पुण्य पी अधिकारी
नेपाली शब्दकोषमा ‘विराट वा विराटता’ को अर्थ भव्य वा विशालत भएको उल्लेख छ । सांस्कृतिक दृष्टिकोणले विराटनगरको महत्व निक्कै छ । महाभारतकालीन विराट देशका राजाको दरबार विराटनगरमा भएको इतिहासका कारण पनि विराटनगरको महत्व आफैंमा छ ।
तर, विराटको त्यो व्यापकता वा विशालतालाई चिन्ने काम आजसम्म हुन सकेको छैन भन्दा सायदै कसैको विमति होला । विराट राजाको दरबार भएको यो क्षेत्रलाई हिन्दू धार्मिक सहरमा रुपमा समेत परिचित गराउनसक्ने पर्याप्त आधारहरु छन् । तर, ती आधारहरुलाई आजसम्म विराटनगरको विकासका लागि भएका शासक, प्रशासकहरुले खुट्याउन सकेनन् ।
ऐतिहासिक महत्व बोकेको विराट दरबारको उत्खनन् वा विराट दरबारको गरिमालाई उच्च बनाउने प्रयास आजसम्म भएको छैन । अझ भनौं त्यो चेष्टा कोही कसैले गरेका छैनन् । सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको विराटनगरले आफ्नो परिचयलाई आधुनिक शहरका रुपमा समेत तयार गर्न सकेको छ । संघीयताको कार्यान्वयनपछि स्थानीय सरकार आफैमा स्वायत्त एवम् शाक्तिशाली छन् । तर, स्थानीय सरकारको आफ्नो महत्व अझै चिन्न नसकेको भान भने पक्कै हुने गरेको छ ।
विराटनगरको विकासमा धेरै क्षेत्रको योगदान छ । कोशी प्रदेशको राजधानी विराटनगरमा पछिल्लो समय निर्माण भएको सडक संरचनाले एउटा विराटतालाई स्थान दिएको छ । तर, त्यो पर्याप्त भने पक्कै होइन ।
औद्योगिक नगरीको पहिचान बनाएको विराटनगर क्रमशः त्यो परिचयबाट विमुख हुँदै गएको छ । यहि अवस्थामा विराटनगर महानगरपालिकाले प्रदेश राजधानी विराटनगरमा नगरबस सञ्चालनको जुन चेष्टा गरेको छ । त्यो गौरव र स्वागतयोग्य छ । महानगरपालिकाले नगरवासीलाई सहज आवतजावतका लागि अहिलेसम्म सार्वजनिक यातायातको उपयुक्त व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा महानगरपालिकाले नगरबस सञ्चालन गर्ने खबरले सबैलाई हर्षित तुल्याएको छ ।
महानगरका सबै क्षेत्रलाई समेटी उपयुक्त रुट निर्धारण र नगर बसको परीक्षणपछि नियमित रुपमा नगरबस सञ्चालन हुने अपेक्षा सबैको छ । हुन त अझै पनि सार्वजनिक सम्पत्तिको जतन वा माया गर्ने संस्कार हामीमा विकास भएको छैन । तर, अब महानगरले बस सञ्चालन गरेपछि हामी महानगरपालिकाले उच्च असल संस्कार प्रदर्शन गर्नेछौ भन्ने पंक्तिकारको अपेक्षा छ ।
महानगरमा सार्वजनिक यातायातको भरपर्दो व्यवस्थापन नहुँदा प्रदेशको राजधानी भन्नसमेत अफ्ठ्यारो मान्नुपर्ने अवस्था छ । अहिले भएका जनप्रतिनिधिहरुले कोशी प्रदेशको विराटनगर महानगरपालिकावासी भन्न कोही कसैले धक मान्नुपर्ने अवस्थाको अन्त्य गर्छ होला भन्ने अपेक्षा हामी सबैको छ ।
हुन त विराटनगर रिङ्गरोडको बहस चल्ल थालेको धेरै समय बितको छ । साँच्चिकै रिङ्ग होला वा नहोला अहिल्यै भन्न सक्ने अवस्था छैन । केही समयपछि महानगरले सञ्चालन गर्ने भनिएको नगरबस कम्तीमा विराटनगर रिङ्गरोड जस्तो नहोस् भन्ने अग्रिम कामना छ । अन्त्यमा महानगरले सञ्चालन गर्ने भनिएको नगरबसले आम नगरवासीको मन जित्न सकोस्, शुभकामना ।