन् । नेपालको राष्ट्रपतिलाई जनताको राष्ट्रपति बनाउने मात्र होइन, सरल र सहज बनाउने वातावरण मिलाउनेतर्फ पनि पौडेलले ध्यान दिनुपर्ने देखिन्छ ।
राजाको अचाक्ली सहन नसकेका जनताहरुले राष्ट्रपतिलाई पुरानै शैलीमा प्रस्तुत गरिँदा त्यसले राजाको शासन र प्रजाको शासनका फरक नभएको सन्देश गइरहेको छ । राष्ट्रपति आउने कार्यक्रममा हुने अनावश्यक झन्झटले आयोजकले राष्ट्रपतिलाई कुनै कार्यक्रममा नै नबोलाउने परिस्थितिहरु निर्माण भएका छन् । हरेक कार्यक्रममा राष्ट्रपति सहभागी हुने बित्तिकै आलोचनाका स्वरहरु सुनिन्छन् । यस्ता सानामसिना कुरालाई ध्यान दिँदै राजनीतिक दलप्रतिको चासोलाई कम गर्दै संविधानभित्रको दायरामा बस्न सके नेपालको संघीय गणतन्त्र संस्थागत हुनसक्छ । नत्र संघीयता खारेजीको माग बढिरहेको बेला अरुखाले चलखेलले व्यवस्थाप्रति मुभमेन्ट उठ्न सक्छ । यी सबै चुनौतीलाई पार गर्दै जनताको राष्ट्रपति बन्न पौडेल सफल हुन्, शुभकामना !