विराटनगर । कोशी प्रदेशका सुनसरी, उदयपुर र धनकुटा जिल्ला तीन छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा नियन्त्रित लागुऔषध गाँजासहित तीन जनालाई प्रहरी पक्राउ गरेको छ ।
उदयपुरको कटारी नगरपालिका १ कालिखोला एरियामा लागुऔषध गाँजाको ओसारपसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका ४ सिराहाका २२ वर्षीय ललित सिंहलाई गाँजासहित शनिवार दिउँसो पक्राउ गरेको हो ।
प्रदेश २–०१–००१ प १५२६ नम्बरको स्कुटरमा सवार रहेका सिंहलाई रोकेर चेकजाँच गर्ने क्रममा सिंहको साथबाट प्रहरी २२ केजी लागुऔषध गाँजा बरामद गरेको हो ।
यसैगरी वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका १३ बाट साँढे ४१ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजाको ओसार भईरहेको भन्ने सूचना पाएसँगै तत्काल खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १३ च २६८ नम्बरको कारलाई रोकेर चेकजाँच गर्ने क्रममा कारभित्र लुकाईछिपाई राखिएको अवस्थामा गाँजा बरामद भएको थियो ।कारबाट गाँजा बरामद भएसँगै कार चालक धरान १६ का ४० वर्षीय सुकेन्द्र लिम्बु र कारमा सवार रहेका पाख्रिवास ९ धनकुटा घर भई धरान १७ बस्दै आएका २८ वर्षीय नविन राईलाई समेत पक्राउ गरेको हो । गाँजासहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उता धनकुटाको साँगुरीगढी गाँउपालिका ८ बाट १०६ केजी गाँजा बरामद भएको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले सडकमा रोकिराखेको को १ ज १८११ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको थियो ।
पिकअपमा चालक नभएको हुँदा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

