धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिका–४ हिले–छिन्ताङ कच्ची सडक खण्ड स्थितबाट प्रतिबन्धित लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले ‍पक्राउ गरेको छ ।

गत माघ २८ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी गस्ती टोलीले छिन्ताङबाट हिले तर्फ जादै गरेको को. १ ज ३११८ नम्बरको पिकअप गाडीलाई चेकजाँचको क्रममा डाला भित्र ४ सय किलोग्राम (१५ बोरा) गाँजा बरामद गरेको थियो । उक्त गाडी प्रहरीले रोक्न खोज्दा नरोकी केही पर गाडी छाडी चालक फरार भएका थिए ।

गाडीबाट लागुऔषध गाँजा बरामद भएपछि फरार रहेका चालक सहिदभूमी गाँउपालिका–४ का ३१ बर्षीय किरण राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई गत फागुन ३ गते सुनसरीको इटहरी–२ बाट पक्राउ गरेको हो । पक्राउ परेका राईलाई धनकुटा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

यसैबीच उदयपुर र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–४ का ३७ बर्षीय हरीकृष्ण सुनुवार र कटारी–३ का कुमार सुनुवारलाई नाईट्राभेट–२६५ ट्याबलेट र लुपिजेसिक, डाईजेपाम, एल्जिक समेत गरी ८९ एम्पुल सहित पक्राउ गरेको हो भने बिराटनगर महानगरपालिका–१२ स्थितमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका–४ का २७ वर्षीय अजय राईलाई शङ्का लागि चेक जाँच गर्दा उनको साथबाट स्पास्मो २४ ट्यावलेट र नाईट्रोसन १० ट्यावलेट फेला परेकोले पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।